१७ बैशाख २०८१, सोमबार

पहिलो पटक नेपाल ग्याप प्रमाणिकरण सुरु

प्रकाशित मिति :  28 December, 2019 12:17 pm


काठमाडौं, १२ पुस ।

गुणस्तरीय कृषि उपज उत्पादनको लागि असल कृषि अभ्यास (नेपाल ग्याप) कार्यान्वयनमा ल्याइएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तरष्ट्रिय स्तरमा अभ्यासमा रहेको गुड एग्रिकल्चर प्राक्टिस् (ग्याप) लागू गर्दै प्रमाणपत्र उपलब्ध गराएको हो। उपत्यकाका तीन कृषि फार्मले पहिलोपटक नेपाल ग्याप प्रमाणपत्र उपलब्ध गराइएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तरष्ट्रिय स्तरमा अभ्यासमा रहेको गुड एग्रिकल्चर प्राक्टिस् (ग्याप) लागू गर्दै प्रमाणपत्र उपलब्ध गराएको हो।

पहिलो ग्याप प्रमाणपत्र पाउनेमा ललितपुरको महालक्ष्मी नगरपालिकाको टीकाथलीस्थित कृषि परियोजना टीकाथली, काठमाडौंको रामकोटस्थित विशेष सदावहार कृषि फार्म र रामकोटकै मैत्री मंगलम् अग्र्यानिक कृिष फार्म छन् ।

सरकारले यसअघि नै असल कृषि अभ्यास कार्यान्वयन निर्देशिका, २०७५ जारी गरिसकेको छ । निर्देशिकाको आधारमा कृषकलाई ग्याप प्रमाणपत्र उपलब्ध गराउने क्षेत्राधिकार विभागलाई तोकेको छ ।

“ग्याप कार्यान्वयन निकायको रूपमा नेपाल ग्याप को प्रमाणपत्र उपलब्ध गराइएको छ, यसले गोठदेखि ओठसम्म, आलीदेखि थालीसम्म स्वच्छ खाद्य वस्तु उपभोग गर्ने जनताको अधिकारको रक्षा गर्ने विश्वास लिएका छौं,” विभागकी महानिर्देशक मतिना वैधले भन्नुभयो ।

संविधानले ग्यारेन्टी गरेको खाद्य अधिकारको कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिका लागू गरिएको हो। विभागले पहिलो प्रमाणिकरण संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा गर्न थालेको हो ।

जसअन्तर्गत टीकाथली परियोजनालाई २ सय रूपनी, सदावहार फार्मको ४६ रोपनी र मैत्रीमंगलनम् फार्मको १०१ रोपनी जग्गामा तरकारी उत्पादनलाई प्रमाणीकरण गरिएको हो ।

प्रमाणपत्र प्राप्त गर्नका लागि भने माटोको गुणस्तर, विषादी, मलखाद, सिंचाइ, बीउ, बेर्ना, कर्मचारी (१८ वर्ष मुनिकाले नगरेको), प्रयोग गर्ने सामग्री, वातावरणीय अवस्था आदि धेरै मापदण्ड पुरा गर्नुपर्ने हुन्छ ।

सुक्रबार एक कार्यक्रमकाबीच नेपाल ग्याप प्रमाणपत्र उपलब्ध गराइएको हो।  ”लामो समयको प्रयासपछि ग्याप प्रमाणिकरण लागू गर्न सफल भइएको छ,” मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ अरुण जिसीले भन्नुभयो, ”यो कार्यको निरन्तरताको लागि मन्त्रालय थप सक्रियताकासाथ लागिरहेको छ।” उहाँले यो अभियानमा धेरै जनाको योगदान रहेको बताउनु भयो।

करिब २ सय प्रकारका मापदण्ड ग्याप सर्टिफिकेट लिनु अगाडि पूरा गर्नुपर्ने हुन्छ भने बर्सेनि नवीकरण गर्नुपर्ने व्यवस्था छ । शतप्रतिशत लागू गर्नुपर्ने, ९० प्रतिशत र ५० प्रतिशत लागू गर्ने गरि मापदण्डलाई वर्गीकरण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !