१७ बैशाख २०८२, बुधबार

सरकारी ऋण २६ खर्ब ७६ अर्ब नाघ्यो : चालु आर्थिक वर्षमै साढे दुई खर्ब ऋण थपियो

प्रकाशित मिति :  20 March, 2025 7:13 am


काठमाडौँ । सरकारको तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा मात्र करिब साढे दुई खर्ब ऋण थपिएको छ ।

चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड थियो । फागुन मसान्तसम्ममा यो रकम दुई खर्ब ४१ अर्ब ९३ करोडले बढ्दै २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत हो ।

हालसम्मको कुल ऋणमा वैदेशिक ऋण १३ खर्ब ६० अर्ब ४६ करोड (५०.८३%) रहेको छ भने आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड (४९.१६%) रहेको छ । जीडीपीको आधारमा आन्तरिक ऋणको अनुपात २३.०६ प्रतिशत र बाह्य ऋणको अनुपात २३.८५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल पाँच खर्ब ४७ अर्ब ऋण संकलन गर्ने लक्ष्य राखेको थियो । फागुन मसान्तसम्ममा तीन खर्ब ३४ अर्ब ६२ करोड ऋण संकलन भइसकेको छ, जुन वार्षिक लक्ष्यको ६१.१७ प्रतिशत हो ।

आन्तरिक ऋणतर्फ सरकारको लक्ष्य तीन खर्ब ३० अर्ब रुपैयाँ उठाउने रहेको थियो । फागुन मसान्तसम्ममा ८१.५६ प्रतिशत अर्थात् दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख आन्तरिक ऋण उठाइएको छ। बाह्य ऋणतर्फ भने लक्ष्य दुई खर्ब १७ अर्ब भए पनि हालसम्म ३०.१७ प्रतिशत अर्थात् ६५ अर्ब ४७ करोड रुपैयाँ मात्रै संकलन गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि चार खर्ब दुई अर्ब ८५ करोड बजेट छुट्याएको थियो । फागुन मसान्तसम्ममा दुई खर्ब एक अर्ब ७२ करोड (५०.०८%) ऋण भुक्तानी भइसकेको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च ३.५४ प्रतिशत पुगेको छ ।

वैदेशिक मुद्राको विनिमय दरमा आएको परिवर्तनकै कारण नेपाललाई ६६ अर्ब २९ करोड रुपैयाँ थप ऋणको भार परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरकारी ऋण उठाउने र तिर्ने अनुपात हेर्दा आन्तरिक ऋण संकलन अपेक्षाकृत राम्रो भए पनि बाह्य ऋण प्राप्ति सुस्त देखिएको छ । यस्तो स्थितिमा दीर्घकालीन वित्तीय दायित्व व्यवस्थापन तथा ऋण भारलाई नियन्त्रणमा राख्ने रणनीति आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !