१५ चैत्र २०८०, बिहिबार

सविता भण्डारीकाे न्यायका लागि सामाजिक संञ्जालमा ह्यासट्याग अभियान

प्रकाशित मिति :  5 June, 2021 5:23 pm


यतिबेला सामाजिक सञ्जाल टिकटक र युट्युब सविता भण्डारीको न्यायका लागि तातिएको छ । केही दिन अघि चितवनमा उनको शरीर कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो । उक्त घटना आत्महत्या नभई हत्या भएको सविताका आमा बुबाले बारम्बार भन्दै आएका छन् ।

हत्यामा सविताका श्रीमान्, सासु तथा उनकी अमाजुको मिलेमतो रहेकाे सविताका बाबु आमाले बताउँदै आएका छन् ।

अहिले टिकटक र युट्युवमा सविता हत्या काण्डकाे भिडियाे टेड्रिङमा छ । चितवनमा घटको घटनाले सबैकाे ध्यान केन्द्रित बनाएको छ । उनका बाबु आमाले मिडिया सामु छोरीको हत्या घर परिवारबाट भएकाले घटनाको छानबिनका लागि अनुराेध गरिरहेका छन् ।

सामाजिक सञ्जालमा भिडियो हेर्दा उनका ससुराले उनी माथि बारम्बार यौन हिंसा गर्न खोजेको स्पष्ट हुन्छ । घरपरिवारकाे यातनाका कारण उनको हत्या भएको सजिलै ठम्याउन सकिने धारणा सामाजिक सञ्जालमा राखिएका छन् । यदि आत्महत्या नै हो भने पनि ५ बर्षको बच्चालाई छोडेर कोही आमाले मृत्यु रोज्दिनन् भन्ने तर्कसँग सहमत हुने आधार देखिन्छ । किनकी जो कसैलाई पनि आफ्नो भन्दा सन्तानकै बढी माया हुन्छ । मानिसले आत्महत्या यत्तिकै गर्दैन । जब उसका लागि सबै बाटाेहरु बन्द हुन्छ अनि उसले मृत्यु बाहेक अगाडि केही देख्दैन भन्ने अवधारणा रहेकाे पाइन्छ । आत्महत्या नै हाे भने पनि उनले किन आत्महत्या गरिन् ? अवश्य उनलाई आत्महत्या गर्ने बाध्य बनाइयो । उनका जीवनका सबै बाटाे बन्द भएपछि नावालक छोरो नसम्झी मृत्यु रोजीन् वा हत्या गरियो ? प्रश्न अनुत्तरित छ ।

सामाजिक सञ्जालमा भाइरल भएका दृश्यले पनि उक्त घटना आत्महत्या नभइ हत्या नै भएको हुन सक्नेतर्फ इंकित गरिरहेकाे देखिन्छ । सामाजिक सञ्जालमा यतिबेला सविता भण्डारीको न्यायका लागि आवाज बुलन्द भएकाे अवस्था छ । टिकटकमा अहिले सविता भण्डारीको न्यायका लागि #Justiceforsabitabhandari ह्यासट्याग ट्रेन्डिङमा छ । उनका न्यायका लागि महिला हिंसाका बारेका व्यक्त गरिएका अभिव्यक्ति समेटिएका भिडियोहरुले टिकटक भरिएको छ । सविताको सानो छोराको भविष्यबारे सबैले चिन्ता प्रकट गरेका छन् । पाँच वर्षको छोराले आमा गुमाउदा पीडा कस्तो होला? सामाजिक सञ्जाल यस्तै विषयवस्तुले भरिएका छन् ।

न्यायको आवाज उठाउँदै टिकटकबाट दर्शकले एकदमै रुचाएका कलाकारहरुले समेत सविताको पक्षमा बोलिरहेका छन् । उनको आत्महत्या नभई हत्या भएकाले सो घटननमा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै आएका छन् ।  उनीहरुले सविता भण्डारीके न्यायका लागि भिडियाेहरु पाेष्ट गरेका छन् । टिकटक स्टार रेश्मा घिमिरेले समाजमा बिहे पश्ताच एउटी महिलाले भोग्नु परेको घरेलु यौन हिंसाका बारेका भिडियो पाेष्ट गरेकी छिन् । त्यस्तै अर्की स्टार मन्नु खड्काले उनको न्यायका लागि थुप्रै भिडियो पोष्ट गरेकी छिन् ।

खड्काले यस अभियानमा जाेडिन सबैमा आग्रह पनि गरेकी छन् । अर्की टिकटक स्टार उषा उप्रतीले पनि सविताकाे न्यायका लागि बाेलेकी छिन् । महिला हिंसा विरुद्ध अभियन्ता साबित्री सुवेदीले पनि उनकाे न्यायका लागि बाेलेकी छन् । चाहाना बस्याल, बिपना कार्की लगायतका धेरै टिकटक प्रयाेगकर्ताले उनको हत्यारालाइ प्रकाउको माग राखि ह्यासट्याग अभियान चलाएका छन् ।

प्रविधकाे बढ्दाे प्रयाेगसँगै सामाजिक सञ्जाल न्यायका लागि आवाज उठाउने स्थान समेत बनेकाे छ । न्यायले नदेखेको कति घटनालाई सामाजिक सञ्जाललको अभियान मार्फत झकझकाउने काम गरेको छ । सविना हत्या प्रकरणमा पनि सामाजिक सञ्जालले खेलेकाे भूमिका यस्तै एक उदाहरण हाे ।

चितवनमा घटेको यो घटना पहिलो होइन । यसअघि पनि सुस्मिता थापा हत्या काण्ड चितवनकै घटना हो । गत बर्ष उनको आफ्नै घरका सदस्यले हत्या गरेका थिए । सवारी दुर्घटनामा छोराको मृत्यु पछि पैसाको प्रलोभनमा उनको परिवारबाटै हत्या भएको थियो। त्यतिबेला पनि सामाजिक संजालको अभियानले उनको न्यायका लागि पहल गरेको थियो । अहिले सुस्मिताले न्याय पाइसकेकी छिन् । उनको हत्यारालाई प्रहरीले पक्राउ गरी कानुनको दायरामा ल्याइसको छ ।

सामाजिक सञ्जालमा मनोरञ्जनसँगै समाजमा हुने घटनालाइ आवाज उठाउने एउटा माध्यम बनेको छ । केहि समयअघि टिकटिक एउटा कला प्रदर्शन गर्ने माध्यम थियो तर अहिले आमसञ्चारकाे वैकल्पिक माध्यम बनेको छ। समाजमा हुने महिला हिंसाका कतिपय घटनामा देशका मूलधारका सञ्चारमाध्यमले भन्दा सामाजिक सञ्जालले उजागर गरेकाे थुप्रै उदाहरण छन् । सामाजिक सञ्जालमा भाइरल भएपछि मात्रै मुलधारका मिडियाले चासाे देखाउने गरेकाे पनि पाइन्छ ।

महिला हिंसाका चलेका अभिन्यन्ताहरू भने यो घटनाप्रति खास चासो कम देखाएको पाइन्छ । फेसबुकमा महिला हिंसाबारे आवाज उठाउनले महिला अभियन्ताको फेसबुक नियाल्दा सविता हत्या काण्डके बारेमा कतै लेखेके भेटिएन । हुन त पुराना र सरकारीदेखि गैरसरकारी क्षेत्रमा पहुँच र दखल राख्ने अभियन्ता सामाजिक सञ्जालमा नजोडिएको पनि हुन सक्छन् । यसको मतलब सबै महिला अभियन्तालाई भन्न खोजेको होइन कतिले आफ्नो तर्फबाट गरेका पनि छन् । मँ  कुनै अभियन्ता पनि होइन । एक सामान्य महिला हुँ तर समाजमा हुने यस्ता घटनाले मन चसक्क बनाउँछ । महिला हिंसा सहनुसँगै हिंसा गरेके देखेर पनि नदेखे जस्ताे गर्नु वास्तविक हिंसा हो ।

सामाजिक सञ्जाजमा हामी हाम्रा समाजमा हुने हिंसाका बारेमा आवाज उठायौ भने पनि धेरै हुनेछ । सबैले आफ्नाे आफ्नो स्थानमा हुने महिला हिंसाका घटनालाई सामाजिक संजाल मार्फत बाहिर ल्याउन सक्यौ भने पनि यस्ता घटनामा कमी आउने छ । सविता त एउटा पात्र हुन उनी जस्तै कति महिलाले यौन हिंसा र महिला हिंसाका कारण ज्यान फाल्नु परेके छ । सामाजिक सञ्जाल जहाँ आज एउटा अभियानले कसैले न्याय पाउनका लागि पहल गरिरहेके छ । सविताको मुद्दा अहिले अगाडि बढेको सुन्नमा आएको छ । उनले अवश्य न्याय पाउनेछिन् । यसको लागि विषेश धन्यवाद सामाजिक सञ्जालका अभियान्तामा ।

महिला हिंसाका बारेमा काम गर्ने संस्थाहरु धेरै छन् हाम्रो समाजमा तर पनि महिला हिंसाका घटना घटेका छैनन् । विषय फरक हाेला तर समाजमा यस्ता घट्ना बढ्दैछ । कहिले दाइजो नल्याएको आरोपमा त कहिले घर परिवारबाटै यौन हिंसामा जिउँदै चेलीहरु जलिरहेका । एक साता अघि मात्रै बजेट भाषणमा अर्थ मन्त्री बिष्णु पौडेलकाे भाषणमा सुनिएकाे थियाे, दाइजाे प्रथाको अन्त्य गरिनेछ । हरेक बर्ष भाषण गर्ने अनि समाजलाई भड्काउने यस्ता प्रथा भाषणमै सिमित राख्ने प्रवृत्ति सरकारकाे नेतृत्वमा हुनु राम्राे हैन । बरू दाइजो लिनदेन गर्नेलाई कडा कारबाही हुने कानुन बनाइनु पर्छ । यहाँ धेरै चेलीकाे कल्याण हुने थियो । तराईका छोरीलाई दाइजो नलएिको आरोपमा जिउँदै जल्नु पर्ने त थिएन ।

हामी कहाँ कानुन बलियाे नहुँदा महिला हिंसाका घटनाहरु यसरीनै बढिरहेकाे पाइन्छ । ठूलाले गरेके अपराधलाइ त देशमा कानुनने लै अल्मलाइ राख्छ । जबसम्म देशमा महिला हिंसा विरुद्ध कानुन बन्दैन् तब सम्म समाजमा यस्ता घटना नबढ्ला भन्न सकिन्न । हाम्रा छाेरीहरु सुरक्षित हुन गाह्रो अवस्था छ । पढ्नका लागि विद्यालय पठाएकी छाेरी सकुशल घर फकिन्छ भन्ने अवस्था छैन । निर्मला, सम्झना जस्ता हत्या प्रकरण फेरी नहोला भन्न सकिन्न ।

सामाजिक सञ्जालकाे प्रयोगले आज एउटी नारीले न्याय पाउने आशा जगाएको छ । प्रविधिले हामीलाइ समाजमा हुने नकारात्मक घटनाकाे वकालत गर्ने अवसर समेत दिएकाे छ । न्यायले नसुनकाे आवाजलाई बुलन्द बनाउन सघाएको छ । महिला हिंसा सम्बन्धी अभियानले समाजमा हुने घटनालाई कम गर्ने छ । सामाजिक संञाल अभियन्नतालाई सलाम । आउनुहोस्र तपाई हामी पनि समाजमा हुने सबै खाले महिलो हिंसाको अत्य गरौं । सामाजिक सञ्जालकाे यसैगरी सदुपयाेग गराैं ।



प्रतिक्रिया दिनुहोस !