१७ असार २०७९, शुक्रबार

जब अपमान महसुस गरेर पाकिस्तानी राजदूत स्टेडियम छाड्न थालिन् (आठौँ साफकाे स्मरण)

प्रकाशित मिति :  5 December, 2019 9:51 pm


म लम्केर अगाडि बढेँ र गुड्न थालेको राजदूतको गाडीलाई रोक्दै उचित आदर अभिव्यक्त गर्दै राजदूत महोदयालाई सोधेँ – “ महामहिम, के भयो ? किन फर्कन थाल्नुभयो ? खेल सुरु हुने बेला भयो ।”

राजदूत म्याडमको जवाफ सुनेर म त छक्कै परेँ । “मलाई न त कसैले रिसिभ गर्यो न त सीटसम्म एस्कोर्ट नै तर इन्डियन एम्बेसडर आउँदा भने हूलै बाँधेर सीटसम्मै बसाउन आइपुगे, यो सबै देखेर मलाई असहज भयो । म जान्छु, यसरी पनि खेल हेर्नुमा के अर्थ छ ?”  उन्ले एकै सासमा भनिन् ।

देबेन्द्र सुवेदी

सन् १९९९ मा आठौँ साफको आयोजक राष्ट्र नेपाल थियो । त्यो दोस्रोपटकको थियो नेपालको आयोजना । पहिलो साफ १९८४ नै नेपालले आयोजना गरेको हो । राजा वीरेन्द्रद्वारा उद्घाटित साफ गेमको चमकले सबैलाई त छोएकै थियो तर माओवादी हिंसाको चढ्दो त्रासले पनि राजधानीलाई गाँजिसकेको थियो । साफको क्षेत्रीय महत्त्वले गर्दा चर्चा बटुल्न घरेलु द्वन्द्वको सानो विस्फोट पनि समग्र मुलुकको सुरक्षा स्थितिलाई नाप्ने अन्तर्राष्ट्रिय मापक बन्न सक्ने डर त थियो नै श्रीलंकामा जारी पृथकतावादी संघर्षमा देखिएका आत्मघाती बाछिटाको डर पनि जीवितै थियो ।

सन् १९९० को बम्बे ब्लास्टले जन्माएको आतंकको छाया हटिसकेको थिएन । बरु त्यसै वर्षको डिसेम्बरमा त काठमाडौंबाट उडेको इन्डियन एअरलाइन्सको जहाज नै अपहरण भयो । त्यसैले पनि सुरक्षा संवदनशीलता ढुक्कले ठीक छ भन्ने अवस्था थिएन । हाम्रोजस्तो मुलुकमा सुरक्षाका सबै विश्लेषण र उपाय अन्तत: स्थलगत ‘ग्राउन्ड लेभेल’को तैनाथीमै गएर ठोकिन्छ भन्ने यथार्थ बुझेपछि सम्पूर्ण ताकत त्यसैमा लगाउनुपर्ने हुन्छ । जवाफदेही त झन् कार्यान्वयन तहमै थुप्रिन्छ । त्यसैले पनि पुलिसको कार्यबोझ दोब्बर बढ्ने नै भयो ।

आयोजनाको प्रचार र व्यवस्थापनको तयारीको कुरा लामो देखिने तर काम भने एघारौँ घन्टामा मात्र सरु गर्ने र बाह्रौँ घन्टामा पूरा गरेको देखाएर समर्पित व्यवस्थापनको स्याबासी लिने त हामी नेपा

लीको विशेषता नै भयो ।

त्यति बेला पनि त्यो सबै नै भइरहेको थियो । कमजोर व्यवस्थापनले छोडेका सबै प्वाल टाल्ने काम हुन्छ सुरक्षा नामको व्यवस्थाको । भौतिक व्यवस्थादेखि प्रक्रियागत त्रुटि र अभावका प्वाल अन्तत: सुरक्षा व्यवस्थासँग ठोकिन थाल्छन र सबै कुराको संकटकालीन समाधान निकाल्न चर्को व्यवहारको सुरक्षा शैलीमा टुङ्याउनुपर्ने बाध्यता आइपर्छ । त्यति बेला पनि त्यसरी नै भयो । उद्घाटनको भव्यताले रातो कार्पेटमुनि सुरुका अव्यवस्थाका र कठिनाइका धुलो छोपिए पनि खेलहरूको सिलसिला बाँकी नै थिए ।

खेलका इभेन्टहरू राजधानीभित्रैका विभिन्न खेल स्थानमा हुने भए पनि ‘मास इभेन्ट’ दशरथ रँगशालामै हुने भएकाले साफ गेम अवधि भर नै सुरक्षाको निरन्तरको दबाबको हुने गर्थ्यो । त्यसमाथि तत्कालीन युवराज दीपेन्द्र, नेपाली खेलाडीको हौसला बढाउन भन्दै पटक पटक आकस्मिकरूपमै रंगशाला पुगिदिनाले सुरक्षाको जटिलता थपिन्थ्यो ।

नगर प्रहरीका तत्कालीन डीएसपी सर्वेन्द्र खनाल युवराजको सवारीसँगै रँगशाला पुगी नै हाल्ने हुनाले बोझ केही हल्का हुने भए पनि सुरक्षाको अप्रेसनल जवाफदेही भने मेरै हुने भयो । त्यसो त नीतिगत तहको केन्द्रीय समितिमा तत्कालीन एआईजीपी ढालमान थापा हुनुहुन्थ्यो । मूल समारोह स्थल दशरथ रंगशालाको सुरक्षा जिम्मेवारी काठमाडौं डीएसपीको रूपमा मेरो भएकाले बिहान ४ बजे रंगशाला पुगेर राति १२ बजे सुत्न फर्कने दिनचर्या थियो।

खेल आयोजकका सल्लाहकार अनुप राणासँग दिनभरको समीक्षा र भोलिको खेल तालिकासम्बन्धी मिटिङ पछि बल्ल खेल र हरेक दिनको सुरक्षा ‘अपरेटिङ प्याटर्न’को टुङ्गो लगाइन्थ्यो । ऊमेरमा मभन्दा करीब २० वर्ष पाका अनुप राणा शाही नेपाल वायु सेवा र होटेल यलो पगोडाको जीएम भै सकेका कुशल व्यवस्थापक थिए । तर, मसँग भने दाइ साथीजस्तै हुन पुगे ।

तत्कालीन आईजीपी अच्युतकृष्ण खरेलका फुटबल खेल्दाका साथी राणाबाट मैले साफ गेमको दौरानमै व्यवस्थापनका व्यावहारिक डाइनामिज्म पनि सिक्ने मौका पनि पाएँ जसमध्ये सर्वाधिक महत्त्वपूर्ण थियो – मित्रतापूर्ण र समाधानमूलक व्यवस्थापन । सहभागितामा निर्णय र “सँगसँगै हिँडाउन सक्ने” अद्भूत व्यवस्थापकीय शैली थियो – अनुपको । साफ गेमको सफलताका ‘ किङ पिन’ अनुप त्यही वर्ष असामयिक निधन भयो ।

तत्कालै समाधान गर्नुपर्ने परिस्थिति पटकपटक उत्पन्न हुन्थे – समस्या व्यवस्थापकीय कारणले उत्पन्न हुन्थे र समाधान सुरक्षा विधि अवलम्बन गरेर निकाल्नु पर्थ्यो – अजीवको स्थिति हरेकपटक दोहोरिन्थ्यो । र आयोजकबाट वितरण गरिएका पास लिएर आउने दर्शक संख्या अनि लाभ प्रयोजनका लागि ठेकेदारमार्फत बिक्री भएका टिकट किनेर आउने दर्शक संख्या रंगशालाको सीट क्षमताभन्दा डेढ गुना बढी हुन पुग्दा सिर्जित अव्यवस्थाको बलात् व्यवस्थापन हरेक दिन दोहोरिन्थ्यो।

उत्तरतिरको प्यारापिटमा जङ्गी अड्डाबाट छिर्ने आफूखुसी पोसाकका सैनिकहरूको जत्थाले भरिने र टिकट किनेर पसेकाहरुलाई ठाऊँ नपुगेर ‘स्टाम्पेड’ होला भनेर त्राहिमाम् हुँदै प्यारापिटमै लाठी चार्ज गर्नुपर्ने अवस्थादेखि भीभीआईपी आगमन पछि पनि टिकट बेचिदिँदा दर्शकलाई प्रवेश वञ्चित गर्नुपर्ने अप्रिय स्थितिले कम्ती सास्ती त दिएनन् । त्यसमाथि अर्धप्रशिक्षित प्रहरी प्रशिक्षार्थीले ‘डिप्लोयमेन्ट’को मर्म नबुझेर आफूखुसी ‘ड्युटी पोइन्ट’ छोडेर घुम्न निस्कदाँ झापड हान्दै हिँड्नुपर्ने स्थितीसम्म बनाइदिए । निकै हाईफाई र प्रविधियुक्त सुरक्षा योजनाको पावर पोइन्ट तयार गरे पनि अन्तत: फिल्डमा पुलिसको तैनाथी नै सुरक्षा व्यवस्थाको मूल मन्त्र हुन पुग्यो ।

जे जस्तो सकस भए पनि सबै खेल र आयोजना व्यवधानरहित चलिरहे । फुटबलका सबै खेल दशरथ रंगशालामै हुने भएकाले त्यसको निरन्तर सुरक्षित व्यवस्थापन र दर्शकहरुको अव्यवस्थित स्थितिबाहेक रंगशाला बाहिर रमिते र सडक यात्रुको भिडको जात्रा नै हुनेभयो । ट्राफिक व्यवस्थापन सुचारु गर्न हरेक दिन लाठीचार्ज कै स्थीति भई नै रहन्थ्यो । ‘एक्सेस कन्ट्रोल’को लागि बहुतहको प्रवेश नियन्त्रण नाका २ किलोमिटरको रेडियसमा फैलाउँदा पनि गल्लीबाट प्रवेश गरेका हजारौँ रमितेका साथै ओहरदोहर गर्नेको भिड रंगशाला बाहिर हुने नै भयो ।

यसैबीच, भारत र पाकिस्तानबीच फुटबल खेलको दिन जुन सानो परिघटना देखेँ त्यो दक्षिण एसियाको क्षेत्रीय शक्ति द्वन्द्वको मानसिकताको सानो उदाहरण थियो ।

अपरान्हको फुटबल खेल हेर्न पाकिस्तानी राजदूत आइन् र उनलाई स्टेडियमको भीआईपी ब्लकतर्फ प्रवेश गराइयो । त्यसको केही बेरपछि भारतीय राजदूत आइपुग्दा ऊनलाई स्वागत गर्न उल्लेखनीय समूह जम्मा भएको देखियो । खेलकूद व्यवस्थापकमध्ये त हुने नै भए, साफ गेमको व्यापारिक प्रयोजन र लाभमा संलग्न चिनिएका व्यापारीको जत्था पनि थपियो । झुरुप्पै घेरेर उनलाई भित्रसम्मै लगेर सीटमा बसाए ।

एकै छिनपछि मैले के देखेँ भने पाकिस्तानी राजदूत त स्टेडियमबाट निस्किइन् र रंगशाला परिसरमा पार्किङमा रहेको आफ्नो गाडीमा चढिन् । मलाई उनको बहिर्गमन तत्कालै अस्वाभाविक लाग्यो ।

भारत र पाकिस्तानको फुटबल हुदैँ गर्दा दुवै देशका राजदूतहरुको उपस्थितिले तिनका खेलाडीका लागि महत्त्व त राख्थ्यो नै आयोजक राष्ट्रका लागि पनि त्यसले आयोजनाको कूटनीतिक सार्थकता प्रदान गर्थ्यो । पाकिस्तानी राजदूतको अस्वाभाविक बहिर्गमनसँगै मेरो दिमागको ‘स्टेट कन्डिसन्ड’ विचारखण्ड’ सक्रिय भयो । खेल सरू भएकै छैन, दर्शकहरु भरिदैँछन्, खेलाडी मैदानमा उत्रिन तयार छन् । ठीक यही बेला आफ्नो देशको खेल हेर्न छोडेर राजदूत महोदया बाहिरिनुपर्ने कारण ? मलाई सहज लागेन ।

मैले वरिपरि हेरेँ, खेल आयोजक या व्यवस्थापक कोही छन् कि ऊनीहरुले उत्पन्न परिस्थिति बुझुन् र आवश्यक सौजन्य दर्शाउन् भनेर । तर, कोही अगाडि थिएन । म पुलिस अधिकारी, युनिफर्ममा राज्यको प्रतिनिधिको रूपमा त्यहाँ थिएँ तर कूटनीतिक विषय मेरो जिम्मेवारी थिएन । तैपनि, मलाई लाग्यो, केही अस्वाभाविक भएको छ । आफ्नै मुलुकको खेल हेर्न आएकी आमन्त्रित राजदूत खेल सुरु हुनु अगावै ‘अपसेट’ मुडमा बाहिरिनु आयोजक राष्ट्रका लागि अपेक्षित व्यवहार हुन सक्तैन र कसै न कसैले कम्तीमा यस्को कारण बुझ्नु आयोजकको तर्फबाट भद्रता प्रकट गरेसरह हुन्थ्यो ।

म लम्केर अगाडि बढेँ र गुड्न थालेको राजदूतको गाडीलाई रोक्दै उचित आदर अभिव्यक्त गर्दै राजदूत महोदयालाई सोधेँ – “ महामहिम, के भयो ? किन फर्कन थाल्नुभयो ? खेल सुरु हुने बेला भयो ।”सं

राजदूत म्याडमको जवाफ सुनेर म त छक्कै परेँ । “मलाई न त कसैले रिसिभ गर्यो न त सीटसम्म एस्कोर्ट नै तर इन्डियन एम्बेसडर आउँदा भने हूलै बाँधेर सीटसम्मै बसाउन आइपुगे, यो सबै देखेर मलाई असहज भयो । म जान्छु, यसरी पनि खेल हेर्नुमा के अर्थ छ ? ” उन्ले एकै सासमा भनिन् ।

“एक्सिलेन्सी, आज तपाईँको राष्ट्रिय टिम खेलिरहेको छ, तपाईँ पनि खेल हेर्न उपस्थित हुनुहुन्छ भन्ने कुराले उनीहरुलाई खुसी लाग्ने छ र तपाईँको पनि आजको लागि प्रथमिक कर्तव्य हो कि यति बेला तपाईँ पनि उनीहरु सँगै हुनुपर्छ । म पुलिसको अधिकारी हो र मेरो युनिफर्मले राष्ट्र र राज्य दुवैको प्रतिनिधित्व गर्छ, त्यसैले म तपाईँको खेल भेन्यूमा स्वागत गर्छु र हार्दिक आग्रह पनि गर्छु ‘ लेट अस गो अप, म्याडम कम अन “। मैले उनको हातै समातेर बिस्तारै बाहिर ताने । उनी मुसुक्क हाँसिन् र गाडीबाट ओर्लिइन् । मसँगै रँगशालाको सिँडी चढ्न थालिन् ।

खेल व्यवस्थापन, सुरक्षा व्यवस्थापन या कूटनीति व्यवस्थापन ? या इगो व्यवस्थापन ? के हो यो ? म आफै ‘कन्फ्युज्ड’ भएँ ।

साँझ अनुप राणाले अत्यन्तै विनम्रतापूर्वक मलाई धन्यवाद भन्दै थपे – “म नभएको बेला परेछ, धन्न तपाईँले सम्हाल्नु भएछ, नत्र आयोजक नै ‘एपोलोजेटिक स्टेट’मा पर्ने रहेछ।”

यो त मेरो ‘कमन सेन्स’ले निर्देश गरेको एउटा अभ्यास न थियो । यसको कूटनीतिक मूल्य मलाई के थाहा थियो र ?

‘साफ’ बाट ‘साग’ बनेको दक्षिण एसियाको खेल महोत्सव २०१९ बीस वर्षपछि नेपालमा फेरि हुदाँ आयोजकहरूबीच भरपर्दो, व्यवस्थित र समन्वित रूपमा सहअस्तित्वमा काम गर्ने सामर्थ्य र कला प्रदर्शित होस् ।

(*प्रहरी अतिरिक्त महानिरीक्षक (सेवा निवृत्त) काे विचार बाह्रखरीडटकमबाट साभार गरिएकाे हाे ।)



प्रतिक्रिया दिनुहोस !