“सञ्चार माध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउने हुनुपर्छ”

काठमाडाैँ । विश्व रेडियो दिवसका अवसरमा आयोजित एक कार्यक्रममा वक्ताहरूले सञ्चारमाध्यमले प्रवाह गर्ने सूचनाले नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) द्वारा आयोजित “रेडियो र जलवायु परिवर्तन” कार्यक्रमअन्तर्गत् भएको छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले सञ्चारमाध्यम जनताको सेवा गर्ने अभिप्रायले सञ्चालित हुनुपर्ने धारणा व्यक्त गरे।
जलवायु सूचना प्रणालीमा सुधारको आवश्यकता
सङ्घीय संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको भन्दै मौसम पूर्वानुमान सूचना प्रवाहमा प्रभावकारी सुधार आवश्यक रहेको बताइन् । उनले विशेषगरी कृषिमा निर्भर ६२ प्रतिशत जनसंख्यालाई सही सूचना उपलब्ध गराउन रेडियोको भूमिकामा जोड दिइन् ।
“नेपालले जलवायु परिवर्तन कोषको उपयोग र व्यवस्थापन प्रभावकारी बनाउनुपर्छ। मौसम पूर्वानुमान सूचना प्रणालीको नीतिगत व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,” उनले भनिन् । साथै, वनजङ्गलमा खेर गइरहेको पातपतिङ्गरलाई प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिने र यसले वन डढेलो न्यूनीकरण गर्न मद्दत गर्ने उनको भनाइ थियो।
जलवायु परिवर्तन र आर्थिक नीतिको चुनौती
अर्थ मन्त्रालयअन्तर्गत जलवायु वित्त विभागका प्रमुख ओमप्रकाश भट्टराईले जलवायु परिवर्तन र अर्थतन्त्रबीचको सन्तुलन कायम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे। नेपालले सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्ने लक्ष्य राखेको बताउँदै उनले सो कार्यका लागि २७६ बिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिए।
“सरकारको आर्थिक नीति चुनौतीपूर्ण अवस्थामा छ। जल तथा मौसम सूचना प्रणालीलाई प्राथमिकतामा राख्दै नियमित खर्चको व्यवस्थापन गर्नुपर्छ,” उनले भने। राज्यको मुख्य दायित्व नागरिकको सुरक्षा गर्नु भएकाले जलवायु परिवर्तनसम्बन्धी सूचना प्रणाली अनिवार्य आवश्यकताका रूपमा लिनुपर्ने उनले बताए।
मौसम पूर्वानुमान र रेडियोको भूमिका
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले प्रविधिको विकासले मौसम पूर्वानुमान प्रणाली सहज बनाएको बताए। “हाल मौसम पूर्वानुमानको शुद्धता उच्च रहेको छ। क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई अझ सुधार गर्दै लगिरहेका छौँ,” उनले भने।
उनका अनुसार विद्युत् प्राधिकरणले पनि मौसम पूर्वानुमानको आधारमा विद्युत् आयात–निर्यात योजना बनाउने अवस्था पुगेको छ। “हरेक १५ दिनमा खोलामा उपलब्ध हुने पानीको पूर्वानुमानका आधारमा विद्युत् व्यवस्थापन गरिन्छ,” जोशीले थपे।
सूचना प्रसारणमा रेडियोको महत्व
सार्वजनिक सेवा प्रसारण नेपालकी नायब महाप्रबन्धक आरती चटौतले सञ्चारमाध्यमहरूले किसानलाई लक्षित गरी जलवायु र मौसम पूर्वानुमान सूचना प्रसारण गर्नुपर्नेमा जोड दिइन्।
“सूचना प्रवाह गर्दा लक्षित समुदायलाई विशेष ध्यान दिनुपर्छ। सञ्चारको शैली प्रभावकारी हुनुपर्छ,” उनले भनिन् । उनले अन्तर्राष्ट्रिय तथा सरकारी स्रोतबाट प्राप्त सूचनाहरूको आधिकारिकता सुनिश्चित गरी मात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् । “सञ्चारमाध्यमले दिने सूचनाले नागरिकलाई सूचित, लाभान्वित र सकारात्मक प्रभाव पार्ने हुनुपर्छ,” चटौतले जोड दिइन् ।
कार्यक्रममा वक्ताहरूले रेडियोजस्ता माध्यमहरूलाई अझ प्रभावकारी बनाउन सरकार, सञ्चार संस्था, तथा नागरिक समाजबीच समन्वय आवश्यक रहेको धारणा राखे।