नेतृत्वमा पारदर्शिता र समान व्यवहार आवश्यक : केन्द्रीय सदस्य ईश्वरी जीएमकाे ६ बुँदे सुझाव
काठमाडाैँ । ललितपुरमा जारी नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य ईश्वरी घर्तीले पार्टी नेतृत्वलाई सशक्त संगठन, पारदर्शी नेतृत्व र जनविश्वास पुनःस्थापनाका उद्देश्यसहित छ बुँदे सुझाव प्रस्तुत गरेकी छिन् ।
उनका सुझावहरूमा राजनीतिक समाधानका उपायदेखि पार्टीभित्रको सुधारसम्मका विषय समेटिएका छन्।
१. विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कुनै मुडभेट सिर्जना नगरी, सडक आन्दोलनको सट्टा कानुनी प्रक्रिया र राजनीतिक दलहरूबीचको संवादमार्फत समाधान खोजौँ । साथै, आगामी निर्वाचनको तयारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले निराश भएका जनता, कार्यकर्ता र पार्टी पंक्तिलाई पुनः उत्साहित पार्ने जनपरिचालनका कार्यक्रम तय गरौँ ।
२. पार्टीको आसन्न एघारौँ महाधिवेशनमा जेन–जि पुस्ता सहित युवाको प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधि छनोटदेखि कमिटी गठनसम्मका लागि स्पष्ट मापदण्ड र नीति बनाऔँ । साथै, महाधिवेशनबाट नयाँ कमिटी चयन गर्ने अधिकार निर्वाचन प्रक्रियामार्फत महाधिवेशन प्रतिनिधिहरूलाई दिइनुपर्छ।
टिके प्रथाले पार्टीको पुनर्गठन र सुदृढीकरण सम्भव छैन, बरु अझ कमजोर बनाउँछ भन्ने कुरा बुझौँ । पछिल्लो समय नेकपा (एमाले) र नेताहरूप्रति आम नागरिकको धारणा कस्तो छ भन्ने विषयमा सामाजिक सञ्जालका टिप्पणीहरू र सार्वजनिक स्थलमा हुने अभिव्यक्तिहरूलाई पनि मनन गर्दै अघि बढ्न आवश्यक छ ।
३. भदौ २३ गतेको जेन–जी आन्दोलनमा सरकारको फितलो सुरक्षा व्यवस्था र युवा विद्यार्थीमाथि गरिएको अन्धाधुन्ध गोली प्रहार अत्यन्तै दुःखद थियो । २४ गतेको घटनामा लामो तयारीसहितको योजनाबद्धता रहेको कुरा अध्यक्षज्यूको प्रतिवेदनमै उल्लेख भएको देखिन्छ। यस सन्दर्भमा प्रधानमन्त्री कार्यालय मातहतका सुरक्षा निकायहरूले किन रोक्न उदासीनता देखाए भन्ने प्रश्न गम्भीर छ। यसबारे निष्पक्ष र सूक्ष्म छानबिन आवश्यक छ।
४. अध्यक्ष कमरेडसहित हामी सबैले अब हाम्रो पार्टीको वर्तमान अवस्थाबारेको सत्य र यथार्थतालाई स्वीकार गर्दै अघि बढ्न जरुरी छ। जनता भन्दा माथि राजनीतिक दल हुन सक्दैन-दल जनताको उपज हो । संविधान पनि जनताको विश्वास रहुञ्जेल मात्र जीवित रहन्छ। दल र हाम्रो पार्टीप्रति युवा पुस्ता र आम कार्यकर्ताले विगतदेखि नै सुदृढीकरणको माग गर्दै आएका हुन्। त्यो माग पूरा नहुँदा अनियमितता र भ्रष्टाचार बढेको छ र सुशासनको अवस्था कमजोर बनेको छ।
हामीले विगतदेखि नै व्यक्तिगत र संस्थागत आचरणमा सुधार गर्न सकेनौँ, यही अवस्थाको विस्फोट अहिलेको असन्तोषका रूपमा देखिएको हो भन्ने कुरा स्वीकार गर्नुपर्छ। जनताले पटकपटक सत्ताको जिम्मा हामीलाई दिएका छन्, तर हाम्रो नेतृत्वका तीन तहका सरकारका नीति, कार्यक्रम र बजेट जबजको मार्गदर्शनमा समाजवादको आधार तयार पार्ने खालका हुन सकेनन् ।
अब हामी सबैले सामूहिक आत्मआलोचना गर्दै जनता र कार्यकर्तामा पुनः विश्वास स्थापित गर्नेगरी अघि बढ्ने वातावरण बनाउनुपर्छ ।
५. हाम्रो पार्टीमा समानुपातिक समावेशी प्रणालीको संविधानसम्मत भावना विपरीत व्यापक दुरुपयोग भएको छ । पार्टी सञ्चालनका लागि जनता र कार्यकर्ता आवश्यक छन् तर पद र अवसर नातेदार, नजिकका वा पैसावालहरूलाई मात्र दिने प्रवृत्ति रोक्नुपर्छ ।
समानुपातिक सांसद दोहोरिन नपाउने व्यवस्था उचित छ, तर एउटै निर्वाचन क्षेत्रबाट एउटै व्यक्तिले पटकपटक प्रत्यक्ष उम्मेदवारी दिन नपाउने नीति पनि बनाइनुपर्छ । निर्वाचन क्षेत्र कुनै व्यक्तिको पेवाजस्तो बनेको अवस्थामा नयाँ नेतृत्व जन्मिने अवसर कहाँबाट आउँछ ?
६. कथित सल्लाहकारहरूले पार्टी नेतृत्वलाई सीमित घेराभित्र राख्ने, यथार्थता भन्दा फरक रिपोर्टिङ गर्ने र गलत सूचना दिई भ्रम सिर्जना गर्ने प्रवृत्तिका कारण पार्टीका इमानदार र देशभक्त कार्यकर्ताहरूको मनोबल कमजोर भएको यथार्थ स्वीकार गर्नुपर्छ । नेतृत्वले सबैसँग समान व्यवहार गर्न सकेमा मात्र नेतृत्वप्रतिको विश्वास अभिवृद्धि भई पार्टी बलियो बन्ने कुरामा हेक्का राख्नुपर्छ ।
ईश्वरी जीएम
केन्द्रीय सदस्य, नेकपा (एमाले)








