४ जेष्ठ २०८१, शुक्रबार

कोरोना कहर: १५३ वर्षमा रोकियो रामलीला मञ्चन

प्रकाशित मिति :  2 October, 2020 5:25 pm


१६ असोज, नेपालगञ्ज ।

नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यो वर्ष नहुने भएको छ ।

विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन यो वर्ष कोरोना महामारीका कारण पहिलोपटक स्थगित गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए ।

अध्यक्ष कनौडियाका अनुसार कोरोना भाइरस महामारीको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको सो मञ्चन नगर्ने निर्णय भएको हो । एक सय ५३ औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको उक्त मञ्चनलाई यसपटक कोरोना महामारीका कारण सार्वजनिक रुपमा नमनाइए पनि प्रतिकात्मकस्वरुप सोही स्थानमा पूजापाठ गरिने उनले बताए।

नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको यो पर्व भब्य रुपमा मनाउने गरिन्थ्यो । रामलीलामा भारत तथा नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको अध्यक्ष कनोडियाको भनाइ छ ।

कार्यक्रम स्थगित गरिए पनि अहिलेको विषम परिस्थितिमा अन्य कार्यक्रमका स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न विष्णुलाल कुमालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । यसको एउटा महत्वपूर्ण अङ्ग श्रीराम चरित्र वाचन गरिने भएको छ । नौ दिनसम्म वाचन गरेपछि दशौँदिन हवन गरेर प्रतिकात्मक कार्य सम्पन्न गर्ने गरी कार्यक्रम तय भएको कार्यक्रमस्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्न गठित कार्यदलका संयोजक कुमालले जानकारी दिए ।

रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो । भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलीला मञ्चन गर्ने परम्परा रहेको थियो । रामलीलाले धार्मिक र सांस्कृतिक सन्देशसँगै आपसी एकता तथा भ्रातृत्व भावमा मद्दत पु¥याउँदै आएको विश्वास गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले नयाँ पिँढीका युवालाई पनि धेरै पाठ सिकाउन सफल भएको बताए ।

 



प्रतिक्रिया दिनुहोस !