७ बैशाख २०८१, शुक्रबार

भूत बंगला बनेका अध्ययन केन्द्र, लथालिङ्ग विश्वविद्यालय

प्रकाशित मिति :  23 February, 2020 8:04 pm


———–विष्णु अधिकारी————

पश्चिमा जगतको तुलनामा (हाम्रा दुई छिमेकी देशहरूको तुलनामा पनि) विश्वविद्यालयको निकै छोटो रहेको हाम्रो देशमा खाश गरेर त्रिभुवन विश्वविद्यालय जुन नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय हो र यसलाई नेपाल सरकारले बि.सं. २०६९ सालमा नेपालको केन्द्रीय विश्वविद्यालय घोषणा गरेको छ । यो पृष्ठभूमिमा विश्वविद्यालयलाई देशको बलियो सस्थाको रुपमा बिकास गर्नको लागि अझ बढि बहस हुनुपर्छ।

विश्वविद्यालय किन जाने ?

ज्ञानको उत्पादन खोजी र विकास विश्वविद्यालयभन्दा बाहिर पनि हुन्छ र हुँदै आइरहेको पनि छ । तर कुनै पनि व्यक्तिले आफ्नाे ज्ञानलाई उन्नत र समृद्ध बनाउने हो भने हामी यो कुरालाई स्वीकार गर्न बाध्य हुन्छौ कि वर्तमान समयमा मानव सभ्यतालाई अगाडि बढाइरहेको गाडीको इन्जिन यिनै विश्वविद्यालयहरू नै हुन । पछिल्लो केही सय वर्षहरूमा मानव सभ्यताले गरेका ठुलाठुला वैज्ञानिक र दार्शनिक विकासको इतिहास विश्वविद्यालयसँग जोडिएको छ ।

विश्वविद्यालयमा विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरू (जसले भविष्यमा विभिन्न महत्वपूर्ण स्थानहरूमा रहेर काम गर्ने हुन) साथै विश्वविद्यालयका विशिष्ट प्रध्यापकहरूसँग भेट र अन्तक्र्रिया हुन्छ जसबाट एउटा नेटवर्क निर्माण हुन्छ र त्यो नेटवर्कले दीर्घकालसम्म ज्ञानको अभिवृद्धि र समयानुसार अपडेट गर्न सहयोग गर्छ नै साथमा अनुभवको आददान प्रदान त छँदै छ । विश्वविद्यालयमा आफ्नाे ज्ञानसँग सम्बन्धित सूक्ष्म प्राविधिक र व्यवस्थापकीय ज्ञान लिइन्छ । जस्तो सूचना कसरी प्राप्त गर्ने, छान्ने, व्याख्या गर्ने र प्रस्तुत गर्नेदेखि निश्चित तोकिएको समयमा आफ्नाे काम कसरी पुरा गर्ने र आफ्नाे कामप्रति कसरी जिम्मेवार बन्ने आदि यसरी विश्वविद्यालयको एउटा व्यक्तिमा सक्षमता विकास गर्छ । यति हुँदाहुँदै पनि फेरी विश्वविद्यालय भनेको एउटा सर्टिफिकट लिन जाने ठाउँ मात्र होइन ।

पूँजीवादी बजारमा सजिलै विकाउ हुने फगत एउटा माल भएर निस्किन जाने पनि त होइन । यो त समाजमा अस्तित्ववान विविधताको पहिचान गर्ने र स्वयं आफ्नै जीवनको मूल्यलाई बोध गर्नुका साथै समग्र र समाज र समाजको भविष्यसँग जोडिएर चिन्तन गर्ने ध्येयकासाथ जाने पनि होला । यहाँ उठ्नुपर्ने सवाल चाहिँ के हो भन्दा त्रिविमा पढ्न आएको एउटा विद्यार्थीले अध्ययन सकाएर निस्किँदाको समयसम्म एउटा विद्यार्थीले माथि उल्लेखित कुराहरू आफूमा कति विकास ग¥यो अथवा गरियो भन्ने कुराको जवाफ कसरी दिन्छ ?

प्राज्ञिक वातावरण छ त ?

त्रिवि अन्तर्गत ३८ वटा विभागहरू छन् । ५ वटा अध्ययन प्रतिष्ठान छन् । अब हिसाब गर्नुपर्छ । ती सबै विभाग र अध्ययन प्रतिष्ठानले वर्षभरी के के काम गरे त ? र उत्तर पनि सजिलै आउँछ । एक दुई विभागले बाहेक अन्य विभागले नियमित कक्षा सञ्चालन बाहेक केही गर्न सकेनन् र कक्षाको समय तालिका छाप्नेभन्दा धेरै केही पनि प्रकाशन गरेनन् ।

विश्वविद्यालयबाट गरिने न्युनतम् अपेक्षा नै प्राज्ञिक गतिविधि हो । एउटा सोझो हिसाब गरौ; यदि त्रिविका लगभग ८००० शिक्षकले वर्षमा एक पटक कम्तिमा एउटा अनुसन्धानमा आधारित आर्टिकल, लेख, रचना प्रकाशित गरे भने पनि वर्षमा ८००० आर्टिकल तयार हुन्छन् । एउटा आर्टिकलको औसत आकार ४ देखि ७ हजार शब्दसम्मको हुन्छ भन्ने आधारलाई मान्दा एउटा जर्नलमा १० वटासम्म आर्टिकल राख्दा पनि वर्षमा ८०० जर्नललाई पुग्ने कन्टेन्ट उत्पादन हुँदो रहेछ । अझ त्यसमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहका शोधपत्रलाई पनि समावेश गर्ने हो भने त यो सङ्ख्या निकै माथि पुग्ने थियो ।

कुनै पनि विभागले नियमित रूपमा अनुसन्धानमूलक जर्नल निकालेका छैनन् र अरु सामग्रीहरू पनि प्रकाशित गरेका छैनन् । त्रिविबाट प्रकाशित हुने यस्तो कुनै जर्नल छैन जसले अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठा पाएको होस् । जर्नल नै नियमित रूपमा प्रकाशित नभए पछि त्यसको गुणस्तरको सवालमा प्रश्न उठ्दैन त्यो अवश्यमेव हेयकर नै हुन्छ । सम्पादकहरू कस्ता छन् ? कस्तो सम्पादनीय प्रक्रिया अपनाइन्छ आदिको बारेमा छलफल गर्ने प्रश्न नै रहेन । अनुसन्धान गर्ने केही प्रध्यापकहरूले चाहिँ विश्वविद्यालयभन्दा बाहिरका अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गर्ने गरेको पाइन्छ तर आफ्नै विभागभित्र ‘पिर रिभ्युड’ जर्नल नियमित रूपमा प्रकाशनको लागि प्रयत्न गरेको चाहिँ देखिँदैन ।
अब कुरा गरौ कतिवटा विभागले आप्mनो विभागसँग सम्बन्धित विषयहरूमाथि छलफल कार्यक्रम गरे ? कति कन्फेरेन्स गरे ? र समकालीन विषयहरूमाथि आप्mनो विषयको दृष्टिकोण सहित बहसको उठान गर्ने काम कति गरे ?

रिसर्च सेन्टरहरू र पुस्तकालयको अवस्था

त्रिविका अनुसन्धान केन्द्रहरूमा गयो भने विरक्त लाग्छ । यहीँ दिशामा जाने हो भने यी भव्य संरचनाहरूलाई भूत बंगला बन्नबाट कसैले रोक्न सक्दैन । नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास), आर्थिक विकास र प्रशासन केन्द्र (सेडा), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), र व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) गरी त्रिवि अन्तर्गत ४ वटा अनुसन्धान केन्द्र छन् । यी सबै विशुद्ध अध्ययन र अनुसन्धानकै लागि भनेर स्थापना भएका हुन । अहिले यी ४ वटै अध्ययन संस्थाहरू शिथिल अवस्थामा छन् । कुनै समय सरकारले करोडौं खर्च गरेर खडा गरिएका भौतिक संरचनाहरू पनि राम्रोसँग व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेका छन् । उदाहरणका लागि सेडालाई नै हेरे पुग्छ । कुनै समय देशको बजेट निर्माण गर्ने बेलामा यहाँ छलफल हुन्थ्यो । पञ्चवर्षीय योजना निर्माण गर्नको लागि महत्वपूर्ण सुझावहरू लिइन्थ्यो तर अहिले जम्मा तीन जना अनुसन्धान कर्ताको दरबन्दी छ र तिनीहरू पनि काम नपाएर त्यत्तिकै बसिरहेका छन् ।

विगत तीन वर्षदेखि सेडाले आफ्नाे जर्नल निकाल्न सकेको छैन् र अहिले यस अध्ययन केन्द्रअन्तर्गत कुनै पनि अनुसन्धानको कार्यक्रम छैन । स्मरण रहोस् सेडा बिम्स्टेक थिङ्क ट्याङ्कको सदस्य हो । सबै अनुसन्धान केन्द्रहरूले गर्ने एउटै गुनासो के हो भने अनुसन्धान गर्नको लागि बजेट नै छैन तर उनीहरूले यो भुल्दछन् कि उनीहरूको नियुक्ति नै अनुसन्धान गर्नकै लागि गरिएको हो र खाइपाई आएको तलबबाट अरु कुनै काम गर्नु पर्दैन । अर्थात् उनीहरूको आधारभूत जिम्मेवारी भनेकै अनुसन्धान गर्नु हो ।

विश्वका उत्कृष्ट विश्वविद्यालयसँग जोडिएर आउने महत्वपूर्ण अङ्ग भनेको पुस्तकालय हो र विश्वका धेरै जसो विश्वविद्यालयहरूले आफ्नाे विश्वविद्यालयको पुस्तकालयलाई विशेष महत्व दिएका हुन्छन् । विश्वविद्यालयभित्र ज्ञान उत्पादनको परम्परासँग पुस्तकालयको विशिष्ट सम्बन्ध हुन्छ । विश्वकै सुन्दर र व्यवस्थित पुस्ततकालयहरू विश्वविद्यालयकै छन् । यी पुस्तकालयहरू कामकाजी विद्यार्थीका लागि भनेर रातीसम्म खुला राखिन्छन् तर त्रिविमा यस्तो खालको पुस्तकालयको अपेक्षा अहिलेसम्म केवल कल्पनामा मात्र हो । ५ बज्दानबज्दै त्रिवि केन्द्रीय पुस्तकालय बन्द भैसक्छ । अन्य विभागीय पुस्कालय त मन लाग्दा खुल्छन् मन लाग्दा बन्द हुन्छन् । डिजिटाइजेसन, चुस्तदुरुस्त सेवा प्रवाह, भएका पुस्तकहरूको सही व्यवस्थापन जस्ता व्यवस्थापनीय पक्षका कुरै नगरौ । ऐतिहासिक पुस्तकहरूको कुनै संरक्षण छैन । विगत दुई वर्षदेखि कुनै पनि नयाँ पुस्तक पुस्तकालयमा आएको छैन । यसैबाट थाहा हुन्छ कि त्रिवि पुस्तकालय व्यवस्थापनमा कति उदासीन छ भनेर । जबसम्म पुस्तकालय व्यवस्थित हुदैन, पुस्तकालय आधुनिक बन्न सक्दैन तबसम्म यसको विकास सम्भव छैन ।

विश्वविद्यालयः नवउदारवादको केन्द्र बन्दै ?

नेपालमा काठमाडौँ विश्वविद्यालयभन्दा बाहेक अरु सबै विश्वविद्यालयहरू सरकारी विश्वविद्यालयहरू हुन । यसबाट के देखिन्छ भने राज्यको लगानी मै विश्वविद्यालयहरू चलेका छन् । तर त्रिविको पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने वास्तवमै केही सोच्नुपर्ने देखिन्छ । जनप्रकाशन गृहबाट प्रकाशित ‘शिक्षा र नवाउदारवाद’ पुस्तकको भूमिकामा उल्लेख भएअनुसार , त्रिविको कूल बजेटमध्ये अहिले नेपाल सरकारले जम्मा ४० प्रतिशत मात्र बेहोर्छ । त्यसो भए त्रिविले बाँकी ६० प्रतिशत बजेट कहाँबाट ल्याउँछ त ? विद्यार्थीबाट असुल्ने शुल्क त कूल बजेटको १० प्रतिशतमात्र हो । अरु के के आर्थिक स्रोत छन् त त्रिविका ? यहाँ बुझ्नु पर्ने कुरा के छ भने बाँकी ५० प्रतिशत बजेट बराबरको पैसा त्रिविले विश्व बैंक, युएनडिपी, लगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जस्ता निकायहरूबाट अनुदानको रूपमा लिने गर्छ । जब कि कुनै समय त्रिविको कूल बजेटमा ८० प्रतिशतभन्दा बढी राज्यको योगदान हुन्थ्यो । अहिले सरकारले बेहोर्ने ४० प्रतिशत बजेट पनि लगभग शिक्षक र कर्मचारीलाई तलब खुवाउन मिल्ने जति नै छ । जो जो दातृनिकायले त्रिविमाथि लगानी गरिरहेका छन् । तिनीहरूले पनि राजनैतिक रूपले महत्वपूर्ण क्षेत्रमा खर्च गरिरहेका छन् । जस्तो पाठ्यक्रम निर्माण, पुनरावललोकन, नीति निर्माण आदि जसको समग्र शिक्षा क्षेत्रको भविष्यमा नै महत्वपूर्ण प्रभाव रहनेछ ।

के त्रिविका दातृसंस्थाहरूको नियत त्रिविको शैक्षिक अवस्थालाई सुधार गर्ने नै छ त ? यसलाई त अवश्य पनि आलोचनात्मक चेतसहित हेर्नुपर्ने हुन्छ । विगत एक दशकको अवधिमा त्रिविले लिएका विभिन्न नीतिगत निर्णयहरू, विद्यार्थीले थेग्नै नसक्नेगरी गरिएको शुल्क वृद्धि, उचित र सर्वसुलभ विकल्पहरूको बारेमा सोँच्दै नसोँची गरिएको प्रमाणपत्र तह विस्थापन, केही क्याम्पसलाई त्रिविबाट बाहिर लैजाने विषय, योजना विहीन रूपमा लागु गरिएको सेमेस्टर प्रणाली, तथा निजी शैक्षिक कार्यक्रमहरू आदिका बारेमा जसरी तिनीहरूले अडान लिए यसबाट सङ्केत मिल्छ कि यिनीहरू त्रिविमा निजीकरणलाई स्थापित गर्दैछन् । वास्तवमा नवउदारवादले गर्ने भनेको नै राज्यको लगानीमा चलिरहेका संस्थाहरूलाई असफल बनाउने र विस्तारैै निजीकरण गर्दै पूँजीवादलाई ढोका खोलिदिने हो ।

त्रिविअन्तर्गत केही विभाग तथा अनुसन्धान केन्द्रहरूले केही शैक्षिक कार्यक्रमहरू निजी स्तरबाट सञ्चालन गरिरहेका छन् । व्यवस्थापन संकायअन्तर्गत एम्.बि.एस्., एम्.बि.एम्. तथा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति, शान्ति; द्वन्द्व र विकास व्यवस्थापन, सिनासको भवनमा चलिरहेको सामाजिक कार्य आदि विषयहरू निजी स्तरमा चलिरहेका अध्ययन अनुसन्धान कार्यक्रमहरू हुन । सरकारी विश्वविद्यालयअन्र्तगत केन्द्रीय विभागहरूले नै यसरी निजी कलेजले जस्तोगरी चर्काे शुल्क असुलेर पढाउनु के ठीक छ ? यसरी त्रिविभित्रै पैसा तिर्न सक्ने र नसक्नेलाई लक्षितगरी अध्यापन गराइन्छ भने यो कुरा त प्रष्ट नै भयो कि त्रिविको शिक्षाले नेपाली समाजमा दुईवटा वर्गबीच असमानताको ठूलो पर्खाल बनाउन मद्दत गरिरहेको छ । यसरी दुई किसिमको जनशक्ति उत्पादन गर्ने काम कमसेकम त्रिविभित्र हुनुहुँदैन भन्ने पंक्तिकारको मत हो जसले त्रिविभित्रै त्रिविद्वारा पैसा तिर्न नसक्नेलाई प्रदान गरिएको शिक्षा आर्जन गरिरहेको छ ।

१२ सयभन्दा बढी क्याम्पसहरूलाई सम्बन्धन दिइसकेको त्रिविमाथि गम्भिर प्रश्न यो उठ्छ कि, ‘यही अनुपातमा आङ्गिक क्याम्पसहरू नथपि किन निजी क्याम्पसहरुलाई मात्र सम्बन्धन बाढाइरहियोे र चालु ६० वटा आङ्गिक क्याम्पसहरूको भौतिक र शैक्षिक स्तरोन्नती नगरी त्रिविभित्र तुलनात्मक रूपमा सफल मानिएका चिकित्सा तथा इन्जिनियरिङ् अध्ययन संस्थानहरुअन्तर्गत समयानुसार क्याम्पसहरू थप्ने अनि विस्तार गर्ने कदम किन चालिएन ?’ यसबाट यो प्रष्ट हुन्छ कि कसरी निजी क्षेत्रले त्रिवि पदाधिकारी र प्रशासनलाई आप्mनो प्रभावमा जकडेकोे छ ।
त्रिविले विभिन्न चरणहरूमा सेमेस्टर प्रणाली लागु ग¥यो । सन् २०१४ मा परिक्षण स्वरूप केन्द्रीय क्याम्पसमा, त्यसपछि मध्यावधि चरणमा उपत्यकाभित्रका क्याम्पसमा, र अन्तिममा देशैभरिका आङ्गिक क्याम्पसमा तर त्रिवि सेमेस्टरका न्युनतम् मानदण्ड सहितको क्यालेन्डर लागु गर्न कति सफल भयो त ? परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशनको समयतालिका कस्तो रह्यो ?

समग्रमा सेमेस्टरको सफलता र असफलता कस्तो रह्यो भन्दा पूर्णतः असफलताको दिशामा गतिवान छ भन्नु अतिशयोक्ति हुँदैन । किनकी यसको गतिलो उदाहरणका रूपमा केन्द्रीय क्याम्पसमा सञ्चालित सेमेस्टरको तेस्रो ब्याचलाई मास्टर सक्न लागेको साढे तीन वर्षलाई लिन सकिन्छ । अझ आङ्गिक क्याम्पसमा सेमेस्टर प्रणालीको वस्तुस्थिति के छ भन्ने कुरालाई नजिकबाट नियाँल्नेहरूले वार्षिक प्रणालीभन्दा तात्विक रूपमा खासै फरक नभएको नजीर प्रस्तुत गर्छन् । नत त्रिविले त्यो अनुसार पढाउने जनशक्ति नै तयार गरेको छ नत विद्यार्थीको अपेक्षा नै त्यो रहन्छ । अब त्रिविले निर्मम रूपमा समीक्षा गर्नुपर्छ । कि सेमेस्टर प्रणाली कति सफल भयो कति असफल ? सेमेस्टर प्रणाली त्रिविको शैक्षिक गुणस्तरलाई सुधार गर्न पूर्व तयारीका साथ लागु गरिएको थियो कि दाताहरूले अनुदान रोक्लान भन्ने डरको कारण ?

माथिका वस्तुगत तथ्यका आधारमा त्रिविभित्र नदेखिदो रूपमा निजीकरण प्रक्रिया कसरी अगाडि बढिरहेको छ र त्रिविलाई असफल बनाइदै छ भन्ने कुरा स्पष्ट रूपमा देख्न सकिन्छ ।

अन्त्यमा

अहिले त्रिविलाई कर्मचारिहरुले र कर्मचारी मनोविज्ञानले चलाइरहेको छ तर सफल विश्वविद्यालय नोकरशाहतन्त्रले होइन सही बिचारले बनाउन सक्छ । त्रिविका सबै अवयवको गहन र सूक्ष्म अध्ययन गर्ने हो भने थाहा हुन्छ यसभित्र कति समस्या छन् । राजनीतिले यसलाई कति गिजोलेको छ। त्रिविलाई अहिले दुईवटा चुनौति छन् । एउटा सबै अङ्गलाई चलाएमान बनाएर समयसापेक्ष विकास गर्ने र उत्कृष्ट शैक्षिक केन्द्र बन्नुका साथै उच्चशिक्षामा सबैको समान र सहज पहुँचलाई विस्तार गर्ने। यी त फगत एउटा विद्यार्थीका विङ्ग्हम दृष्टि न हुन । फेरी सम्भावना पनि त नभएको होइन बेलाबेलामा यसलाई ट्रयाकमा ल्याउने कुरा उठ्छ, प्रयास हुन्छ, छलफल हुन्छन् । तर यसलाई गतिशील र उत्कृष्ट विश्वविद्यालय बनाउन ठूलै झट्का आवश्यक छ र त्यही झट्का मुनी लुकेको छ सम्भावना ।

(लेखक त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत मानवशास्त्र विषयका विद्यार्थी हुन्)



प्रतिक्रिया दिनुहोस !