अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन फागुन १७ गते काठमाडौँमा हुने

काठमाडौं । धनयोग फाउन्डेसनले फागुन १७ का दिन काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन आयोजना गर्न लागेको छ। यस सम्मेलनमा नेपाल डाइविटिज एन्ड एन्डोक्रिनोलोजी एसोसिएसन र अन्य स्वास्थ्य संस्थाहरूको सहकार्य रहनेछ।
सम्मेलनको मुख्य उद्देश्य नेपालको बढ्दो मधुमेह संकटप्रति जनतालाई सचेत गराउनु र यसको समाधानका उपायहरूको चर्चा गर्नु हो। यस अवसरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरू, नीति निर्माताहरू र स्वास्थ्यकर्मीहरूलाई मधुमेहको रोकथाम, व्यवस्थापन र हेरचाहका नवप्रवर्तनात्मक रणनीतिहरूमा विचार विमर्श गर्ने साझा थलो प्रदान गरिनेछ।
सम्मेलनका महत्वपूर्ण अंशहरूमा मधुमेहका उपचार र हेरचाहका नयाँ तरिका, प्रविधि र सामाजिक–आर्थिक प्रभावहरूको बारेमा प्रस्तुतीकरण र प्यानल छलफल हुनेछ। विशेषगरी नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा मधुमेहका बारेमा हालका अनुसन्धान र रणनीतिहरू प्रस्तुत गरिनेछन्।
ललितपुरको ग्वार्को स्थित रोयल ट्यूलिप – द म्यासिफ होटलमा हुने एक दिने सम्मेलनमा विश्वका विभिन्न देशका विशेषज्ञहरूले मधुमेहका नयाँ उपचार विधिहरू र हेरचाहका प्रविधिहरू बारे जानकारी साझा गर्नेछन्। यसका साथै, इन्सुलिन उपचार र मधुमेहको सामाजिक–आर्थिक प्रभावका बारेमा अन्तरक्रियात्मक सत्रहरू पनि आयोजना हुनेछन्।
सम्मेलनमा भारतको भेलोर स्थित क्रिस्चियन मेडिकल कलेजका प्रमुख डा। नितिन कपूर, अमेरिकाका प्राध्यापक डा। राजु पन्त र अन्य प्रमुख विशेषज्ञहरू सहभागी हुनेछन्। यस सम्मेलनको सहकार्य नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, म्यासाचुसेट्स विश्वविद्यालय र नेपाल हेल्थ क्रप्ससँग रहेको छ।
धनयोग फाउन्डेसन, जो कि नेपाल र संयुक्त राज्य अमेरिकामा सक्रिय छ, मधुमेह उपचार र शिक्षा सुधारमा महत्वपूर्ण कार्य गर्दै आएको छ। यस संस्थाले नेपालका विभिन्न स्थानमा मधुमेह परीक्षण र शिविरहरूको आयोजना गर्दै मधुमेह केन्द्रहरूको स्थापना गर्ने कार्य अघि बढाएको छ।