२० बैशाख २०८१, बिहिबार

२ महिनाभित्र कृषिमा ५१ करोड १४ लाख रुपैयाँ खर्च गर्ने प्रदेश-५ सरकारको निर्णयमाथी प्रश्न

प्रकाशित मिति :  29 May, 2020 1:00 pm


रुपन्देही, १६ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसदले कोरोना प्रभावितका लागि कृषि कार्यक्रम सञ्चालन गर्न भन्दै छुट्टाईएको ५१ करोड १४ लाख रुपैयाँ कसरी खर्च कसरी हुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रदेश-५ सरकारको नीति तथा कार्यक्रममाथी छलफलमा आज आफ्नो धारणा राख्दै सांसद् बैजनाथ कलवारले बर्षभरी कृषि मन्त्रालको खर्चको तथ्याङ्क पेश गर्दै २ महिना भित्रैमा ५१ करोड रुपैयाँ खर्च हुँनेप्रति आशंका व्यक्त गरे ।

उनले भने,‘ कोरोनाबाट राहत प्रदान गर्न भन्दै कृषि कार्यक्रममा २ महिनाभित्र खर्च गर्ने गरि ५१ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको मेरो ध्याकर्षण भएको छ । यति ठूलो रकम २ महिनाभित्र खर्च गर्न सक्ने अवस्था छैन । यो कार्यकर्ता पाल्न ल्याईएको कार्यक्रम हो ।’

जेठ १ गते बसेको प्रदेश-५ को मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसबाट प्रभावित किसानलाई राहत प्रदान गर्न ‘कोभिड कृषि कार्यक्रम सञ्चालन गर्ने’ निर्णय गरेको थियो । कार्यक्रमका लागि साउन मसान्तभित्र ५१ करोड १४ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको थियो ।

तर,प्रदेश ५ सरकारको कृषि मन्त्रालयको खर्च चालुतर्फ ३ अर्ब ७९ करोड २९ हजारमध्य जम्मा ३४ करोड रुपैयाँ अर्थात ८ दशमलव २७ प्रतिशत मात्रै खर्च भएको छ । पुँजी तर्फ २७ करोड ८५ लाख ६० हजार रुपैयाँ मध्य जम्मा ७ करोड रुपैयाँ अर्थात २५ प्रतिशत मात्रै खर्च भएको छ । तर साउन मसान्तभित्र ५१ करोड १४ लाख खर्च गर्ने निर्णय भएपछि प्रतिपक्षी दलले प्रश्न उठाएको हो ।

सांसद कलवारले नीति तथा कार्यक्रममा कृषि क्रान्तिको कुरा गरेपनि आधारभूत आवश्यकता नै पुरा हुन नसकेको बताए । उनले भने,‘ किसानको आधारभूत आवश्यकता पुरा नभएर कसरी वैज्ञानिक कृषि खेती हुन्छ ? क्रान्ति हुन्छ ?’

लकडाउनका कारण तराईमा सीमा नाका बन्द भएकाले किसानले मल र बीउ पाउन नसकेको भन्दै समस्या देखिएको बताए । केन्द्र सरकार र प्रदेश मुख्यमन्त्रीसँग छलफल गर्दा पनि समस्या समाधान हुन नसकेका बताए ।

अहिले कृषि स्मार्ट गाँउ, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिक परियोजना, धान पकेट क्षेत्र, माछा क्षेत्र, कृषि यान्त्रिकरणका सबै रकम फिर्ता जाने अवस्था भएको भन्दै यो तरिकाले कृषि कार्यक्रम अगाडी बढ्न नसक्ने सांसद कलवारको दाबी थियो ।

प्रदेश-५ सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने, साउनभित्र ५१ करोड १४ लाख रुपैयाँ खर्च हुने



प्रतिक्रिया दिनुहोस !