१३ बैशाख २०८१, बिहिबार

६० प्रतिशत साना उद्योग ऋण नलिइ सञ्चालन

प्रकाशित मिति :  20 July, 2022 1:03 pm


काठमाडौं । केन्द्रिय तथ्यांक विभागले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ ले नेपालमा ६० प्रतिशत साना उद्योग बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिइ सञ्चालन भइराखेको उल्लेख गरेको छ । विभागले वि.सं. २०७५ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्मलाई आधार मानेर गरेको गणनामा ९ जना भन्दा कम संलग्न भएका साना उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुले बैंक तथा वित्तीय संस्थाबाछ ऋण नलिइ सञ्चालन गरेको जनाएको छ ।

सर्वेक्षण अनुसार १० जना भन्दा कम संलग्नमा ६० प्रतिशत साना उद्योग प्रतिष्ठानहरु ऋणभन्दा बाहिर रहेको उल्लेख गरेको छ । सञ्चालित साना उद्योगहरुहरुमध्ये ३४ प्रतिशतले मात्र वित्तीय संस्थाहरुसँग ऋण लिएका छन् । १ प्रतिशत ऋणको प्रतिबद्धता प्राप्त गरेको र ५ प्रतिशत साना उद्योग ऋण लिने प्रकृयामा रहेको उल्लेख गरिएको छ ।

विभाग निर्देशक विनोद शरण आचार्यले साना उद्योग ऋण लिएर सञ्चालन भइराखेका छन् कि नलिइ भइराखेको भनेर मात्र सर्वेक्षण गरेकोले कसरी कर्जा भन्दा बाहिर भएर सञ्चालन भइराखेको सर्वेक्षणमा नराखेको उनले बताए । उनले टेलर्स, मिल लगायतका साना उद्योगको पनि गणना गरेको हुनाले ऋण नलिइ सञ्चालन हुन सकेको बताए ।

उनले भने,“हामीले ९ जना भन्दा कम संलग्न भएका साना उद्योगको गणना गरेका हौं । त्यसमा टेलर्स, मसला पिठो पिस्ने लगायत उद्योगको गणना गरेको हुनाले त्यो थोरै पैसामा पनि सञ्चालन हुने हुनाले ऋण नलिएको हुन सक्छ ।”

विभागले गरेको अध्ययन अनुसार गरेर ६० हजार १८५ साना ठुला उद्योग सञ्चालनमा रहेका छन् भने ५ हजार १७ ठुला औद्योगिक प्रतिष्ठानमात्र रहेका छन् । विभागले गरेको अध्ययन अनुसार ४ लाख ९१ हजार २२७ जना उद्योग प्रतिष्ठानमा संलग्न रहेका छन् ।

त्यसमध्ये प्रत्यक्षरुपमा तलब ज्याला लिनेगरी कार्यरत कर्मचारी तथा कामदारहरु ३ लाख ८१ हजार ६८७ रहेका छन् । औद्योगिक प्रतिष्ठानहरुको स्थायी सम्पती ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको रहेको उल्लेख गरिएको छ ।

अध्ययनका अनुसार ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् भने १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५–९९ प्रतिशत। २९.१ प्रतिशतले ५०–७४ प्रतिशत, १०.३ प्रतिशतले २५–४९ प्रतितश र बाँकीले २५ प्रतिशतभन्दा कम उत्पादन क्षमताको प्रयोग गरेर उद्योग सञ्चालनमा रहेका छन् ।

केन्द्रिय तथ्यांक विभागले खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत, ग्याँस, बाफ तथा वातानुकुलित सेवा र पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुकोे बारेमा अध्ययन गरेको थियो ।

सर्वेक्षण अनुसार नेपालमा आनी तथा उत्खनन क्षेत्रमा ३५६, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११, विद्युत ग्याँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ र पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुको क्षेत्रमा २ हजार २२४ ओटा रहेका छन् ।

विभागले अध्ययन गरेको वर्षमा औद्योगिक प्रतिष्ठानहरुले करिब ८ खर्ब ४६ अर्ब ६६ करोड रकम लागतको रुपमा खर्च गरी करिब १२ खर्ब १ अर्ब १७ करोड मूल्य बराबरको वस्तु तथा सेवा उत्पादन गरेको र नेपालको अर्थतन्त्रमा करिब ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !