बुद्धका पदचापमाथि उभिएको तिलौराकोट : फेरि पनि विश्वसम्पदा सूचीबाहिर
इतिहास र पहिचानको संघर्ष : तिलौराकोट अझै विश्व मान्यताको प्रतीक्षामा
दाङ । शान्त, गम्भीर र मौन-त्यहीँ उभिएको छ तिलौराकोट, बुद्धको पदचापसँगै हजारौं वर्षको इतिहास बोकेर । कपिलवस्तुको यही कुनै साँझ, राजकुमार सिद्धार्थले आफ्नो महल छाडेर ज्ञानको यात्रा सुरु गरेका थिए । यतिबेला त्यो उही द्वार, जहाँबाट उनले संसार छाडे-शान्तिपूर्वक उभिएको छ तर यसपालि त्यो मौनता केही गहिरो छ । तिलौराकोट फेरि एक पटक विश्व सम्पदा सूचीमा सूचीकृत हुने ढोका ढक्ढक्याएर फर्किएको छ-यस पटक पनि भित्र पस्न पाएन ।
पेरिसमा सम्पन्न १४६औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन प्रस्ताव प्रस्तुत गरे तर इकोमसको रिपोर्टले न समर्थन गर्यो, न स्थगनको सिफारिस नै । परिणामस्वरूप तिलौराकोट ‘डिफर चरण’मा रहन बाध्य भयो-न स्वीकार, न अस्वीकार, केवल प्रतीक्षा ।
इतिहासको भित्तामा टाँसिएको एउटा नगर
तिलौराकोट कुनै किंवदन्ती होइन, यो हाम्रो इतिहासको भित्तामा टाँसिएको एउटा प्राचीन नगर हो । जहाँबाट नेपालले न केवल बौद्ध धर्मको विश्व सन्देश दियो, बरु समावेशी शासन, न्याय र दार्शनिक जीवनको अभ्याससमेत प्रारम्भ गर्यो । यही राजा शुद्धोधनले शासन गरे, यही सिद्धार्थले संवेदनशीलताका बीजहरू अंकुराए, र यहीँबाट उनले शरीर छाडेर आत्मज्ञानको खोजी थाले ।
यी सबै टुक्रा आज धूलोसँग मिसिएर पनि बोलिरहेका छन्-दरबारको भग्नावशेष, स्तूपका ईटा, इनारको पानी शान्तिको स्वरूपमा । उत्खननले पर्खालभित्रको दरबार, औद्योगिक क्षेत्र, पोखरी, विहार र प्रशस्त संरचनाहरू भेटाएका छन्-जसले यसलाई बौद्ध दर्शनको मात्र होइन, प्राचीन शहरी सभ्यताको पनि केन्द्र बनाउँछ ।
उत्खननले उधिनेको सत्य
२०१४ सालदेखि सुरु भएको उत्खननयात्राले तिलौराकोटको छाती खोलेको छ र त्यसभित्र लुकेको छ २५ शताब्दीअघिको संगठित गणराज्य, धर्म र दर्शनको चौर । दुर्हाम विश्वविद्यालय (बेलायत), पुरातत्व विभाग र लुम्बिनी विकास कोषसहितका अनुसन्धानकर्ताहरूले पुष्टि गरिसकेका छन्-तिलौराकोट केवल धार्मिक थलो होइन, बुद्धपूर्व युगको गौरवमय सभ्यता हो ।
योजनाबद्ध शहरीकरण, चारैतिर किल्ला, धातुका अवशेष, पञ्चमार्क मुद्राहरू, चाँदीका टुक्रा यी सबैले तिलौराकोटको समय र सन्देशलाई वैज्ञानिक साक्ष्यद्वारा पुष्टि गरेका छन् । सातौं शताब्दीका चिनियाँ यात्री ह्वेनसाङले वर्णन गरेका संरचनाहरू पनि उत्खननमै भेटिएका छन्, जसले गर्दा यसको ऐतिहासिकता विवादरहित बनेको छ ।
प्रतीक्षा… र फेरि प्रतीक्षा
यो पहिलो पटक होइन, तिलौराकोटले युनेस्कोको ढोका ढक्ढक्याएको तर यो पटकको प्रयास थप संगठित, थप औपचारिक थियो । नेपाल सरकारका तर्फबाट फ्रान्ससम्मको यात्रा, प्राविधिक कागजात, पुरातात्त्विक रिपोर्ट, अन्तर्राष्ट्रिय सिफारिस-सबै जुटाइएको थियो तर अन्ततः, तिलौराकोट पुनः प्रतीक्षामा राखियो ।
कमिटीमा भारत, जापान, कोरिया, कतारसहित २१ देश छन् । निर्णय बहुमतबाट हुन्छ । भारतले पनि कुनै चासो देखाएन-शाक्य वंशको राजधानीसँग आफ्नो ऐतिहासिक नातालाई बेवास्ता गर्दै । नेपालका प्राविधिक त्रुटी र कूटनीतिक तयारीको अपुगताले तिलौराकोट फेरि ‘भोलि’ मा धकेलियो ।
मन्त्री पाण्डेले स्वीकारे-कहिलेकाहीँ नाङ्गो सत्य नै उपचार हुन्छ । “कसैकसैको समर्थन अभाव थियो, हामीबाट पनि केही कमजोरी रहेछ,” उनले भने, “अब कूटनीतिक पहल र प्राविधिक सुधारसहित फेरि जानेछौं ।”
सपना अझै बाँकी छ
तिलौराकोटको भौतिक संरचना मात्र होइन, यसको पर्यटन सम्भावना पनि अब बलियो बनेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धमार्ग, डबल लेन सडक, संग्रहालय स्तरोन्नति, पैदलमार्ग निर्माण र बुद्ध सर्किटको विस्तारले यस क्षेत्रमा अन्तर्राष्ट्रिय आकर्षण थपिरहेको छ ।
नेपाल सरकारले तिलौराकोट क्षेत्रको जग्गा अधिग्रहण, संरक्षण र विकासमा लगातार काम गरिरहेको छ । लुम्बिनी गुरुयोजनाअन्तर्गत निग्लीहवा, गोटिहवा, कुदान, सिसहनिया, सगरहवा जस्ता स्थानहरू पनि बुद्धसर्किटसँग जोडिँदैछन् ।
तिलौराकोट अब केवल कपिलवस्तुको चिनारी होइन-यो नेपालको सांस्कृतिक अस्मिता, धार्मिक सहिष्णुता र शासकीय गौरवको विश्वस्तरमा मान्यता पाउने अद्वितीय पात्र बन्ने नजिक छ ।
न सकिएको छ यात्रा, न मरेका छन् आशा
तिलौराकोटले आजको विश्वसम्पदाको सूचीमा नाम लेखाउन सकेन होला तर उसले आजको नेपाललाई फेरि आफ्नो गौरव सम्झाइदिएको छ । उ चुपचाप प्रतीक्षा गरिरहेछ-जस्तै कहिल्यै बोलेन तर कहिल्यै मौन पनि भएन ।
आज पनि त्यहीँ छ-बुद्धले जिस्कँदै खेलेको आँगन, उनले गम्भीर भएर हेरेको क्षितिज र उनले रातारात पार गरेको राजद्वार । फर्कंदै गरेको मान्यता उसलाई हरेक वर्ष सम्झाउने गर्छ-सत्यले कहिल्यै हार मान्दैन ।
अब चुक्न मिल्दैन । अब फर्कन मिल्दैन । अब तिलौराकोटका शिला, चिहान, पोखरी र स्तूपहरूको मौनता सुन्न, बुझ्न र स्वीकृत गराउन हामी सबैले आवाज उठाउनु पर्छ ।
किनभने तिलौराकोट केवल एउटा पुरातात्त्विक स्थल होइन-यो त आत्मबोधको थलो हो, जहाँबाट सुरु भएको थियो ज्ञानको यात्रा । अब त्यो यात्रा विश्व मान्यताको शिखरसम्म पुग्न बाँकी छ र त्यो सम्भव छ, यदि हामी आजदेखि नै तयार छौं भने ।








