१६ चैत्र २०८०, शुक्रबार

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

प्रकाशित मिति :  2 December, 2021 12:15 pm


हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ ।

चिसो मौसम सुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका हुन्। चिसोको समयमा बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडाको बढी खपत हुने गर्छ ।

सिमकोटस्थित पसलमा बाक्लो कपडाको बिक्रीसमेत बढेको छ । चिसोको समय सुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । चिसो याम सुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस !