१३ बैशाख २०८१, बिहिबार

नहरमा बालुवा थुप्रिँदा विद्युत सेवा अवरुद्ध, डोल्पा सदरमुकाम अन्धकार

प्रकाशित मिति :  15 June, 2021 11:47 am


डोल्पा । जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ । एउटा मात्र टर्वाइनबाट सञ्चालनमा रहेको विद्युत् सोमबार बिहानदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए ।

दुई टर्वाइनमध्ये लामो समयसम्म एउटामा खराबी आएपछि एउटा मात्र सञ्चालन हुँदा सदरमुकामभरि विद्युत् आपूर्ति हुन सकेको छैन। अहिले नहरमा बालुवा भरिएपछि एक मात्र टर्वाइनसमेत बन्द गर्नुपरेको हो । टर्वाइन थप्नका लागि नेपाल विद्युत् प्राधिकरणमा माग गरे पनि फाइल अड्किएको बताइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै स्वास्थ्य सेवा कार्यालय र अन्य ठाउँमा समस्या उत्पन्न भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए ।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयले ४० केभिएको जेनेरेटर खरिद गर्ने प्रक्रियामा रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।

केन्द्रीय प्रसारण लाइन नपुगेको डोल्पामा यही जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत्बाट काम हुँदै आएको छ । दुई सय किलोवाट क्षमताको यो आयोजनाबाट यहाँका एक हजार २५० घरधुरीले सेवा लिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !