१५ चैत्र २०८०, बिहिबार

विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग

प्रकाशित मिति :  1 May, 2020 1:47 pm


रोल्पा,१९ वैशाख ।

नेपाली कांग्रेस रोल्पाले हिजो बम विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न माग गरेको छ ।

जिल्ला सभापति अमरसिंह पुनले आज विज्ञप्ति मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका बालबालिकालाई सशस्त्र विद्रोहका बेला निधन भएका व्यक्ति सरहनै शहिद घोषणा गरि परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तिमा पटक पटक भएका यस्ता घटनाले अझैपनि विभिन्न ठाँउ ठाँउमा विष्फोटक पदार्थ छन् भन्ने पुष्टि भएको भन्दै सभापति पुनले यसबारे गम्भीर बन्न सरकार,राजनीतिक दल, सुरक्षा निकाय, मानवअधिकारकर्मी तथा सरोकारवालालाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘गाउँघर र जंगलहरुमा लुकाईछिपाई राखेका यस्ता विष्फोटक पर्दार्थहरु बेलाबेलामा भेटिनुले बिभिन्न ठाँउहरुमा अझैपनि बम तथा विष्फोटक पदार्थ रहेको अनुमान गर्न सकिन्छ । यो समस्या समाधानका लागि सरकार,सबै राजनीतिक दल,सुरक्षा निकाय,मानवअधिकारकर्मी तथा सरोकारवाला सबैले बम तथा बिष्फोटक पदार्थको समयमै खोजी गरी डिस्पोजल गर्न जरुरी छ ।’

नेपालमा तत्कालीन माओवादीले चलाएको सशस्त्र विद्रोहलाई शान्तिपूर्ण रुपमा समाधान गरी देश शान्ति प्रकृयामा आएको दशक वितिसक्दा पनि रोल्पा जिल्लाका विभिन्न ठाँउमा हरेक बर्ष वेवारिसे बम भेटिने गरेको उल्लेख गर्दै कांग्रेस रोल्पाले भनेको छ,‘ यसरी भेटिएका बमले मानिसलाई मानसिक त्रास दिनुका साथै भौतिक पीडा दिएका छन् ।’

सभापति पुनले देशैभर वेवारिसे विष्फोटक पदार्थ हुनसक्ने भन्दै यसको खोजी र समाधान गरी भयमुक्त वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेका छन् ।

रोल्पाको त्रिवेणी गाँउपालिका-४ गैरीगाँउमा स्थानीय जंगलमा गाई बाख्रा चराउन गएका बेला बेवारिसे बम विष्फोट हुँदा ३ बालक र १ बालिकाको निधन भएको थियो ।

बम विस्फोटमा त्रिवेणी गाउँपालिका वडा नं। ७ का ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, १३ वर्षीय गौरब नेपाली र १४ वर्षीय छोरा नोखिराम डाँगीको मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस !