१२ श्रावण २०८१, शनिबार

बोटलर्स नेपालको मुख्य लगानीकर्ता संयन्त्र खारेजी प्रक्रियामा, नेपाली साझेदार पनि फेरिँदै

प्रकाशित मिति :  20 May, 2024 11:21 am


काठमाडौं । एक दशकअघि अफसोर कम्पनीमार्फत कार्बोनेटेड पेय पदार्थ उत्पादक कोकाकोलाको नेपालस्थित फ्रान्चाइज बोटलर्स नेपाल लिमिटेडमा लगानी गरेको द कोकाकोला कम्पनी एटलान्टाको सहकम्पनी बोटलिङ इन्भेस्टमेन्ट ग्रुप बीआईजी नै खारेजी प्रक्रियामा गएको छ ।

द कोकाकोला कम्पनीको लगानी संयन्त्र बीआईजीले नेपालसहित विभिन्न मुलुकका बोटलिङ प्लान्टहरूमा लगानी तथा फ्रान्चाइजहरूमा बोटलिङ प्लान्ट विस्तारका लागि लगानी गर्दै आएको छ । हाल बीआईजीअन्तर्गत नेपालसहित एसिया र अफ्रिकाका १२ देशमात्र बाँकी थिए ।

नेपालमा ७० को दशकमा भारतीय कम्पनीमार्फत भित्रिएको कोकाकोला कम्पनीको स्वामित्व सन् २००४ मा दक्षिण अफ्रिकाको गुत्से परिवारलाई बेचिएपछि प्रत्यक्ष भूमिकामा नदेखिएको बीआईजी सन् २०१४मा अफसोर कम्पनी युरोपियन रिफ्रेसमेन्टमार्फत स्वामित्व किनेर प्रत्यक्ष व्यवस्थापनमा भित्रिएको हो ।

ट्याक्स हेभेन भनेर चिनिने आयरल्यान्डमा दर्ता भएको युरोपियन रिफ्रेसमेन्ट नामक अफसोर कम्पनीका नाममा लिएको भए पनि द कोकाकोला कम्पनीका आधाकारिक इमेल पत्राचारमा बोटलिङ इन्भेस्टमेन्ट ग्रुप अन्तर्गत नेपालको स्वामित्व रहेको देखिन्छ ।

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालको ७६ प्रतिशत सेयर स्वामित्व नेपाल सरकार र यहाँका नियमाकीय निकायलाई थाहै नदिइ किनबेच गरिएकोमा अन्ततः राजस्व अनुसन्धान विभागले २०७८ फागुन २८ गते उच्च अदालत पाटनमा राजस्व छली अभियोगमा मुद्दा दायर गरेकोमा अदालतले यो मुद्दाका मुख्य अभियुक्त बनाइएकाहरूलाई सामान्य धरौटी लिइ मुद्दा नै लम्ब्याउँदै आएको छ ।

विभागले स्वामित्वमा किनबेचमा प्रकरणमा छली भएको आयकर, पुँजीगत लाभकरसहित बिगो रकम रु ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार कायम गरी बिगोको शत प्रतिशत जरिवानासहित ७ अर्ब ४३ करोड ८३ लाख ८२२ रुपैयाँ जरिवाना र त्यसको ब्याजसमेत तथा कैद सजायसमेतको माग गरेर अभियोग पत्र दायर गरेको थियो ।

यसबाहेक ठूला करदाता कार्यालयले बोटलर्स नेपालमाथि थप ६ अर्ब रुपैयाँको पुँजीगत लाभकर निर्धारण गरेकोमा १ अर्ब ३६ करोड रुपैयाँ धरौटी राखी कम्पनीले पुनरावेदनको निवेदन दिएको छ । ठूला करदाता कार्यालयले एक वर्ष लगाएर गरेको कर मूल्यांकनपछि रू ६ अर्ब ५६ करोड १३ लाख रूपैयाँ नयाँ कर निर्धारण गरेको छ, जसमध्ये १ अर्ब रुपैयाँ यसअघि बुझाइ सकेको करलाई समायोजन गरि ५ अर्ब ४२ करोड रुपैयाँ कर बुझाउनु पर्ने ठहर गरिएको छ ।

ठूला करदाता कार्यालयले पछिल्लो पटक स्वामित्व किनबेच भएको आर्थिक वर्ष २०७१/७२ पछिका तीन आर्थिक वर्षको मात्र पूर्ण कर अडिटपछि निर्धारण भएको ५ अर्ब ४२ करोड ४८ लाख रुपैयाँमध्ये १ अर्ब ३६ करोड रुपैयाँ तिरेर पुनरावेदनमा गएको हो ।

यसअघि नेपालको स्वामित्व तीन पटकसम्म नेपालभन्दा बाहिर नै किनबेच भइसकेको थियो । सन् १९९८, २००२, २००४ र २०१४ मा बोटलर्स नेपालको स्वामित्व नेपाल बाहिर नै किनबेच भएको हो । यसअघि सन् १९९० मा बहुदल आएलगत्तै तत्कालीन राजदरबारले आफ्नो स्वामित्वको सेयर पनि सहदेवशमसेर जबरासहितका स्वामित्वमा सारेको थियो ।

आयरल्यान्डको अफसोर कम्पनी युरोपियन रिफ्रेसमेन्टमार्फतको स्वामित्व किनबेचमा पुँजीगत लाभकरको मुद्दा जोडिएपछि यसले युरोपियन युनियनका सदस्य मुलुकहरूको कारोबारमा पनि समान मुद्दा उठ्ने अवस्था आएसँगै द कोकाकोला कम्पनी बीआईजीकै बहिर्गमनको पक्षमा पुगेको हो । बीआईजीलाई लिक्विडेसनमा लाने तयारीका लागि विगत एक वर्षदेखि सो समूहमा प्रमुख/प्रेसिडेन्ट नै नियुक्त गरिएको छैन । ग्रुपका बहालवाला प्रमुख मुरत ओजेललाई कोकाकोला कम्पनी जापान र कोरिया अपरेसन युनिटको प्रेसिडेन्ट बनाएर सरुवा गरिएको छ भने सिंगापुरस्थित कार्यालय बन्द गर्न कर्मचारी कटौती गरिएको छ ।

नेपालको व्यवस्थापन हिन्दुस्तान कोकाकोलालाई हस्तान्तरण

बोटलर्स नेपाल लिमिटेडको स्वामित्व रहेको र मुख्य कारोबारयुक्त बोटलर्स नेपाल तराई लिमिटेडको सन् २००४ देखिकै कर मूल्यांकन हुन थालेपछि द बोटलिङ इन्भेस्टमेन्ट ग्रुपले नेपालको कारोबार पनि मिलान गर्ने (सेटल) तयारी थालेको छ । यसअन्तर्गत नेपालको स्वामित्व सञ्चालन भारतीय कम्पनी हिन्दुस्तान कोकाकोलालाई हस्तान्तरण गरिएको छ ।

हिन्दुस्तान कोकाकोलाले पनि नेपालको सञ्चालन एक भारतीय कम्पनीलाई हस्तान्तरण गर्ने तयारी गरेको टक्सार म्यागजिनको २०८१ जेठ अङ्कमा खुलासा गरिएको छ ।

नेपाली साझेदार पनि फेरिँदै

यसैबीच, बोटलर्स नेपालको २२ प्रतिशत सेयर रहेको गोरखा ब्रुअरीकै स्वामित्व फेरिने लगभग निश्चित भएको छ । गोरखा ब्रुअरीको ९० प्रतिशत शेयर हिस्सा किनेर कोकाकोलाको स्वामित्वमा अप्रत्यक्ष लगानी गर्दै आएको  कार्ल्सबर्ग साउथ एसिया प्रालिले आफ्नो सेयर हस्तान्तरणको प्रक्रिया थालेको हो ।

२०६८ सालमा खेतान समूहबाट ४ लाख २९ हजार कित्ता सेयर किनेर गोरखा ब्रुअरीमा ९० प्रतिशत सेयर हिस्सा पुर्‌याएको  कार्ल्सबर्ग साउथ एसियाले आफ्नो शेयर जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजलाई बेच्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनी स्रोतले जानकारी दियो । गोरखा ब्रुअरी किन्नेसम्बन्धि वार्ता अघि बढेको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका एक अधिकारीले स्वीकार गरे । यसका लागि दुई/तीन पटक कार्ल्सबर्ग इन्टरनेशनलका अधिकारीहरू नेपाल आइ छलफल भएको उनले बताए ।

“गोर्खा ब्रुअरीको १० प्रतिशत सेयर रहेको खेतान समूहले गोरखा ब्रान्डको बियरका सन्दर्भमा केही आफ्ना रिजर्भेसन राखेकाले किनबेच प्रक्रिया अहिले अन्तिम भइसकेको छैन,” स्रोत भन्छ, “बोटलर्स नेपालको स्वामित्व यसैसँग स्वामित्व हस्तान्तरण नै गर्दा कसले लिने भन्ने अर्को कानुनी झमेला आउन सक्छ । त्यो पाटोबाट पनि छलफ‌ल हुँदैछ ।”



प्रतिक्रिया दिनुहोस !