१२ श्रावण २०८१, शनिबार

कृषि सचिव बन्न दौडधुपः अख्तियारमा कारवाही सिफारिसमा परेका पनि प्रतिस्पर्धी

प्रकाशित मिति :  21 March, 2020 8:16 am


काठमाण्डौं,९ चैत । यो साता कोरोनाको समाचारसँगै कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भूसालले सार्वजनिक गरेको कृषि विकासको पाँच सुत्र पनि उत्तिकै राष्ट्रिय चर्चामा छ । यतिवेला मन्त्रालयको बाहिरी चर्चासँगै आन्तरिक चर्चासमेत बढेर गएकोछ, त्यो हो अब आउने कृषि सचिव को हुने ? मन्त्रालयवृत्त र कृषिसँग सरोकार राख्नेबीच यो विषय अहिलेको प्रमुख चर्चाको विषय बनेको छ ।

रिक्त रहेको कृषि सचिवका लागि बढुवाको सिफारिसमा परिसकेका तीन जना सह—सचिव शक्ति केन्द्र धाईरहेका छन् । सचिवको दौडमा रहेकामध्ये शक्ति केन्द्र धाउनमा माहिर मानिएका सह—सचिव योगेन्द्र कार्की भने अख्तियारमा कारवाहीका लागि सिफासि गरिएका कर्मचारी हुन् । सचिवको लविङ गर्न उनी हाल काठमाडौंमै बसिरहेका छन् । हाल कर्णाली प्रदेशका कृषि सचिव राजेन्द्र प्रसाद भारी र वनतर्फ कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्य अन्य दुई प्रतिस्पर्धी हुन् । कृषि र वन समूह सचिवको एक समूहमा पर्दछ । कार्की बाहेका सचिव पनि शक्ति केन्द्र प्रभावित पार्नमा लागि परेको बताइन्छ ।

कृषि विकास मन्त्रालयको कृषि तथा व्यापार आयोजना (प्याक्ट)को निर्देशक रहँदा अनियमितिता गरेको भन्दै गत असार १७ गतेको निर्णय अनुसार कार्कीलाई कारवाही गर्न सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सक्कलै फाईल पठाएको थियो । हाल बागमती प्रदेशको कृषि सचिव रहेका कार्कीलाई केन्द्रले, ‘कृषि विकास मन्त्रालय अन्तर्गतको कृषि तथा व्यापार आयोजना (प्याक्ट)का तत्कालिन निर्देशक योगेन्द्र कार्कीले उक्त आयोजनामा रहँदा र हालपनि विभिन्न विषयहरुमा अनियमितता गरेको भन्ने सम्बन्धमा’ कारवाहीका लागि सिफारिस गरेको उल्लेख गरेको छ । केन्द्रले सह—सचिव कार्कीलाई मुद्धा चलाउन सिफारिस गरे पनि अख्तियारले यस विषयमा निर्णय भने लिइसकेको छैन ।

राष्ट्रिय सतर्कता केन्द्रले कारवाहीका लागि कार्कीलाई गरेको सिफारिस

लुम्बिनी सञ्चारलाई प्राप्त कागजात अनुसार प्याक्टपछि मन्त्रालयको योजना महाशाखा प्रमुख नियुक्त भएका कार्कीमाथि ७ बर्षभन्दा बढी समय उक्त आयोजनामा रहेर काम गरेका कार्कीमाथि आयोजनामा रहँदा,‘जनताको नाउँमा प्राप्त अनुदान रकममाथी करोडौं भ्रष्टाचार गरेको’ आरोप छ । उजुरी परेपछि २०७३ साल भदौं २७ गते सचिव स्तरीय निर्णयबाट १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरि ३ सदस्यीय छानविन समिति बनेको थियो । मन्त्रालयले केन्द्रको तेस्रो पटकको ताकेतापछि मात्र प्याक्टसँग सम्बन्धित कागजात केन्द्रमा पठाएको थियो । ताकेता गरेको तीन वर्षपछि मात्र हात परेको कागजातका आधारमा केन्द्रले अख्तियारमा कार्कीसमेतलाई कारवाहीको सिफारिस गरेको केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

तत्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.युवक ध्वज जिसी आफ्नो दुई वर्षे कार्यकाल बाँकी रहँदा राजिनामा दिएर संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) मा जागिर खान गएपछि रिक्त पदमा बढुवा हुन तीन सह—सचिवको दौडधुप सुरु भएको हो । मन्त्रालय स्रोतका अनुसार तीनै जनामध्ये जो कोहीलाई नियुक्त गर्न सक्ने प्रक्रिया मिलाएर मन्त्रीपरिषद्मा पठाइएको छ । अन्तिम निर्णय कृषि मन्त्री, प्रधानमन्त्रीको सल्लाह बमोजिम मन्त्रीपरिषद्मा निर्भर हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपन अगाडि नै पुगेको फाइल उपर अब आउने मन्त्रीपरिषद्ले निर्णय लिनसक्ने बताइन्छ । प्रधानमन्त्री ओलीले कृषि विकासको नेतृत्व लिन भन्दै चार महिनाअघि मन्त्री भूसाललाई आफ्नो विशेष प्रतिनिधीको रुपमा भूसाललाई कृषि मन्त्री बनाएका थिए । सचिव बनाउन विभिन्न शक्ति केन्द्रको फोन र भेटमा दबाब आउन थालेपछि कृषि विकासको नयाँ सुत्रकासाथ अगाडि बढिरहेका भूसाललाई आफ्नो योजनाको सारथीको रुपमा कसलाई कृषि सचिव बनाउलान् भन्ने विषय कृषि क्षेत्रमा लखकाट्ने मेलो बनेको छ ।



प्रतिक्रिया दिनुहोस !