नेपाल बार एसोसिएसन चुनावः डिएलएमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र दावेदारी

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमिति निर्वाचनका लागि प्रजातान्त्रिक कानुन व्यवसायीहरुको संस्था (डिएलए) भित्र वरिष्ठ अधिवक्ता यदुनाथ खनालको मात्र उम्मेदवारी परेको छ।
चैत्र २३ गतेबाट सुरू हुने निर्वाचनका लागि मंगलबार साँझसम्म खनालको मात्र दावेदारी परेको हो। नेपाल बार एसोसिएसनले बिहीबार उम्मेदवारी दर्ताको समय तोकेको छ। यसअघि जस्तै बार चुनावमा प्रगतिशील र प्रजातान्त्रिक खेमा प्रतिस्पर्धामा आउने देखिएको छ।
डिएलएभित्र खनालको मात्र दावेदारी परेपछि उनको नेतृत्व निश्चित हुने सम्भावना बलियो देखिएको छ। खनाल यसअघि पनि डिएलएको अध्यक्ष भइसकेका छन्। उनले आफू नेतृत्वमा रहँदा कानुन व्यवसायीहरूकाे क्षमता विकास र लोकतान्त्रिक पक्षधर मुद्दामा वकालत गरेको उल्लेख गर्दै संगठनको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
खनाल अघिल्लो बार निर्वाचनमा पनि अध्यक्ष पदका लागि दावेदार थिए। यसपटक संगठनभित्रैबाट दबाब आएपछि आफू पुनः प्रतिस्पर्धामा आएको उनको भनाइ छ। डिएलए निर्वाचन तयारी समितिका एक सदस्यका अनुसार मंगलबारसम्म अरू कुनै उम्मेदवारी नपरेको अवस्थामा खनाल नै उम्मेदवार बन्नेछन्। यदि अन्य आकांक्षी आएमा भने सहमतिमै नाम तय गरिने बताइएको छ।