७ बैशाख २०८१, शुक्रबार
गरिबीको नयाँ रेखा

विश्व बैंकद्वारा गरिबीको रेखा मानक परिवर्तन, अब प्रतिदिन २.१५ डलरको गरिबी रेखा

४० प्रतिशत नेपालीको आय ३.६५ डलरभन्दा कम
प्रकाशित मिति :  6 October, 2022 1:04 pm


काठमाडौं । विश्व बैंकले अमेरिकी डलरको परिवर्तित विनिमय दर र बढ्दो जीवन निर्वाहका लागि हुने लागत अनुपातलाई समायोजित गर्दै गरिबीको नयाँ रेखा कायम गरेको छ । बैंकले यसअघिको १.९० अमेरिकी डलरको चरम गरिबीको रेखालाई क्रयशक्ति समता (पीपीपी) मूल्यमा बढाइ २.१५ डलर पुर्‍याएको हो । यसअघि सन् २०११ को क्रय शक्ति समता मूल्यलाई आधार बनाइएको थियो भने अहिले सन् २०१७ को क्रयशक्ति समतालाई आधार बनाइएको हो ।

यसअघि सन् २०१५ मा गरिबीको रेखालाई १.२५ अमेरिकी डलरबाट बढाइ १.९० अमेरिकी डलर बनाइएको थियो । कोभिड-१९ पछिको विश्व आर्थिक मन्दीलाई मध्यनजर गर्दै एसियाली विकास बैंक (एडीबी) ले १.९० डलरले एसिया-प्रशान्तको गरिबीलाई प्रतिनिधित्व गर्न नसक्ने भन्दै २.१५ डल‌रको मानकमा यस क्षेत्रमा ४ प्रतिशतले गरिबी बढ्ने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको गरिबीसम्बन्धी मानक प्रतिवेदन ‘पोभर्टी एन्ड सेयर्ड प्रोस्पेरिटी-२०२२’ अन्तर्गत सन् २०१७ को क्रयशक्ति समता (पीपीपी) मा आधारित रही बढाइएको हो । यसअनुसार चरम गरिबी रेखालाई १.९० अमेरिकी डलरबाट बढाइ २.१५ डलर पुर्‍याइएको छ भने  निम्न मध्यम आय भएका देशहरू न्यून मध्यम आय भएका देशहरू (एलएमआईसीज्) मा गरिबी मापन गर्न प्रयोग गरिने उच्च गरिबी रेखा ३.३० अमेरिकी डलरबाट बढाइ ३.६५ अमेरिकी डलर र उच्च मध्यम आय भएका देशहरू (यूएमआईसीज्) का लागि ५.५० अमेरिकी डलरबाट बढाइ ६.८५ डलर पुर्‍याइएको छ ।

अन्तर्राष्ट्रिय गरिबी रेखालाई न्यून आय भएका देशहरू (एलआईसी) मा राष्ट्रिय गरिबी रेखाको मध्यकको रूपमा गणना गरिन्छ यी अद्यावधिक गरिबी रेखाहरूका कारण विश्वव्यापी गरिबी दरमा नगण्य परिवर्तन छ भएको विश्व बैंकले बताएको छ । हालको वर्गीकरणअनुसार न्यून आय भएका, न्यून मध्यम आय भएका र विकसित देशका लागि फरक-फरक तीन मानक छ, जसअनुसार न्यून आय भएका, न्यून मध्यम आय भएका र विकसित देशका लागि क्रमसः २.१५ ३.६५ ६.८५ अमेरिकी डलरको रेखा तय गरिएको हो । दक्षिण एसियाली देशहरू न्यून मध्यम आय भएकामा वर्गीकृत छन् ।

प्रतिवेदनअनुसार दक्षिण एसियामा नयाँ गरिबीको रेखा २.१५ डल‌रको मानकअनुसार ९ प्रतिशत चरम गरिबीको रेखामुनि छन् । देशहरू न्यून मध्यम आय भएका देशहरूको नयाँ मानक ३.६५ अमेरिकी डलरको मानकमा दक्षिण एसियामा सर्वाधिक ४३ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् भने ६.८५ डलरको मानकअनुसार ४२ नागरिक गरिबीको रेखामुनि छन् । यो विश्वमै सर्वाधिक हो । सब-सहारा अफ्रिकापछि दक्षिण एसियामा सर्वाधिक गरिबी रहेकोमा भारत, पाकिस्तान र बंगलादेशमा गरिबीको सर्वाधिक संख्या छ ।

प्रतिवेदनअनुसार भारत प्रतिदिन २.१५ अमेरिकी डलरभन्दा कममा जीविकोपार्जन चरम गरिबहरू ११.८८ प्रतिशत र ३.६५ अमेरिकी डलरभन्दा कममा जीविकोपार्जन गर्नेको अनुपात ४४.७८ प्रतिशत छ ।

नयाँ गरिबीको रेखाअनुसार समायोजित तथ्यांकले नेपालमा प्रतिदिन २.१५ अमेरिकी डलरभन्दा कममा जीविकोपार्जन गर्ने नेपालीको अनुपात ८.२४ प्रतिशत देखाएको छ । यस्तै, ३.६५ अमेरिकी डलरभन्दा कममा जीविकोपार्जन गर्ने नेपालीको अनुपात ४० प्रतिशत र ६.८५ डलरको डलरको मानकअनुसार ८१ प्रतिशत गरिबीको रेखामुनि छन् ।

कोभिड-१९ले बढायो गरिबी

बैंकका अनुसार कोभिड १९ महामारीपछि विश्वव्यापी रुपमा चरम गरिबीको रेखामुनि रहेका मानिस सन् २०१९ मा ८.४ प्रतिशत रहेकोमा सन् २०२० मा बढेर ९.३ प्रतिशत पुगेको छ, अर्थात् थप ७ करोड मानिस चरम गरिबीको रेखामुनि धकेलिएका छन् । जुन सन् १९९० मा विश्वव्यापी गरिबी अनुगमन सुरु भएयता एक वर्षमै सर्वाधिक गरिबीको अनुपात वृद्धि हो। यो संख्या बढेसँगै विश्वभर २.२५ अमेरिकी डलरभन्दा कममा दैनिक जीवनयापन गर्ने मानिसहरूको संख्या  अनुमानित ७१ करोड ९० लाख पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !