१२ चैत्र २०८१, बुधबार

स्वदेशमै अवसर खोजिरहेका श्यामः विदेश त्यागेर फ्रेसकेटीएममा नेतृत्वमा पुगेकाे कथा

प्रकाशित मिति :  23 February, 2025 11:51 am


काठमाडाैँ । मधेशको मौसम उष्ण हुँदै गइरहेको छ, र त्यससँगै सडक र बजारमा मानिसहरूको चहलपहल पनि बढिरहेको छ। रौतहटको फ्रेसकेटीएम फार्ममा काम गर्ने श्याम तामाङ बिहानैदेखि फार्मका काममा व्यस्त छन्। आफ्नो दिनचर्या सुपरभाइजरको जिम्मेवारीमा बिताउँदै आएका श्यामले दुई वर्षको विदेश बसाइपछि स्वदेश फर्केर नयाँ अवसर खोजेका छन्।

श्याम, जो सिन्धुपाल्चोक मेलम्ची ४ का मूल निवासी हुन्, उनले गाउँको स्थानीय विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरे। विदेश जानु अघि काठमाडौँमा सवारी चालकको रूपमा काम गरेका उनले अहिले फार्मको व्यवस्थापनको जिम्मेवारी पाएका छन्। ७० जना कर्मचारी र ३० जना दैनिक ज्यालादारी कामदारहरूको नेतृत्व गर्दै श्याम कामको वर्गीकरण, खेतीपाती, मलखाद व्यवस्थापन र सिंचाइ प्रणाली जस्ता विभिन्न पेसामा सफलता प्राप्त गर्दैछन्।

उनी विदेश गएर मलेसिया र इराकमा विभिन्न कार्य अनुभव गरेका छन्। तर, अहिले उनी स्वदेशमै बस्न चाहन्छन्। श्यामले आफूलाई सदैव मेहनती र इमान्दार मान्छेका रूपमा प्रस्तुत गर्दै, नयाँ अनुभव प्राप्त गर्ने क्रममा आफ्नो जीवनमा परिवर्तन ल्याएका छन्।

“नयाँ कुरा सिक्न र फरक भूगोलमा जीवनयापन गर्न चाहने रुचिले मलाई फार्मतिर आकर्षित गर्यो”, श्याम भन्छन्। उनले आफ्नो दृषटिकोनमा शिक्षा मात्र होइन, व्यवहारिक शिक्षा महत्त्वपूर्ण ठानेका छन्।

प्रविधिको उपयोगमा पनि श्याम परिपक्व भएका छन्। उनले अब कम्प्युटर प्रणालीमा पनि काम गर्न सक्छन् र फार्मका अन्य कर्मचारीहरूलाई पनि प्रविधि सिकाउँछन्। उनले विश्वास गर्छन् कि काम गरेर मात्र व्यवस्थापन र नेतृत्व गर्न सकिन्छ, र उनी युवाहरूलाई पनि यही सन्देश दिन चाहन्छन्।

“नेपालमा अवसर खोज्नभन्दा पनि अवसर बनाउन लाग्नुपर्छ,” श्यामले भने। उनका अनुसार, यदि युवाले मेहनत र इमान्दारीका साथ काम गरे भने, उनीहरूलाई स्वदेशमै अवसर मिल्नेछन्।

कुनै पनि पदको दाबी नगरी, श्यामले आफ्नो कार्यक्षेत्रमा इमान्दारी र मेहनतको बलमा विश्वास राखेका छन्। उनले आफ्नो अनुभवबाट सिकेका कुरा साझा गर्दै भने,”काम गर्ने सोच र जाँगर भएमा आफू कहिले पनि पछि परिँदैन।”

नेपालको भविष्य निर्माणमा यस्ता इमान्दार र मेहनती युवा आवश्यक छन्। श्याम जस्ता व्यक्तिहरूको प्रेरणादायी कथा देशका अन्य युवाहरूलाई प्रोत्साहित गर्नेछ, र यही प्रवृत्तिले नेपालमा अवसरको मात्रा थप्ने विश्वास श्यामले व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !