अन्तरराष्ट्रिय मातृभाषा दिवस : भाषिक विविधताको उत्सव

काठमाडौँ । नेपालसहित विश्वका विभिन्न मुलुकहरूमा आज अन्तरराष्ट्रिय मातृभाषा दिवस भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनका विविध कार्यक्रमसहित मनाइँदैछ ।
यो दिवसले विश्वभरि रहेका मातृभाषाहरूको संरक्षण तथा संवर्धन गर्दै विविधतामा एकताको सन्देश फैलाउने उद्देश्य राखेको छ।
सन् १९९९ मा बङ्गलादेशको प्रस्तावअनुसार संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् २००२ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यसलाई औपचारिक मान्यता प्रदान गर्यो । यो दिवस हरेक वर्ष फेब्रुअरी २१ (फागुन ९) मा विश्वभरि मनाइन्छ ।
यस वर्ष अन्तरराष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोहका रूपमा विशेष कार्यक्रमसहित मनाइँदैछ । युनेस्कोले पेरिसस्थित आफ्नो प्रधान कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
प्राविधिक संवादअन्तर्गत् डिजिटल युगमा भाषाको प्रयोग, संरक्षण र प्रवर्धनमा प्रविधिको भूमिकामाथि छलफल, उच्चस्तरीय छलफल सत्रअन्तर्गत् मातृभाषामा शिक्षाको महत्व र समावेशी समाज निर्माणबारे बहस, सांस्कृतिक प्रदर्शनअन्तर्गत् विभिन्न भाषा र संस्कृतिका विशेष झलक प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।
युनेस्कोका अनुसार यस वर्षको दिवस गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण, विज्ञान र प्रविधिको उपयोग तथा बहुभाषिकता र बहुसांस्कृतिकता प्रवर्द्धन गर्ने विषयमा केन्द्रित हुनेछ।
नेपालमा मातृभाषा संरक्षणका चुनौती र सम्भावना
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विविधताले सम्पन्न मुलुक हो। यहाँ संविधानले मातृभाषा शिक्षालाई अधिकारका रूपमा स्थापित गरे पनि व्यवहारमा धेरै भाषा लोप हुने अवस्थामा पुगेका छन्। मातृभाषाहरूको संरक्षण, प्रवर्द्धन र शिक्षामा समावेश गर्न राज्यले नीतिगत तथा संरचनागत सुधार गर्नुपर्ने विज्ञहरूको भनाइ छ।
नेपालमा पनि आज विभिन्न संघसंस्थाहरू, भाषा अभियन्ताहरू तथा शैक्षिक निकायहरूले मातृभाषामा शिक्षाको विकास, भाषिक अधिकारको संरक्षण, बहुभाषिक सञ्चार प्रवर्द्धन लगायतका विषयमा कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन् ।
भाषा केवल संचारको माध्यम मात्र नभई समुदायको पहिचान, संस्कृति, इतिहास र ज्ञानको संरक्षक पनि हो । त्यसैले हाम्रा मौलिक भाषाहरूको संरक्षण, प्रवर्द्धन र हस्तान्तरण गर्नका लागि शिक्षण, लेखन, अनुसन्धान र प्रविधिको सहायतामा सबैले आ-आफ्नो भूमिका खेल्नुपर्छ ।