१३ बैशाख २०८१, बिहिबार

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन

प्रकाशित मिति :  28 September, 2021 1:41 pm


काठमाडौं । नेपाल बाहिरै पटक-पटक स्वामित्व किनबेच गरेर नेपालको प्रचलित कर कानुनअनुसार अग्रीम आयकर,आकस्मिक लाभकर र पुँजीगत लाभ कर छलेपछि कर अनुसन्धानमा परेको कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपाल लिमिटेडको व्यवस्थापनले अनुसन्धान प्रक्रिया छल्ने नीति अवलम्बन गरेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागले स्वामित्व किनबेच प्रकरणमा बोटलर्स नेपालको सञ्चालक समितिका पदाधिकारीलाई बयानका लागि बोलाए पनि पक्राउ पर्ने डरले बोटलर्स व्यवस्थापनले कोभिड-१९ महामारीको बहाना बनाउँदै भौतिक उपस्थिति नै बन्द गरेको हो ।

वर्षमा ६ पटक सञ्चालक समितिको बैठक बस्नु पर्ने भए पनि गत वर्ष मंसिर  २३ गते राजस्व अनुसन्धान विभागले छापा मारेर महत्त्वपूर्ण दस्तावेज, कम्प्युटर, ल्यापटप कब्जामा लिएयता कोरोनाको कारण भन्दै सञ्चालक समितिको बैठक नै भर्चुअल रुपमा गर्न थालिएको पाइएको छ । यसै क्रममा बिहीबार पनि सञ्चालक समितिको भर्चुअल बैठक बोलाइएको छ ।

राजस्व अनुसन्धान विभागले गत साउन र भदौमा दुई पटक सञ्चालक समितिका सदस्यहरूलाई बयानका लागि बोलाए पनि दुई जना नेपाली सञ्चालक सुरेन्द्र सिलवाल र नर्मेदेश्वर नारायण सिंहमात्र उपस्थित भएका थिए,  विज्ञ सञ्चालक त्रिलोचन उप्रेती बयानका लागि नगएको विभाग स्रोतले बतायो । स्रोतका अनुसार बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई प्रतिनिधित्व गर्ने सञ्चालक समितिकी अध्यक्ष शुक्ला वासन, मोहम्मद अमीन गोनियम, मेल्भिन तन छुन पिनले विभागमा बयानका लागि उपस्थित भएका छैनन्।

स्वामित्व किनबेच भएपछि द कोकाकोला कम्पनीको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुपबाट हेरफेर गरिएको सञ्चालक समिति । सन् २०१४ बाटै शुक्ला वासन बोटलर्स नेपालको अध्यक्ष रहँदै आएकी छिन् ।

बोटलर्स नेपालको सञ्चालक समितिको अध्यक्ष शुक्ला वासन सन् २०१४ मा कम्पनीकाे स्वामित्व किनबेच हुँदादेखि नै बोटलर्स नेपालको अध्यक्ष रहँदै आएकी छिन । त्यसबेला स्वामित्व किनबेचमा मुख्य भूमिका निर्वाह गर्ने सञ्चालक समिति सदस्य संकेत रे हाल कोकाकोलाको लगानी संयन्त्र बोटलिङ इभेस्टमेन्ट ग्रुप साउथ एसियाको तर्फबाट कोकाकोला इन्डिया एन्ड साउथ वेस्ट एसिया‌ (इन्स्वा)का प्रेसिडेन्ट छन् ।

यस्तै, सोही प्रक्रियामा संलग्न तत्कालीन सञ्चालक एसके जवाहर हाल कोकाकोला ‌फिलिपिन्समा वित्त निर्देशक छन् भने उनीपछि नेपालको वित्तीय नियन्त्रकको काममा सुमीत गोयल र अशोक मण्डल संलग्न हुँदै आएका छन् भने प्रतिमा बर्माले कम्पनी सचिवका रुपमा कानुनी कागजात बनाउने काम गर्छिन ।

अनुसन्धान प्रक्रिया अघि बढेसँगै सुमीत गोयलको सिंगापुर सरुवा गरिसकिएको छ । उनी गैरकानुनी रुपमा बोटलर्स नेपालको सहायक कम्पनी ट्रोयका ट्रेडर्सको स्वामित्व हत्याउने प्रक्रियामा संलग्न थिए ।

बोटलर्स नेपाल लिमिटेड, सेयर बजारमा सूचीकृत सार्वजनिक कम्पनी हो । २०३१ सालमा उद्योगका रुपमा दर्ता भएको बोटलर्स नेपाल सन् २००७ मा नेपाल स्टक एक्सचेन्जमा दर्ता भएको थियो । त्यसयता मात्रै बोटलर्स नेपालको बहुमत सेयर दुई पटकसम्म किनबेच भएको छ ।

सन् २००८ मा कोकाकोला कम्पनी र खेतान ग्रुपबीच भएको सहमतिअनुसार कोकाकोला कम्पनीका तर्फबाट कम्तिमा ३ जना सञ्चालक समिति सदस्य नियुक्त गरिँदै आइएको छ । द कोकाकोला कम्पनीले बोटलर्स नेपालमा बोटलिङ इन्भेस्टमेन्ट ग्रुपबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू प्रत्येक १ देखि २ वर्षको बीचमा परिवर्तन गर्ने रणनीति अख्तियार गर्दै आए पनि सञ्चालक समितिकी अध्यक्ष शुक्ला वासन भने लामो समयदेखि सोही पदमा कायम छिन्  ।

बोटलर्स नेपालको यसरी भयो, किनबेच ।

छोटो अवधिमा परिवर्तन हुने सञ्चालकले आफूलाई यसअघिको किनबेचको कारोबारबारे थाहै नभएको बयान दिने गरेका छन् । कम्पनीको सदस्य सचिव वा प्रबन्ध सञ्चालकका रुपमा रहेका प्रबन्ध निर्देशक प्रदिप पाण्डेयले पनि यही बयान दिएको स्रोतले बतायो ।

“अनुसन्धानको चरण सकिइसकेको छ, स्वामित्व किनबेच भएको भन्ने कुरा उनीहरूले बयान दिइसकेका छन्, ” विभाग स्रोतले भन्यो- छिट्टै यो प्रक्रिया टुंगोमा पुग्छ ।”

महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा बोटलर्स नेपालको स्वामित्व किनबेचमा नेपाललाई कर छलिएकाले कर निर्धारण गरेर तिराउन उल्लेख भइसकेको छ । यसबारे टक्सार आर्थिक म्यागजिनले साउन र भदौ अंकमा बोटलर्स नेपालको स्वामित्व किनबेचबारे सप्रमाण विस्तृत विवरण प्रकाशित गरेको छ ।

यो पनि पढ्नु होस्ः

महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै

बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

कर छली प्रकरणमा परेको कोकका नेपाल प्रमुख फेरिँदै, मजदूरहरू आन्दोलित

 

 



प्रतिक्रिया दिनुहोस !