७ जेष्ठ २०८१, सोमबार

‘ब्रह्माजीको व्रतबन्ध भएको’ मानिने रोल्पाको चतुर्भुज धाम

प्रकाशित मिति :  10 February, 2024 8:32 pm



—- अमर अधिकारी —-

रोल्पा जिल्लाको साविक खुङ्ग्री गा.वि.स. वडा नं. २ र हालको सुनिलस्मृति गाउँपालिका वडा नं. २ मा अवस्थित चतुर्भुजधामको महिमा उल्लेखनीय र महत्वपूर्ण छ ।

सुवर्णावती गङ्गा र माण्डवी गङ्गाको संगमस्थलमा रहेको चतुर्भुजमा परापूर्वककालमा ब्रह्माजीको व्रतबन्ध भएको हो भन्ने जनश्रुति पाइन्छ ।

सदियौँअगाडि चतुर्भुजमा उन्मत्तेश्वर महादेवको मन्दिर रहेको र धर्मशाला पनि भएको अग्रजहरूको कथन छ । चतुर्भुजभन्दा माथि उकालोमा एउटा ओडार छ जहाँ एकजना बाबा बस्दथे ।

ती बाबा कहिले बाघ, कहिले भेँडा, कहिले नन्दी भएर हिँड्थे अर्थात् पदयात्रा गर्नेगर्दथे । उनको हत्केलामा खरानी राखेको देखिन्थ्यो तर कसैले केही बस्तु मागे भने जे मागेको हो त्यहीँ बस्तु हुन्थ्यो भन्ने जनश्रुति छ ।

यस ठाउँमा पहिले पहिले मकरसंक्रान्ति, वसन्तपञ्चमी र शिवरात्रीमा ठुलो मेला लाग्थ्यो ।

हाल वसन्तपञ्चमीमा मात्र ठुलो मेला लागेको देखिन्छ । चतुर्भुजमा रहेको लुङ्ग्री–माडीको संगमस्थलमा माघेसंक्रान्ति नुहाउन जाने र शिवरात्रीका दिन शिवपाञ्चायन मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गर्दछ ।

श्रीपञ्चमीको मेला भर्न रोल्पाको बाइसखुवा, कालाशेष तथा प्यूठानको माडीखोला भेग र आसपासबाट धेरै मानिसहरू आउने गर्दछन् ।

यो लेखकले २०४० सालअघि थाहा पाएसम्म श्रीपञ्चमी मेलामा घिउमा तयार गरिएको जिलेबीको स्वाद अहिले पनि भुलेको छैन । आजकल भने हानिकारक रङ मिसाइएका र शङ्कास्पद अनेक तेलमा बनाइएको जिलेबी बिक्री गरिन्छ ।

त्यतिबेला बर्फी, बतासा लगायतका मिठाईहरू पनि मेलामा उपलब्ध हुन्थे । आजकल समयले कोल्टे फेरेसँगै मेलाको रौनक पनि बदलिएको पाइन्छ । मेलामा अनेक किसिमका बस्तुहरूको खरीद बिक्री हुन्छ ।

यदाकदा श्रीपञ्चमी मेलामा महोत्सवहरू पनि नगरिएका भने होइनन् ।

महोत्सवमा जादू, सर्कस देखाइनुका साथै विभिन्न खेलहरू पनि खेलाइन्छ । चर्चित वा ख्यातिप्राप्त कलाकार तथा गायकहरू पनि सहभागी हुने महोत्सव हेर्न दर्शकहरुको घुइँचो पनि लाग्दछ ।

लुङ्ग्री माडीको संगमस्थलमा स्नान, दान र शिवको दर्शन गरेमा मनले चिताएको फल प्राप्त हुन्छ भन्ने भनाई पनि छ ।

चतुर्भुजधाममा मन्दिर व्यवस्थापन समिति गठन भएको भएता पनि समितिले त्यति सक्रियताकासाथ चतुर्भुजको प्रचार प्रसार र तीर्थालु तथा पर्यटक भित्र्याउने पहल गरेको देखिदैन ।

यहाँ रोल्पा जिल्लाका खुङ्ग्री, घोडागाउँ, महेन्द्री, हरिगाउँ, थुम्पाकी, हिले, गोगनपानी, मिझिङ, सुलिचौर, बडाचौर लगायतका ठाउँहरूका वासिन्दा र प्यूठानका सारी, भिङ्ग्री, बाँझीपुर, गोठीबाङ, देविस्थान, उदयपुर आदि ठाउँका वासिन्दा तथा दाङ्बासीहरू समेत यस तीर्थस्थलको बारेमा अनभिज्ञ त छैनन तर नजिकको तीर्थ हेला भने झैँ यस क्षेत्रलाई खासै चासो नदिएको हुनाले ओझेलमा पर्दैआएको छ ।

सबै क्षेत्रहरूबाट यसलाई नियाल्न खोजिएमा अवश्य पनि यसको महत्व अझ उजागर हुनेथियो ।

चारैतिरबाट अग्लाअग्ला पहाडहरूले घेरिएको यस स्थानका बारेमा हिमवत खण्ड, शिवपुराणमा र गङ्गा महिमामा समेत वर्णन गरिएको छ । जस अनुसार यहाँ धनञ्जय नाम गरेका ऋषिले धमसीकुना भन्ने गुफामा धनञ्जय आश्रम बनाएर बसि तपस्या गरेका थिए ।

चतुर्भुजको छेउँ भएर बग्ने लुङ्ग्री नदि सुनछहरी झरना मिसिएर बग्ने हुँदा लुङ्ग्री वा सुवर्णावती नदी छेउँछाउँमा रहेको बालुवा चालेर कसैकसैले सुन सङ्कलन गर्ने गरेका छन् । यो पेशा सदियौँदेखि चलिआएको छ ।

सुनछहरी आसपासमा रहेका ढुङ्गाहरूमा टल्किने धातुहरू स्पष्टरुपमा देख्नसकिन्छ । यो लेखकले २०३४ सालमा तत्कालिन श्री त्रिपुरेश्वरी निमावि खुङ्ग्रीबाट शैक्षिक भ्रमणको क्रममा त्यहाँ पुग्दा यी दृश्यहरू प्रत्यक्ष देखेको पनि हो ।

एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लुथर्न नेपालले पनि २/३ किलो सुन सङ्कलन गरेर लगेको कुरा पनि समाचारमा नआएको होइन । सुनछहरी नजिकका भित्ताहरूबाट पहेँलो लेदो बगेको पनि देखिन्छ । यो त भयो लुङ्ग्री वा सुवर्णावती नदी र सुनछहरीको प्रसंग ।

यस्तो पवित्र सुनछहरीको पानी मिसिएर बग्ने सुवर्णावती गङ्गा र माण्डबी गङ्गाको संगमस्थल चतुर्भुजधामको महत्व बेग्लै छ । यस्ता स्थानमा देवी देवताको बास हुन्छ भन्ने कुरा धार्मिक अध्येयताहरूको भनाई छ ।

श्री स्वर्गद्वारी आश्रमका प्रभुमहाराजजीले त्यस संगमस्थल चतुर्भुजमा गुप्त रुपले गुफामा निस्कनु गई त्यहाँको पानी चढाउनुहुन्थ्यो भन्ने जनश्रुति पनि छ । यसैगरी संगममा स्नान गरि त्रिपुरासुन्दरीदेवी भगवती माइजीको मन्दिरमा पनि यहाँको जल चढाउने र दर्शन गर्ने तथा पूजाआजा गरेमा आफूले चिताएको फल माग्दा पूर्ण हुन्छ भन्ने जनविश्वास पनि छ ।

यस्तो अपूर्वको ठाउँको दायाँ बायाँ ठुला जलश्रोत भएका गङ्गाहरू अन्यत्र तीर्थहरूमा विरलै पाइन्छन् ।

गङ्गा स्नानका साथै माथी शिव मन्दिरमा दर्शन गर्नको लागि लोप हुँदै गएको तीर्थलाई २०३९ सालमा गजुलका राजनीतिज्ञ तथा समाजसेवी खडानन्द सुवेदी, खुङ्ग्रीका तेजप्रसाद अधिकारी, मुक्तु गिरि, प्रेमिसंह भारती, परमानन्द पुरी, सारीका हरिप्रसाद सुवेदी, टीकाराम खनाल, घोडागाउँका गोपालचन्द्र पोखरेल, भरत शाह, भिङ्ग्रीका शेरबहादुर रोकाय, होम बहादुर रोकायलगायतका समाजसेवीहरू मिलेर कसैले स्थानीय श्रोत जम्मा गरेर तथा खडानन्द सुवेदी र तेजप्रसाद अधिकारीलगायतका अग्रजहरू मिलेर भारतका विभिन्न शहरमा गएर त्यहाँ नोकरी गर्ने व्यक्तिहरूबाट शिव पाञ्चायन मन्दिरको निर्माणको लागि आर्थिक सहयोग तथा चन्दा सङ्कलन गरेर पक्की मन्दिर बनाइयो ।

शिव मन्दिरका साथै चतुर्भुजधाम परिसरमा राधाकृष्ण मन्दिर, विष्णु मन्दिर, देवी मन्दिर, सरस्वती मन्दिर, गणेश मन्दिर र सूर्यको मन्दिर समेत निर्माण भैसकेको छ । साथै हवन कुण्ड, सरस्वती मन्दिर तयार भई दैनिक पूजापाठहरू सहजरुपले चलिरहेको पाइन्छ ।

मन्दिरसँगै त्रिपुरेश्वरी माविको पनि जग्गा भएकोले दुबैलाई समेटी हाल पर्खालको व्यवस्था पनि भएको छ ।

यस्ता हाम्रा पुराना प्रसिद्धि प्राप्त तीर्थस्थल नजिक भएर पनि यसको उत्थान गरि सम्पदाको रुप दिन सर्वसाधारणदेखि लिएर बृहत्तर सम्पन्नशाली व्यक्ति, राजनीतिज्ञ, समाजसेवीहरू एकजुट हुनु अति आवश्यक रहेको देखिन्छ ।

उहिले परापूर्वककालमा दुई गङ्गाको संगमस्थल भएकोले योगीहरू आई यस ठाउँमा बसेर स्नान गरि परमात्मामा अविछिन्न रुपले साक्षात्कार गरि आफ्नो स्वरुपमा निमग्न रहनको लागि यो ठाउँ अति उत्तम भएकोले धेरै योगी अर्थात सन्यासीहरु यस ठाउँमा आउने, बस्ने, सिद्धि प्राप्त गर्ने र आफ्नो स्वरुपमा अडेर साक्षात्कार गर्ने भएका कारणबाट सिद्धबाबाहरूको प्रबलता भएको देखिन्छ भन्ने जनश्रुति पनि छ ।

पछि गएर कुनै बाबा, योगीहरू लामो समय यतै बस्ने विचार गरेर गृहस्थाश्रमको थालनी गरि बस्न थाले । त्यसैले खुङ्ग्रीमा गिरि, पुरी, भारतीहरूको बाहुल्यता देखिन्छ ।

यद्यपि ब्राह्मण, क्षत्री, ठकुरी, मगर र दलित समुदायको सन्तुलित आवासीय भेग पनि हो खुङ्ग्री ।

चतुर्भुजमा आउन जान पहिले जस्तो कठिन छैन । अहिले काठमाडौँबाट रोल्पा जाने बसहरू पनि छन् र दिउँसो चल्ने माइक्रो पनि पाइन्छ । पूर्वदेखि पश्चिमसम्मका तीर्थालुहरूलाई चतुर्भुजमा आउन सजिलो छ । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने भालुबाङबाट रोल्पा जाने आउने गाडीहरू पर्याप्त पाइन्छन् ।

स्वर्गद्वारी दर्शन गर्न जाने तीर्थयात्रीहरू भिङ्ग्री झरेर छ किलोमिटरको दूरीमा रहेको खुङ्ग्रीस्थित शिवपाञ्चायन मन्दिरको पनि दर्शन गरेर पुण्य कमाउन सकिन्छ । साथै चतुर्भुजबाट करिब डेढ किलोमिटर नजिकै रहेको नेपालको ४९ औँ शक्तिपीठको रुपमा रहेको श्री त्रिपुरासुन्दरी देवीको दर्शन गर्न पनि त्यति कठिन छैन ।

हाल खुङ्ग्रीमा पनि होटल तथा लजहरू पनि छन् । अन्त्यमा, स्वर्गद्वारी दर्शनका लागि आउनुहुने तीर्थयात्रीहरु चतुर्भुजस्थित शिवपाञ्चायन मन्दिर र त्यसनजिक पर्ने त्रिपुरासुन्दरीदेवीको पनि दर्शन गरेमा थप पुण्य प्राप्त हुनेमा कुनै सन्देह छैन ।

सम्बन्धित जिल्लास्तरीय निकायहरू र स्थानीय निकायबाट पनि चतुर्भुजको संरक्षण तथा सम्वर्धनका लागि योजना र बजेटको व्यवस्थातर्फ यथासमयमा ध्यान दिनु पनि जरुरी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !