५ जेष्ठ २०८१, शनिबार

नख्खु क्षेत्र वर्डफ्लुमुक्त, देशैभरका संक्रमति क्षेत्र निसंंक्रमित घोषणा

प्रकाशित मिति :  30 March, 2021 7:19 am


समाचार प्रतिनिधि फाेटाे ।

-लक्ष्मी ज्ञवाली-

काठमाडौं ।

माघमहिनादेखि देशका विभिन्न स्थानमा देखिएको पंक्षीजन्य उत्पादनमा लाग्ने वर्डफ्लु रोग नियन्त्रमा लिइएको सरकारले जनाएको छ ।

माघयता संक्रमित क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ वट्टाई, ९४४ गोटा अण्डा र ३३५ किलो दाना नष्ट गरी रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतकाे पशु सेवा विभागले पछिल्लो समयमा ललितपुर महानगरपालिका वडा नं. १४ नख्खुमा कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा देखिएको वर्डफ्लु संक्रमित क्षेत्र निसंक्रमित भएको घोषणा गरेको छ ।

सो क्षेत्रमा संकलन गरिएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा मिति चैत १३ गते निदान भएको पशु सेवा विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“गत माघ महिना देखि काठमाण्डौं, सुखेंत र जाजरकोटमा पन्छीमा देखापरेको बर्ड फ्लु रोग तत्काल नियन्त्रण गरी सो क्षेत्र लगायत देशका अन्य स्थानमा बर्ड फ्लु रोगको सघन निगरानी (सर्भिलेन्स) कार्यलाई नियमित रुपमा सशालन गरिदै आएको छ,” सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “रोगको निगरानीको क्रममा देशका विभिन्न स्थानबाट नमूना संकलन गरी तत्काल परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइएको छ।”

बर्ड फ्लू रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहको निकायहरुको परिचालन गरिएको जनाइएको छ।

रोग नियन्त्रणका क्रममा पशुसेवा विभाग, बाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुर र ललितपुर महानगरपालिका लगायतका निकायहरुको समन्वयात्मक परिचालन गरी रोग देखिएको तथा संभावित फैलन सक्ने क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरिएको विभागले जनाएको छ ।

रोगको सघन निगरानीमा सहयोग गरी रोग देखा परेको अवस्थामा तत्काल नियन्त्रण लिने कार्यमा सक्रियतापूर्वक सहयोग गर्न सम्पूर्ण कृपक, व्यवसायी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, संचारकर्मी लगायत सम्पूर्ण सरोकारबालाहरूलाई विभागले धन्यवाद ज्ञापन गरेको छ । विभागले जैविक सुरक्षाका उपाय भने अपनाउन भनेको छ ।



प्रतिक्रिया दिनुहोस !