१५ चैत्र २०८०, बिहिबार
कोकाकोला कर छली प्रकरण

कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी

प्रकाशित मिति :  18 December, 2021 2:35 pm


काठमाडौं । अन्ततः एक वर्ष लामो अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि बोटलिङ प्ल‌ान्ट, बोटलर्स नेपालमाथि स्वामित्व किनबेचमा कर छली गरिएको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । विभागले अन्तिम कानुनी प्रक्रियाअन्तर्गत बोटलर्स नेपाल लिमिटेडका तत्कालीन र वर्तमान सञ्चालकहरूलाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

विभागले बोटलर्स नेपालमा पछिल्लो स्वामित्व किनबेचदेखि नै सञ्चालक समितिको अध्यक्ष रहँदै आएकी भारतीय नागरिक शुक्ला वासनसहित तत्कालीन र वर्तमान सञ्चालक समितिका सदस्यहरू, तत्कालीन प्रबन्ध सञ्चालकहरू र वित्त व्यवस्थापकसहित १५ जनाका नाममा सात दिने सार्वजनिक सूचना प्रकासित गरेको हो ।

विभागले कम्पनी बोटलर्स नेपाल लिमिटेडमा २०७७ मंसिर २३ गते १ बजे छापा मारेर सम्पूर्ण महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएको थियो । त्यसपछि कम्पनीका वर्तमान प्रबन्ध सञ्चालक प्रदीप पाण्डे, सञ्चालक समितिका तीन जना नेपाली सदस्य सुरेन्द्र सिलवाल, नर्मदेश्वरनारायण सिंह र त्रिलोचन उप्रेती, वित्त निर्देशक अशोक मण्डल, कम्पनी सचिव प्रतिमा बर्मासहित अन्य पदाधिकारीसँग पटक-पटक बयान लिएको थियो ।

बयानका लागि बारम्बार गरिएको पत्राचार र सम्पर्कपछि पनि सञ्चालक समितिकी अध्यक्ष शुक्ला वासन र अन्य विदेशी वर्तमान सञ्चालकहरू विभागमा उपस्थित भएका थिएनन् भने तत्कालीन प्रबन्ध सञ्चालक र सञ्चालकहरूले विभागको आग्रहलाई पूरै बेवास्ता गरेका थिए ।

“नेपाल सरकार राजस्व चुहावट सम्बन्धी मुद्दाको प्रक्रियामा समावेशी यी व्यक्तिहरू प्रतिवादी कायम भएका छन्।  बोटलर्स नेपाल प्रा. लि., बालाजु, काठमाडौंमा संलग्न विभिन्न मितिमा यी व्यक्तिहरुलाई पत्राचार गरी यस विभागबाट उपस्थित हुन आग्रह गरिएकोमा उनीहरू उपस्थित वा यस विभागमा पत्राचार गरेनन्,” विभागको सूचनामा भनिएको छ, “राजस्व चुहावट (जाँचबुझ तथा नियन्त्रण) ऐन, २०५२ को दफा ११ का उपदफा (४) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको ७ (सात) दिनभित्र राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरमा हाजिर हुनुपर्नेछ ।”

विभागले उनीहरू सात दिनभित्र विभागमा हाजिर नभएमा राजस्व छली मुद्दा अदालतमा दायर गर्ने तयारी गरेको छ । विभागका अनुसार यसरी प्रतिवादी बनाएकाहरूमा बोटलर्स नेपालको सञ्चालक समितिकी अध्यक्ष शुक्ला बासन, सञ्चालकहरू माल्भिन तान चुन पिन, मोहमद अमिन, गौरव कोसला, सन्दीप बजोरिया, देवब्रत मुखर्जी, सुमन्त दत्ता, जहबार साेलाइ कप्पुस्वामी, संकेत रे, डेनिस मेरी लुइस ल्वेन्स, केथ ल्यान स्टाचे, चोलिया डे सिल्भा छन् ।

यस्तै, तत्कालीन प्रबन्ध सञ्चालकहरू सलमान लतिफ रान, पुनित चन्द्रपाल बार्सने र वित्त नियन्त्रक सुमीत गोयल यो स्वामित्व किनबेच प्रक्रियामा नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतिरी छली अभियोगमा प्रतिवादी बनाइएका छन् ।

विभाग स्रोतका अनुसार बोटलर्स नेपालका दुई प्लान्टको किनबेच प्रक्रियामा करिब ५ अर्ब रुपैयाँ राजस्व छली भएको अनुसन्धानले देखाएको छ । यसमा ब्याज र जरिवानाकाे थप गणना हुने व्यवस्था छ ।

तत्कालीन अधिराजकुमारी हेलन शाहको नाममा २०२९ सालमा दर्ता भएको बोटलर्स नेपाल प्रालिमा भारतीय लगानीकर्ता नकुल धर्मचन्द कमानीले २०३५ सालमा ५ करोड भारु लगानी गरि २०३६ सालदेखि नेपालमा कोकाकोलाको उत्पादन सुरु गरेका थिए । कमानीले सन् १९८३ मा दरबारलाई आफ्नो स्वामित्व बेचेर फर्किएपछि मात्र बोटलर्स नेपालको स्वामित्व पाँच पटकसम्म किनबेच भएको छ ।

अन्तिम पटक सन् २००४मा एफएन्डएन कोकाकोका सिंगापुरले दक्षिण अफ्रिकाको गुत्से परिवारलाई बोटलर्स नेपालको सत प्रतिशत स्वामित्व बेचेको र सन् २००७ मा यो कम्पनीलाई स्टक एक्सचेन्जमा सूचीकृत गरिएपछि ७६ प्रतिशत स्वामित्व गुत्से स्वामित्वको कोकाकोला साब्को एसिया लिमा रहँदै आएको थियो ।

सन् २०१४ मा गुत्से परिवारले आफ्नो स्वामित्वको सेयर अमेरिकी माउ कम्पनी द कोकाकोला कम्पनीलाई बेचेर फर्किएपछि यी दुई मुख्य स्वामित्व किनबेच प्रकरणमा नेपालका नियामकीय निकायलाई सही जानकारी नदिइ यहाँ तिर्नुपर्ने अग्रिम आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकरलगायतका कर छलिएको पाइएको हो ।

टक्सार आर्थिक म्यागजिनले साउन, भदौ र मंसिरको अंकमा कोकाकोलाको स्वामित्व किनबेच प्रकरणबारे प्रमाणसहित विस्तृत सामग्री प्रकासित गरेको छ ।


यो पनि पढ्नु होस् ।

बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो, अदालतमा मुद्दा लैजान रहस्यमय ढिलाइ

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै


 



प्रतिक्रिया दिनुहोस !