रोल्पा जिल्लाको स्थापना सम्बन्धी ऐतिहासिक तथ्य

                                                                                 

२०१७ साल पुस १ गते पंचायती ब्यवस्थाको थालनी पछि नेपाललाइ १४ अन्चल र ७५ जिल्लामा विभाजन र सोही अनुसार  गाउँ तथा नगर पंचायत गठन गर्ने क्रममा नयाँ जिल्लाको रुपमा यस रोल्पा जिल्लाको स्थापना भएको थियो

यस जिल्लाको साथै लिबाङ्गमा जिल्ला सदरमुकाम स्थापना कसरी भएको थियो भन्ने कुराको जानकारी दिन सान्दर्भिक देखिएकोले साथै उक्त गतिविधीमा स्वयं पनि प्रत्यक्ष संलग्न रहेकोले सो सम्बन्धी ऐतिहासिक तथ्य प्रस्तुत गर्ने जमर्को गरेको छु ।

तत्कालिन प्यूठान जिल्लाको विकट कालाशेष थुम र बाइसखुवा थुम तथा सल्यान जिल्लाको दार्माकोट थुम र रोल्पाकोट थुम गरी ४ थुम मिसाइ नयाँ जिल्ला स्थापना गर्ने श्री ५ को सरकारको निर्णयअनुसार यस जिल्लाको गठन भयो तर जिल्लाको नाम के राख्ने  तथा सदरमुकाम कहाँ राख्ने भन्ने निर्क्योल नभएको तत्कालिन अवस्थामा सो को छिनाफानो गर्ने जिम्मा तत्कालिन प्यूठान जिल्लाका बडाहाकिम (हालको सि डि ओ को काम बडाहाकिमले गर्दथे) लाइ तोकिएकोले बडाहाकिम रत्न बहादुर गुरुङ्ग २०१८ को बैशाख महिनामा गजुलमा आइ खडानन्द  सुवेदी संग भेट गरि यस सम्बन्धी राय सुझाव लिनुभयो ।

सुवेदीले जिल्लाको नाम रोल्पा र सदरमुकाम लिबाङ्गमा राख्ने सल्लाह दिनुभयो । बडाहाकिमले लिबाङ्ग भन्दा राम्रो ठाउँ गजुल यामिझिङ्ग भएको तर लिबाङ्गमा सदरमुकाम किन राख्ने भनी प्रश्न गर्दा सुवेदीले लिबाङ्गमा अन्यत्र भन्दा प्रशस्त पानी भएको,सरकारी संरचना निर्माण गर्न आवस्यक जग्गा प्रदान गर्न लिबाङ्गनिबासीहरु बढी उत्सुक भएको तथा जिल्लाको केन्द्रको हिसावले पनि अन्यत्र भन्दा लिबाङ्ग नै उपयुक्त हुने, साथै सल्यानबाट कटौती भएको थुम मध्येमा रोल्पाकोट थुमको नामबाटजिल्लाको नाम रोल्पा राख्दा उक्त क्षेत्रका बासिन्दाको भावनापनि समेटिने तर्क दिएपछि बडाहाकिम  जिल्लाको नाम रोल्पा र सदरमुकाम लिबाङ्ग राख्न सहमत भइ सोही अनुसार सिफारिस गरेपछि रोल्पाजिल्लाको निर्माण भएको थियो ।

जिल्ला गठन भएपछि जिल्लालाइ निम्नानुसार विभिन्न ५२गाउँपंचायतमा विभाजन गरियो ।

प्यूठान जिल्ला वाइसखुवा थुमबाट कटौती भइ आएकाबाट (१७ गाउँपंचायत): लिबाङ्ग, धाङ्सी, गजुल, खुमेल, गुम्चाल, सिर्प जोगिथर, सिर्प पाँचथर, अरेश, पाङ्ग, कमलपोखरा, सुनछहरी, उपल्लो गुम्चाल, गाम, सेरम, जेलबाङ्ग, फगामखोला उवा

प्यूठान जिल्ला कालाशेष थुमबाट कटौती भइ आएकाबाट (१९ गाउँपंचायत): रेउघा, कोटगाउँ, जङ्कोट, ढाङ्ढुङ्, मिरुल, थबाङ्ग, राङ्गकोट, पाछाबाङ्ग, रुघा, थुनिकोट, नाफे, भस्माखोर, घर्तिगाउँ, कोर्चाबाङ्ग, राङ्सी, राङ्खुङ्, बाछे, तुक्लाजेदबाङ्ग

सल्यान जिल्ला दार्माकोट थुमबाट कतौती भइ आएकाबाट (गाउँपंचायत): खारा, ढाकाबाङ्ग, पेउघा, दार्माकोट, ल्चौर, कालागाउँ नुवाकोट

सल्यान जिल्ला रोल्पाकोट थुमबाट कतौती भइ आएकाबाट (गाउँपंचायत): थारमारे, कोटमौला, ठूलागाडाकोट, शिवरथ, दमाचौर, जिनावाङ्ग, पाखापानी, आरुवा ओत

यसरी प्यूठान र सल्यान जिल्लाबाट कटौती गरिएका ४ थुमबाट रोल्पा जिल्ला बन्यो र सदरमुकाम लिबाङ्गमा राख्ने तय पनिभयो । त्यतिखेर लिबाङ्गमा कुनै पनि सरकारी कार्यालय नभए तापनि माडीचौरमा स्वीकृत भइ आएको एउटा प्रहरी चौकी औलो लाग्ने डरले त्यहाँ नबसि लिबाङ्गका धनी पुनाराम आचार्यको सहयोगमा लिबाङ्गमा बसेको थियो ।

यसैगरी रेउघाको हुलाक पनि लिबाङ्गमै सारिएको थियो । यसै क्रममा रोल्पा जिल्ला पंचायतका लागि पिडिओ को रुपमा खटिइ आएका चन्द्रभुवन कर्ण २०१९ साल भाद्र महिनामा आइ सल्यान गौंडामा बसे । त्यहाँ १ जना लेखापाल दुर्गा बहादुर रावतलाइ नियुक्त गरि लिबाङ्ग आउने तयारी गरिरहेकै समयमा सो कुरा हामीले थाहा पाइ म र चक्रदेव आचार्य २ जना प्यूठानमा शिक्षक तालिमको लागि जान  सिफारिस लिनका लागि २०१९ भाद्र १४ गते सल्यान पुग्यौं र १५ गते नर्मल स्कुल प्यूठानको लागि सिफारिस पत्र बनाउन लगायौं ।

नीजले सिफारिस पत्र हामीलाइ थमाउदै घर्तिगाउँका ओसे घर्तीलाइ भनेर ४ जना भरिया पठाइदिन मलाइ जिम्मा समेत दिए । सोही अनुसार नीज पिडिओ कर्णलाइ लिबाङ्गसम्म पुराउनको लागि ओसे घर्तीसंग समन्वय गरि ४ जना भरिया पठाइयो । नीज पिडिओ लिबाङ्ग आइ तत्कालिन अवस्थामा हाल टोप बहादुर केसीको घर रहेको स्थान (हाल लोकतान्त्रिक चोक) मा रहेको पुनाराम आचार्यले निर्माण गरेको ६ कोठे बिद्यालय भवनको एउटा कोठामा कार्यालय संचालन गरि सुदर्शन आचार्यको घरमा डेरा लिएर बस्न थाले ।  

७ महिना एनकेन त्यसरी नै चलेपछि सुदर्शन आचार्यले ८ कोठा भएको अर्को भवन निर्माण गर्नु भयो । हाल पिपलचौतारा स्थित बोर्डिङ्ग स्कूल रहेको स्थानमा निर्माण गरिएको आचार्यको सो भवनमा २०१९ साल मंसिर मसान्ततिर जिल्ला पंचायत कार्यालय सरी संचालन हुनथाल्यो । सुदर्शन आचार्यले सो घरजग्गा पछि बालकल्याण माध्यमिक बिद्यालयलाइ दानपत्र गरिदिनुभयो । पछि उक्त घरजग्गा विक्रि गरि हाल बा. क. मा. वि. रहेको स्थानको केही जग्गा खरीद गरिएको हो ।

२०१८ सालमा गाउँपंचायत र २०१९ सालमा सम्पन्न जिल्ला पंचायतको निर्बाचनबाट रोल्पा जिल्लाको प्रथम सभापतिको रुपमा नारायण प्रसाद चन्द र उपसभापतिमा बालाराम घर्तिमगर २ बर्षका लागि निर्बाचित भएका थिए । पछि रापंसमा निर्बाचित भए ता पनि सभापति र उपसभापति उनीहरु नै थिए । त्यस बेलाको अवस्था त्यस्तै थियो । २०२१ सालमा खडानन्द सुबेदी रोल्पा जिल्लाको सभापतिमा निर्बाचित भए । जिल्ला पंचायत भवन हालको जिल्ला समन्वय समिति उनकै पालामा निर्माण भएको हो ।

उक्त जिल्ला पंचायत भवन बनाउनको लागि जिल्ला पंचायतको निर्णय अनुसार देवीडाँडा  (हाल ब्यारेक रहेको स्थान) छनौट गरि पानीको लागि कुलो निर्माण र घडेरी समेत तयार गरि भवन शिलान्यासको लागि अंचलाधिस सत्यनारायण झालाइ त्यहाँ लैजाँदा सो ठाउँ उनलाइ उपयुक्त नलागेकोले शिलान्यास गर्न इन्कार गरे ।

शिलान्यास नगरि फर्केर आउदा माथिबाट हाल जिसस रहेको स्थान देखाउदै सो ठाउँ उपयुक्त रहेको अंचलाधिसले बताएपछि उक्त स्थान खरिदको लागि हामीहरुले प्रकृया थाल्यौं । त्यसै रात हाम्रो बैठक भयो र उक्त जग्गाका धनी दीर्घराज सेनसँग मोलमोलाइ भइ रु २,२०० मा खरिद गर्ने सहमति भयो । सो रकम चुक्ता गर्न निम्न बमोजिमका ब्यक्तिहरुबाट निम्नअनुसारको रकम उठाउने निर्णय गरियो ।

खडानन्द सुबेदी, गजुल:  रु ३००, ओविलाल सुबेदी, गजुल: रु ३००,   ताराप्रसाद आचार्य, लिबाङ्ग:  रु ३००,   सुदर्शन आचार्य, लिबाङ्ग:  रु ३०० ,    चिन्तामणि आचार्य, लिबाङ्ग: रु २००,  गजाधर आचार्य, लिबाङ्ग: रु २००,  हरिहर आचार्य,लिबाङ्ग: रु २००, भिमकान्त आचार्य, लिबाङ्ग: रु २००, एकदेव आचार्य, लिबाङ्ग:  रु २००

तर उक्त रकम सोही रात उपलब्ध गराउन कोही कसैसंग नभएकोले १५ दिनभित्र बुझाउने गरि जग्गा धनी दीर्घराज सेनसंग भाका गरि उनीबाट जग्गा किनेको राजिनामा गराइयो साथै अंचलाधिसका सामुन्ने पैसा बुझेको भन्न लगाइ भोलिपल्ट विहान  शिलान्यास गराउन सफल भयौं । यसबाट त्यस समयमा १०० रुपैयाको महत्व कति  थियो भन्ने स्पष्ट हुन्छ ।

यसपछि पनि भवन निर्माण गर्न सजिलो भने भएन । विभिन्न बाधा अवरोध आइपरे । रापंस नारायण प्रसाद चन्दले नै भवन निर्माण कार्य रोके । पछि सभापति खडानन्द सुबेदी र रेग बहादुर सुबेदी काठमाण्डौ गइ फुकुवा गराएपछि २०२३ साल असारमा मात्र भवन निर्माण सम्पन्न भयो ।क्त समयमा कामु  पिडिओ टंकनाथपथिक थिए । उक्त भवन निर्माणमा हेड मिस्त्रीको रुपमा प्यूठान गोठिबाङ्ग निबासी गंगाराम घर्तिको महत्वपूर्ण भूमिका रहेको थियो । भवन निर्माण पश्चात जिल्ला पंचायत कार्यालयको संचालन सोही भवनबाट हुनथाल्यो जुन आजसम्म पनि निरन्तर छ ।

त्यस पछि पनि सदरमुकाम अन्यत्र सार्नुपर्छ भन्ने बहस चलि नै रहन्थ्यो । अन्यत्र सर्छ की भन्ने आशंका हामीहरुलाइ पनि थियो । त्यसैले केही जग्गा सरकारको नाममा ल्याउने हाम्रो सल्लाह भयो र आर्थिक संकलनमा जुट्यौं । सदरमुकाम नजिकका १२ गाउँपंचायतबाट रु १००० का दरले जम्मा रु १२,००० उठाउने तय गरिए अनुसार रकम उठाउन विभिन्न ब्यक्तिहरुलाइ जिम्मा दिइएको थियो भिमकान्त आचार्य र मलाइ तुक्ला गाउँपंचायत जिम्मा पर्यो । लिबाङ्ग, कोटगाउँ, तुक्ला, जेदबाङ्ग, धाङसी,गजुल, मिझिङ्ग, खुमेल, जंकोट, फगामखोला, अरेश र कमलेपोखरा गाउँपंचायतले निर्धारित रकम सहयोग उपलब्ध गराएका थिए ।

यसरी उठाइएको १२,००० रुपैया मध्ये १०,००० रुपैयाले हाल दुरसंचार कार्यालय रहेको घरजग्गा पुनाराम आचार्यबाट जिल्ला पंचायतको नाममा खरिद गरियो । दुरसंचार कार्यालयको लागि भनेर हालको टुडिखेल रहेको जग्गा अधिग्रहण गरिएको थियो । भबिष्यलाइ समेत मध्यनजर गर्दा खुल्ला स्थानका लागि दुर संचार कार्यालयका लागि खरिद गरिएको उक्त जग्गा उपयुक्त हुने देखि खरिद गरिएको जग्गा दुरसंचार कार्यालय लाइ दिएर हाल टुडिखेल रहेको जग्गासंग सट्टापट्टा गरियो ।

यसैगरि बाकी रहेको रु २,००० बाट हाल जिल्ला प्रहरी कार्यालय रहेको जग्गा दलजित दमाइसंग किनियो । तत्पश्चात विभिन्न कार्यालयहरु थप हुदै गए । आबस्यकता अनुसार बार्तावाट जग्गा खरिद गर्दै कार्यालय भबनहरु बन्दै गए । लिबाङ्गबासीबाट कुनैपनि कार्यालय भवनको लागि आवस्यक पर्ने जग्गा सहजताका साथ उपलब्ध भयो कुनै बाधा अबरोध गरिएन ।

२०३३ सालमा पुन: जिल्लाको भूगोल हेरफेर गरियो । जिल्लाका केहि गाउँपंचायतहरु अन्य जिल्लामा गए भने अन्य जिल्लाका केही गाउँपंचायतहरु यस जिल्लामा थपिए । जुन निम्नानुसार थिए ।

साविक रोल्पा जिल्लाबाट कतौटि भइ रुकुम जिल्लामा परेका गाउँपंचायतहरु:

रुघा, खारा पेउघा

साविक रोल्पा जिल्लाबाट कटौती भइ सल्यान जिल्लामा परेका गाउँपंचायतहरु:

दार्माकोट, ढाकाडाम, भल्चौर, कालागाउँ, थारमारे, कोटमौला,ठुलागाडाकोट, शिवरथ नुवाकोट

साविक प्यूठान जिल्लाबाट कटौती भइ यस जिल्लामा परेका गाउँपंचायतहरु:

जौलिपोखरी, घोडागाउँ, खुङ्ग्री मसिना

साविक सल्यान जिल्लाबाट कटौती भइ यस जिल्लामा परेका गाउँ पंचायतहरु:

बुढागाउँ, जुगार, गैरीगाउँ, नुवागाउँ, झेनाम, डुब्रिङ्ग, सखिदुबिडाँडा

यति मात्र होइन जिल्ला भित्रैका निम्नानुसारका केही गाउँपंचायतहरुको विभाजन तथा केहीको नाम संशोधन गरिएका थिए ।

फगामखोला गापं विभाजन गरि फगाम र जैमाकसला गापं बनाइयो,
सुनछहरी गापं विभाजन गरि स्यूरी र हार्जङ्ग गापं बनाइयो,
राङ्सी र राङ्खुङ् गापं मिलाएर राङ्सी गापं बनाइयो,
उपल्लो गुम्चालको नाम संशोधन गरि गुम्चाल गापं बनाइयो,
ढाङ्ढुङ गापंको नाम संशोधन गरि कुरेली गापं बनाइयो,
नाफे र थुनिकोट मिसाएर इरिबाङ्ग बनाइयो,
सिर्प जोगिथर र सिर्प पाँचखाइ मिसाएर सिर्प गापं बनाइयो

यसैगरि आरुवालाइ राँक, बाछेलाइ भावाङ्ग, भस्माखोरलाइ तालाबाङ्ग, कमलेपोखरालाइ बडाचौर तथा तुक्लालाइ करेटी नयाँ नामाकरण  गरियो ।

यसका साथै जिल्ला भित्र आन्तरिक रुपमा मिलाइ केही गापं कटौती तथा केही नयाँ गापं सिर्जना समेत गरिए । यसरी थप गरिएका गापंमा ह्वामा र तेबाङ्ग गापं हुन् भने कटौतीमा पर्नेमा रेउघा, नाफे, राङ्खुङ् र सिर्प जोगिथर थिए । नाफे इरिबाङ्गमा र राङ्खुङ् राङ्सीमा मिसाइएका थिए ।

२०१७ पछि बनेको रोल्पा जिल्लाले विभिन्न आरोह अवरोह पार गर्दै नयाँ संघिय संरचना अनुसार हाल एक नगरपालिका र ९ गाउँपालिका गरि १० पालिका को संरचनागत रुपमा रहेको छ ।

यसरी रोल्पा जिल्लाको निर्माण गर्ने क्रममा लिबाङ्गबासीहरुलेआ आफ्नो तर्फबाट सक्दो योगदान गर्नुका साथै तत्कालिन बडाहाकिम रत्न बहादुर गुरुङ्ग, गजुल निवासी  समाजसेवी द्वय खडानन्द सुवेदी र ओविलाल सुवेदी, घर्तिगाउँ निवासी समाजसेवी ओसे घर्तिमगर तथा लिबाङ्ग निवासी समाजसेवीहरु पुनाराम आचार्य, दीर्घराज सेन र सुदर्शन आचार्यको विशेष योगदान रहेको देखिन्छ ।

 

 

यससंगै जिल्लाको शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण शुरुवात भएको थियो । सुदर्शन आचार्यबाट निशुल्क घर जग्गा प्राप्त भइ लिबाङ्गमा स्थापना गरिएको बाल कल्याण माध्यमिक बिद्यालय संचालनको स्वीकृतिका लागि २०२३ सालमा तत्कालिन राष्ट्रिय पंचायत सदस्य बालाराम घर्तिमगरले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । यसैगरि उहाँकै पहलमा उक्त विद्यालयको भवन निर्माणका लागि ७५ हजार रुपैया सरकारबाट उपलब्ध भएको थियो ।

बिद्यालय स्थापना तथा संचालनमा पहिलो विद्यालय संचालक समितिका पदाधिकारीहरुको महत्वपूर्ण योगदान रहेको थियो । पहिलो अध्यक्ष गजुल निबासी खडानन्द सुवेदीका अतिरिक्त सदस्यहरु गजुल निबासी ओविलाल सुवेदी तथा लिबाङ्ग निबासी एकदेब आचार्य, भिमकान्त आचार्य, गजाधर आचार्य साथै विद्यालय संचालक समितिका पदेन सदस्य तथा  पहिलो र दोस्रो प्रधानाध्यापकहरु क्रमश कबीराज पंडित र खेमराज पंडितयसैगरी २०२३ देखि २०३२ सम्म सदस्य सचिवको रुपमा कार्य गर्ने लिबाङ्ग निवासी चिन्तामणि आचार्यले निर्बाह गर्नु भएको भूमिका रोल्पा जिल्लाको शैक्षिक क्षेत्रमा स्मरणिय रहेको छ  ।

सम्बन्धित समाचार

नयाँ जिल्लाको रुपमा रोल्पा निर्माण गर्दा

रोल्पाको प्रकाशन इतिहासमाथि सिंहावलोकन