१२ श्रावण २०८१, शनिबार

सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउने निःशुल्क तालिम आजदेखि सुरु, १७ जनाको सहभागिता

प्रकाशित मिति :  27 November, 2023 1:10 pm


काठमाडौँ । वनस्पति विभाग अन्तर्गतकाे प्राकृतिक सम्पदा अनुसन्धानशालाको आयोजनामा सयपत्री फूलबाट ल्युटिन निकाल्ने र सौन्दर्य सामाग्री बनाउने चार दिने निःशुल्क तालिम आज (साेमबार)देखि सुरु भएको छ ।

आज (मंसिर ११ गतेदेखि मंसिर १४गते) सम्म आयोजना हुने तालिममा १७ जनाकाे सहभागिता रहेकाे छ । तिहारमा सयपत्री फूल बिक्री नभई खेर गएको खबर सार्वजनिक भइरहँदा विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि पुनः प्रयोग गर्न सकिनेबारे तालिम दिन लागेको वनस्पति विभागका महानिर्देशक राजेन्द्र केसीले बताए ।

बहुउपयोगी सयपत्री फूललाई पूजा एवं सजावटको रूपमा मात्र नभई फूल एवं पातलाई धूपसमेत बनाउन प्रयोग गर्न सकिने र यसमा भएको महत्त्वपूर्ण रसायन ल्युटिनको एन्टिअक्सिडेन्ट गुण भएकाले यसलाई निकाली सौन्दर्य सामाग्री र खाद्य पुरकको रूपमा समेत उपयोग गर्न सकिने विभागका महानिर्देशक केसीले जानकारी दिए ।

उनले भने, “आर्थिक मन्दीका कारण चाडपर्वको समयमा सयपत्री फूलका माला बिक्री नभएर फ्याक्नुपर्ने अवस्था देखियो। सयपत्रीबाट माला मात्र नभएर धेरै प्रकारका सामग्री बनाउन सकिन्छ। किसानहरूसँग यसको प्रयोग गर्ने ज्ञानको पनि कमि देखियो । त्यसकारण विभागले बजारमा समस्या भएको बेलामा हामी तलबमात्रा खाएर बस्नु हुदैँन भनेर यो तालिम आयोजना गरेको हौँ । सयपत्री फूलबाट ल्यूटिन निकाल्ने, साैन्दर्यका सामग्री, अगरबत्ती बनाउने तालिम फूल व्यवसायी तथा फूल कृषकका लागि निशुल्क हो ।’’

त्यस्तै वरिष्ठ प्राकृतिक सम्पदा अनुसन्धान अधिकृत देवी प्रसाद भण्डारीले प्रयोग गरिएको तथा नगरिएको, सयपत्री फूलबाट विभिन्न सौन्दर्यका सामग्री बनाए किसानको आर्थिक पाटो मजबुत बनाउन तालिमले भूमिका निर्वाह गर्ने बताएका छन् । उनले भने, “सयपत्री सुकिसकेपछि ल्यूटिन (तेलजस्तो पदार्थ) निकाल्न सकिन्छ। यो ल्यूटेन बहुउपयोगी छ। यसबाट औषधि तथा सौन्दर्यसामग्री बनाउन सकिन्छ। ’’

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) अध्यक्ष मिनबहादुर तामाङले विभागको सहकार्यमा आयोजना भएको यस तालिमले किसानको समस्यालाई समाधान गर्ने बताएका छन् । उनले यस्तो तालिमले चाडपर्वको समयमा सयपत्री फूलका माला बिक्री नभएर फ्याक्नुपर्ने अवस्था नआउने दाबी गरेका छन् ।

फूलबाट खाने क्याप्सुल (भिटामिन ए), सौन्दर्यका सामग्री सन प्रोटेक्सन क्रिम (सनस्क्रिन), धुप, अगरबत्ती, सुगन्धित तेल बनाउन सकिने भएकाले किसान तथा व्यवसायीलाई यी सामग्री बनाउन तालिम दिइने विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !