३१ भदौ २०८३, बुधबार

जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक सांगीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ (भिडियो)

प्रकाशित मिति :  16 September, 2026 3:48 pm


काठमाडौँ । भोटेकोशी–रसुवा बाढीसँगै जलवायु न्यायको विषय टड्कारो रूपमा उठिरहेका बेला सांगीतिक क्षेत्रमा जलवायु न्यायका लागि सिर्जित सांगीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ सार्वजनिक भएको छ ।

कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु संकटका कारण बढ्दो विपद्को गहिरो चोट नेपालका हिमाली तथा नदीकिनारका समुदायले व्यहोरिरहेका छन् । यही यथार्थलाई गीतमार्फत अभिव्यक्त गर्दै ‘ए नदी ए हिमाल’ ले जलवायु न्यायका लागि विश्वको ध्यान आकर्षित गर्ने प्रयास गरेको छ ।

तथ्यले मानिसलाई जानकारी दिन्छ, कथाले भावनासँग जोड्छ र संगीतले अनुभूतिलाई स्मृतिमा राख्छ । त्यसैले जलवायु तथा विपद् सञ्चारमा कला र संगीतको भूमिका महत्वपूर्ण हुन्छ । यो सिर्जना केवल पीडा व्यक्त गर्नमा सीमित छैन, यसले प्रश्न पनि गरेको छ—जुन प्रश्न नेपाल सरकारले विश्वजगत्समक्ष पुर्‍याउन जरुरी छ ।

गीतकार डीडी पन्तले गीतमा बिम्ब र प्रतीकलाई कलात्मक तथा सचेत ढंगले प्रस्तुत गरेका छन् ।

‘कसले आकाश बिगार्‍यो ?
कसले ऋतुको लय भत्कायो ?
कसले तिम्रा मौनतामा,
नाफाको व्यापार गरायो ?’

जलवायु परिवर्तनलाई लामो समयसम्म वैज्ञानिक, प्राविधिक वा वातावरणीय विषयका रूपमा प्रस्तुत गरिँदै आएको छ । हिमाली क्षेत्रको अस्थिरता, विपद् जोखिम, नदीकिनारको अव्यवस्थित विकास र वातावरणीय संवेदनशीलतामाथिका प्रश्न अब वैज्ञानिक अध्ययन वा औपचारिक प्रतिवेदनमा मात्र सीमित छैनन् ।

पन्तले जलवायु संकटको प्रश्नलाई घर, खेत, सडक, बजार र परिवारको जीवनसँग जोडेर त्यहीँबाट न्यायको प्रश्न उठाएका छन् । भोटेकोशीजस्ता विपत्तिले अर्को महत्वपूर्ण प्रश्न पनि उठाउँछन्—प्राकृतिक जोखिम बढ्दै जाँदा हाम्रो विकासको ढाँचा कति सुरक्षित छ ?

गीतले विकासमाथि पनि प्रश्न गरेको छ ।

‘पहरो फोडी सुरुङ खन्यौँ हामीले
भाग्य फोडी भ्वाङ बनायौ तिमीले ।’

‘सुरुङ’ विकासको प्रतीक हो भने त्यसले मानवीय प्रयत्न र स्वाभिमानलाई पनि संकेत गर्छ । ऊर्जा, सडक, पूर्वाधार र समृद्धि खोज्दै पहाडभित्रसम्म पुगेको विकासले प्रकृतिमाथिको मानवीय हस्तक्षेपलाई पनि प्रतिनिधित्व गर्छ ।

गीतले विकासको विरोध गरेको छैन, तर विकासको शैलीमाथि कडा प्रश्न गर्छ—हामीले नदीबाट ऊर्जा निकाल्दा नदीको स्वभाव कति बुझ्यौँ ? पहाड काट्दा त्यसको भूगर्भीय संवेदनशीलता कति बुझ्यौँ ? नदीकिनारमा संरचना बनाउँदा भविष्यको जोखिम कति आँकलन गर्‍यौँ ? विपद् आउनुअघि समुदायलाई जोगाउन हामी कति तयार थियौँ ?

कति घर भत्किए, कति पुल बगे वा कति मानिस मरे भन्नेमा मात्र क्षतिको मूल्य सीमित हुँदैन । कसले क्षति व्यहोर्‍यो, किन व्यहोर्‍यो र पुनःस्थापनाको क्षमता कससँग छ भन्ने प्रश्न पनि जलवायु न्यायको बहसमा उत्तिकै महत्वपूर्ण हुन्छ ।

जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनले तापक्रम, वर्षा, हिमताल, जोखिम र आर्थिक क्षतिको तथ्यांक प्रस्तुत गर्न सक्छन् । वैज्ञानिक अध्ययनले कारण र प्रभावको व्याख्या गर्न सक्छन् । तर ती अध्ययनले मानिसको भावना र स्मृतिलाई सधैँ त्यसरी छुन सक्दैनन् । भावना र स्मृतिलाई जोड्ने शक्ति गीत–संगीतमा हुन्छ ।

‘ए नदी ए हिमाल’ ले हराएको घर, खोजिएको आफन्त, अधुरो सपना र भविष्यप्रतिको भयलाई अनुभूत गराउँदै जलवायु न्यायको आवाज उठाएको छ ।

‘उछिट्याइदियौँ सपनाहरू, पुरिदियौँ आशाहरू,
गुमनाम गरायौँ मुटुहरू, फटायौँ उभिने धर्ती पनि ।’

यी पंक्तिले तथ्यांकलाई अनुभूतिमा बदलिदिन्छन् । विपद्लाई केवल ‘प्राकृतिक प्रकोप’ भनेर व्याख्या गर्दा त्यसमा जोडिएका मानवीय जिम्मेवारीका प्रश्नहरू हराउन सक्छन् । त्यसैले विपद् जोखिमको बहसले खतरा मात्र होइन, जोखिम निर्माण गर्ने सामाजिक, आर्थिक र विकाससम्बन्धी कारणलाई पनि हेर्नुपर्ने माग गर्छ ।

यस अर्थमा ‘ए नदी ए हिमाल’ केवल भोटेकोशीको शोकगीत होइन । यसले जलवायु न्याय, जिम्मेवार विकास र विपद् तयारीमाथि प्रश्न उठाएको छ ।

‘कसका लोभ र कसका गल्ती थिए,
विनासित्ती निर्धासँग रिसाएर आयौ ?’

मानिसले तथ्यांक बिर्सन सक्छ । प्रतिवेदनका पाना सम्झन गाह्रो हुन सक्छ । तर कुनै गीतसँग जोडिएको धुन, शब्द र भावनाले घटनाको स्मृतिलाई लामो समयसम्म जीवित राख्न सक्छ ।

‘भविष्य गयो भेलसँगै, स्मृति रह्यो खोँचतिर
बाँचे पनि मरेतुल्य भो, कसरी खै तंग्रिउँला र ?’

जलवायु संकटको एउटा महत्वपूर्ण प्रश्न यही हो—कम जिम्मेवार समुदायले किन बढी क्षति व्यहोर्नुपर्छ ? विकास कसका लागि र कस्तो जोखिममा भइरहेको छ ? विपद्पछि क्षतिको हिसाब गर्ने कि विपद् आउनुअघि नै न्यायपूर्ण र जोखिम–सचेत विकासको बाटो रोज्ने ?

‘ए नदी ए हिमाल’ ले यी प्रश्नको उत्तर दिँदैन । तर संगीतको शक्ति यही हो—उसले कहिलेकाहीँ उत्तरभन्दा शक्तिशाली प्रश्न मानिसको मनमा छोडिदिन्छ ।

गीतले बाढीको शोक मात्र व्यक्त गर्दैन, प्रकृति, विकास र मानवीय जिम्मेवारीमाथि प्रश्न पनि गर्छ । प्रविधि, कला र सामूहिक स्मृतिको दस्तावेजका रूपमा यो गीतले व्यक्तिगत शोक र ऐँठनलाई सार्वजनिक बहसमा रूपान्तरण गर्दै भविष्यका लागि सामूहिक स्मृतिको दस्तावेज तयार गरेको छ ।

गीतमार्फत पन्तले भोटेकोशीको बाढीपछि प्रकृतिलाई जित्ने होइन, बुझ्नुपर्ने पाठ मानिसले सिक्नुपर्ने र प्रकृतिको दोहन गर्नेहरूले समयमै जिम्मेवारीबोध गर्नुपर्ने सन्देश दिएका छन् ।

बाढीले घर, सडक, पुल र संरचना मात्र बगाएन । त्यसले मानिसका वर्षौंका श्रम, परिवारका सपना, जीविकोपार्जनका आधार र भविष्यका योजनासमेत बगायो । यही मानवीय क्षतिको बीचमा आएको ‘ए नदी ए हिमाल’ शोकगीतभन्दा बढी विपत्तिले जन्माएको जलवायु न्यायको सांगीतिक अभिव्यक्ति हो ।

‘हे नदी, हे हिमाल भन
यो कस्तो पागलपन देखायौ ?
कसको कर्तुत थियो अनि कसको थियो रिस ?
अधमरा नेपालीका पोल्टामा किन खन्यायौ ?
घाम लागेको बिहान थियो,
आकाश पनि त नीलै थियो…’

गीत यसरी सुरु हुन्छ । यी शब्दले विपत्तिअघिको सामान्य जीवनलाई देखाउँछन् । मानिसहरू आफ्नै दैनिकीमा थिए । कसैका लागि त्यो काममा जाने दिन थियो, कसैका लागि यात्रा, कसैका लागि परिवारसँग बिताउने सामान्य बिहान । तर केही समयमै आएको बाढीले बस्ती र जीवनको स्वरूप नै बदलिदियो ।

नदीकिनारका बस्ती, बजार, सडक, पुल, निर्माणस्थल र मानिसका वर्षौंका श्रम केही क्षणमै माटो, ढुंगा, पानी र भग्नावशेषको कथा बने । भोटेकोशीबाट त्रिशूली हुँदै नारायणीसम्म बगेको विपत्तिले आफ्नो बाटोमा विध्वंससँगै मानवीय क्षति र बेपत्ताको कहालीलाग्दो कथा छोड्यो ।

‘अचानक तिमी कहाँबाट आयौ,
उर्लेर त्यसरी सर्वस्व बगायौ ।’

यी शब्दले सामान्य प्राकृतिक घटनाभन्दा पर त्यसबाट सिर्जित मानवीय विस्मातलाई अभिव्यक्त गर्छन् । आकाश सामान्य थियो, तर जमिन सामान्य रहेन । बिहान सामान्य थियो, तर केही क्षणपछि जीवन सामान्य रहेन । वर्षौंदेखि मानिसका लागि बाटो, पानी, ऊर्जा, पर्यटन र जीवनको स्रोत बनेको नदी अचानक मृत्युको अकल्पनीय प्रवाह बन्यो ।

त्यसैले गीतकारका शब्द विनाशको कथामा मात्र केन्द्रित छैनन् । उनले प्रेम, स्नेह, सपना र समग्र मानवीय क्षतिको विस्मातलाई समेत लिपिबद्ध गरेका छन् ।

गीतको भावनात्मक केन्द्र यही मानवीय क्षति हो । भोटेकोशी विपत्तिपछि सार्वजनिक भएका मृत्यु र बेपत्ताका विवरणले घटनाको भयावहता देखाउँछन् । नदीकिनारमा घर मात्र थिएनन् । त्यहाँ प्रेम थिए, परिवार थिए, धर्म, संस्कृति र परम्परा थिए । शिक्षाका केन्द्र थिए । ऋण लिएर बनाइएका घर थिए । व्यवसाय थिए । खेती थियो । परिवारको भविष्य थियो । अनि थिए पत्रे चट्टानजस्ता सुन्दर सपनाहरू ।

किशोर–किशोरीका प्रेमिल अनुभूतिदेखि सास धान्न गरिएका दैनिक कर्मसम्मका जीवन त्यहाँ थिए । बाढीले भौतिक संरचना मात्र नष्ट गरेन, सामाजिक र आर्थिक सुरक्षाका आधारसमेत भत्कायो । नदीले विगत र वर्तमान मात्र बगाएन, प्रेम छुटायो, अंकुरित नहुँदै निमोठ्यो, फक्रन नपाउँदै चिमोट्यो र जीवनका कथा माटोमुनि पुर्‍यायो ।

बगरमा आफन्त खोजिरहेकाहरूको पीडालाई गीतका यी हरफले सम्बोधन गर्छन्—

‘लाखौँ सपना थिए ती किनारहरूमा,
टेक्ने लौरा थिए ती खोला बगरमा ।’

पन्तका अनुसार गीतको स्वर र संगीत एआईमार्फत तयार गरिएको हो । यस अर्थमा ‘ए नदी ए हिमाल’ मानवीय पीडाबाट जन्मिएको सिर्जना र कृत्रिम बुद्धिमत्तामा आधारित संगीत प्रविधिको संयोजन पनि बनेको छ ।

यसले एउटा विपत्तिको स्मृतिलाई गीतमा मात्र सीमित नराखी जलवायु न्याय, जिम्मेवार विकास, विपद् जोखिम न्यूनीकरण र मानवीय जिम्मेवारीबारे सार्वजनिक बहसका लागि सांगीतिक दस्तावेजका रूपमा स्थापित गर्ने प्रयास गरेको छ ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !