मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी
काठमाडौं । मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरे । वडासदस्यमा भने एमालेकै रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन् । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन् ।
गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ११३ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मत पाउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिए ।
त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएको छ । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी भएका छन् । मत गणना जारी छ ।








