१२ चैत्र २०८१, बुधबार

एकलब्य शिक्षा सदनमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

प्रकाशित मिति :  23 February, 2025 3:47 pm


काठमाडौँ । नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यू र एकलब्य शिक्षा सदनको संयुक्त आयोजना तथा सनसिटी आई केयर सेन्टर र समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न भएको छ।

शिविरमा स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा विभिन्न वर्गका व्यक्तिहरूले निःशुल्क आँखा तथा दन्त परीक्षण गराउने अवसर पाए। प्राविधिक टोलीले दाँत तथा आँखासम्बन्धी परामर्श, उपचार, आवश्यक औषधि वितरण तथा दाँत सफा गर्ने ब्रस र मन्जन वितरण गरेको थियो।

विद्यालयका सुपरभाइजर झम्क बस्नेतले आर्थिक रूपमा कमजोर अभिभावकहरूको व्यस्ततालाई मध्यनजर गर्दै विद्यार्थी, अभिभावक तथा विद्यालय कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो शिविर आयोजना गरिएको बताए। उनले नेसनल ओपन स्काउट क्र्यूसँग सहकार्य गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

एकलब्य शिक्षा सदनका सह९प्रधानाध्यापक याम बहादुर कार्कीले शिक्षा मात्र नभई विद्यार्थीहरूको स्वास्थ्य सचेतना पनि आवश्यक रहेको बताउँदै विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गर्न पाउँदा गर्व लागेको बताए। उनले विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

समाज डेन्टल अस्पताल पेप्सिकोला शाखाकी प्रमुख एलिना दाहाल र सनसिटी आई केयर सेन्टरकी प्रमुख अप्सरा आचार्यले विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए।

नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका संस्थापक तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थासँग समन्वय गरेर शिविर सञ्चालन गरिएको बताए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

स्वास्थ्य परीक्षण गराउन आएका स्थानीय बासिन्दा तथा अभिभावकहरूले शिविरलाई प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन्। आयोजक तथा प्राविधिक टोलीले यस्ता कार्यक्रमलाई भविष्यमा अझै विस्तार गर्दै लैजाने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !