१२ श्रावण २०८१, शनिबार

निक्षेप सङ्कलनको दबाबमा एनएमबी बैंक !

प्रकाशित मिति :  12 April, 2024 12:19 pm


काठमाडौं । पछिल्लो तीन महिना लगातार निक्षेप बढाउन नसकेपछि एनएमबी बैंक समेत दबाबमा देखिएको छ । एनएमबी बैंकको पुसदेखि निक्षेप घट्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

पुसमा २ खर्ब ३४ अर्ब ५९ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको सो बैंकको निक्षेप फागुनमा ३ अर्ब ८७ करोड रुपैयाँले घटेर २ खर्ब ३० अर्ब ७१ करोड ६९ लाख ७० हजार रुपैयाँमा झरेको छ ।

स्थानीय तहमा रहेको २ अर्ब ३० करोड रुपैयाँ निक्षेपमा गणना गर्न नपाउँदा एनएमबि बैंक थप दबाबमा परेका देखिएको छ । लगातार निक्षेप घटन थालेपछि चैत महिनामा सबैभन्दा बढी ब्याज दिने बैंकमा एनएमबी बैंक देखिएको छ ।

एन आई सी एशिया बैंकको पछिल्लो ३ महिनामा ४३ रुपैयाँ अर्ब बाहिरिएको छ । निक्षेप बाहिरिए पनि एन आई सी एशिया बैंकले भने वैशाख महिनाको लागि ब्याजदर घटाएको छ ।

वैशाख महिनामा सबैभन्दा बढि ब्याजदर दिनेमा एनएमबी बैंक रहेको छ भने दोस्रोमा एन आई सी एशिया बैंक रहेको छ । शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूले वैशाख महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

कुमारी बैंक, एन आई सी एशिया बैंक, प्राइम कर्मशियल बैंकले बढी ब्याजदर बढाउँदा आश्चर्य मान्ने ठाउँ नभए पनि एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर बढाउँदा आश्चर्यमा परेको एक पूर्व बैंकरले बताए ।

उनका अनुसार यतिबेला निक्षेपको दबाबमा एन आई सी एशिया, कुमारी, फाइम बैंक देखिन्छन् तर एनएमबीले बढी ब्याज दिनु आश्चर्य भएको छ ।

उनले भने,“ एन आई सी एशियाको स्वाभाविक हो । कुमारी, प्राईम बैंकले पनि स्वभाविक रुपमा निक्षेपकर्ता आकर्षित गर्नुपर्छ तर यसमा एनएमबी अगाडि देखियो ।” वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएर सार्वजनिक गरेका छन् ।
वैशाख महिनाको लागि १३ ओटा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ५ ओटा बैंकहरूको ब्याजदर स्थिर देछ । दुई ओटा वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् ।

वैशाख महिनाको लागि एभरेष्ट बैंक र एनएमबी बैंकले ब्याजदर बढाएका छन् । एभरेष्ट बैंकको ब्याजदर ७ प्रतिशत छ भने एनएमबी बैंकको ब्याजदर ७.९७ प्रतिशत छ ।

वैशाख महिनाको लागि कृषि विकास बैंक, स्ट्यार्डण्ड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र हिमालय बैंकको ब्याजदर स्थिर रहेको छ ।

वैशाख महिनाको लागि कृषि विकास बैंक ५.६६६१ प्रतिशत, स्ट्याण्डर्ड चार्टड बैंक ७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ७ प्रतिशत, नबिल बैंक ७.२५ प्रतिशत र हिमालय बैंकको ब्याजदर ७.५ प्रतिशत छ ।

नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कर्मशियल बैंक, सानिमा बैंक, सिद्धार्थ बैैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र एन आई सी एशिया बैंकले ब्याजदर घटाएका छन् ।

नेपाल एसबिआई बैंकको ६.५३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.५५ प्रतिशत, नेपाल बैंकको ६.७५ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७ प्रतिशत, प्राइम कर्मशियल बैंकको ७.१ प्रतिशत, सानिमा बैंकको ७.१ प्रतिशत, सिद्धार्थ बैैंक ७.२५, माछापुच्छ्रे बैंक ७.२५, कुमारी बैंक ७.२६, सिटीजन्स बैंक इन्टरनेशनलको ७.५ र एन आई सी एशिया बैंकले ७.९७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !