७ बैशाख २०८१, शुक्रबार

विश्वका १६ प्रतिशत नागरिकमा अपाङ्गताः डब्लूएचओ

प्रकाशित मिति :  4 December, 2022 1:55 pm



काठमाडौं । विश्वका १६ प्रतिशत नागरिकहरूमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । यो हालसम्म अनुमान गरिँदै आइएको अनुपातभन्दा धेरै हो ।
यसअघि डब्लूएचओकै अध्ययनलाई आधार मानेर कुल जनसंख्याको १० प्रतिशत नागरिकहरू अपाङ्गताको अवस्थमा रहेको बताउँदै आइएकोमा सन् २०११ मा प्रकाशित पहिलो विश्व अपाङ्गता प्रतिवेदनले यो अनुपात १५ प्रतिशत देखाएको थियो ।
डब्लूएचओले सार्वजनिक गरेको अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वास्थ्य समानतासम्बन्धी विश्वव्यापी प्रतिवेदन- २०२२ ले यो अनुपात १६ प्रतिशत भएको उल्लेख गरेको छ ।
“सन् २०२१ मा विश्वका करिब १.३ अर्ब मानिस वा विश्वव्यापी जनसंख्याको लगभग १६ प्रतिशतले अपाङ्गताको अनुभव गरेका छन्,” प्रतिवेदनमा भनिएको छ ।
विगतका दशकहरूमा बाँच्ने उमेरमा भएको वृद्धिसँगै नसर्ने प्रकृतिका दीर्घकालीन रोगहरू, उमेरजन्य कारणले सीमित चलायमानतासहित जनसांख्यिक र महामारीसम्बन्धी परिवर्तनहरूले अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य रूपमा बढेको डब्लूएचओको ठहर छ ।
अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य पहुँचमा निकै ठूलो विभेद रहेको प्रतिवेदनले औंल्याएको छ ।
“अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि मानवजस्तै स्वास्थ्यको उच्चतम प्राप्य स्तरको समान र समान अधिकार हुन्छ तर, अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि स्वास्थ्य असमानता अनुभव गर्दै आएका छन्,” प्रतिवेदनमा भनिएको छ ।
सामान्य जनसङ्ख्याको तुलनामा अपाङ्गता भएका व्यक्तिहरू धेरै अकालमै मर्न बाध्य भएका र कमजोर स्वास्थ्य स्थिति झेल्न बाध्य रहेको डब्लूएचओले उल्लेख गरेको छ ।
कोभिड–१९ महामारीले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जोखिम थप उजागर गरेको उसको भनाइ छ ।
प्रतिवेदनले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वास्थ्य समानतालाई अगाडि बढाउनका लागि आवश्यक कदम चाल्न आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !