१० चैत्र २०८१, सोमबार

भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ : अघिल्लो वर्षको तुलनामा नेपालले एक अंक गुमायो

प्रकाशित मिति :  11 February, 2025 2:30 pm


काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा जारी भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ अनुसार नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको ३५ अंकभन्दा एक अंक कम हो।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि अझ प्रभावकारी कदम आवश्यक रहेको औंल्याएको छ।

नेपालको भ्रष्टाचार स्थिति र दक्षिण एसियामा तुलना
नेपालको सूचकाङ्क दक्षिण एशियाका अन्य मुलुकहरूसँग तुलना गर्दा मध्यम स्तरमा रहेको देखिन्छ । भूटान ७२ अङ्कका साथ क्षेत्रको सबैभन्दा कम भ्रष्ट राष्ट्रका रूपमा उभिएको छ, भने भारत र माल्दिभ्सले समान ३८ अंक प्राप्त गरेका छन् । श्रीलङ्काले ३२, पाकिस्तानले २७, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन् । चीनले भने ४३ अंक हासिल गरेको छ।

१० वर्षको अवलोकन : सुधार कति?
नेपालले सन् २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३, ३३, ३४, ३५, ३४ अंक प्राप्त गरेको छ । यो अवधिमा भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सामान्य सुधार भए पनि स्थायित्व कायम गर्न नसकिएको देखिन्छ।

नेपालका लागि मुख्य सिफारिसहरू
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माका अनुसार नेपालमा न्यायिक प्रक्रिया, सार्वजनिक सेवा, कर प्रणाली, ठेक्का प्रक्रिया, तथा व्यवसायिक क्षेत्रमा पारदर्शिता बढाउन विशेष कदम चाल्न जरुरी देखिएको छ।

उनका अनुसार विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वर्ल्ड इकोनोमिक फोरम र ग्लोबल इनसाइटका प्रतिवेदनहरूले सरकारी निर्णय, ठेक्का प्रक्रिया, कर प्रशासन, तथा न्यायिक प्रणालीमा भ्रष्टाचार अझै कायम रहेको देखाएका छन्।

नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि ट्रान्सपरेन्सी इन्टरनेशनलले सुधारका उपायहरू सिफारिस गरेको छ । जसमा राजनीतिक क्षेत्रमा सदाचारको प्रवर्द्धन र नेताहरूको प्रतिवद्धता वृद्धि, सरकारी निकायमा घुसखोरी र भ्रष्टाचार नियन्त्रणका लागि निष्पक्ष अनुसन्धान र कारबाही, पारदर्शी न्यायिक प्रणालीको सुनिश्चितता, व्यवसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणका लागि सशक्त उपायहरूको कार्यान्वयनलगायतका सुझावहरु रहेका छन् ।

भ्रष्टाचारकाे विश्वव्यापी परिदृश्य : डेनमार्क पुनः शीर्ष स्थानमा
भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा १८० देश समावेश छन्। यस वर्ष पनि डेनमार्कले ९० अंक प्राप्त गर्दै लगातार सातौं वर्ष विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको स्थान सुरक्षित गरेको छ।

नेपालले पछिल्लो दशकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रयास गरे पनि पूर्ण सुधार हासिल गर्न सकेको छैन। सूचकाङ्कमा देखिएको एक अंकको गिरावटले सरकारलाई पारदर्शिता, सुशासन, र भ्रष्टाचार नियन्त्रणका पहलहरूलाई थप प्रभावकारी बनाउनु पर्ने सन्देश दिएको छ।



प्रतिक्रिया दिनुहोस !