१२ बैशाख २०८१, बुधबार

पर्यटन मन्त्रालय मातहतका कामलाई प्रभावकारी बनाउन निर्देशन

प्रकाशित मिति :  13 March, 2020 10:13 pm


काठमाडाैं, ३० फागुन । 

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले मातहत निकायका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गतका नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रतिष्ठान, कोष, सङ्ग्रहालय र विकास समितिका उच्च अधिकारीसँगको छलफलमा सञ्चालित आयोजनाको समीक्षा गर्दै भावी रणनीति बनाउन आयोजित उच्चस्तरीय कार्यशाला गोष्ठीमा सो निर्देशन दिइएको हो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा सम्पन्न दुईदिने गोष्ठीमा मन्त्रालय र सम्बन्धित निकायले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र मन्त्रालयको प्राथमिकतायुक्त कार्यक्रमको हालसम्म्को प्रगतिबारे प्रस्तुतिका साथै आगामी आर्थिक वर्षसहित तीन वर्षको बजेट तथा कार्यक्रममा समावेश हुनुपर्ने विषयको अवधारणा प्रस्तुत गरिएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

गोष्ठीको पहिलो दिन मन्त्रालय र नागरिक उड्डयन क्षेत्रको प्रस्तुति थियो भने आज दोस्रो दिन नागरिक उड्डयन र पूर्वाधार विकासका छुट्टाछुट्टै समूह विभाजन गरी उक्त क्षेत्रको विकासका लागि अवलम्बन गर्नुपर्ने नीति, योजना, कार्यक्रम, बजेट, अन्तर निकाय समन्वय र नतिजा खाकाको प्रस्तुति गरिएको मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिनुभयो ।

तीन वर्षको भावी कार्यक्रम, तीन तहका सरकारको साझेदारीको खाका, अन्तरनिकाय समन्वय, पर्यटन क्षेत्रको पुनरूत्थान योजना, नेपाल वायुसेवा निगम र उड्डयन क्षेत्रको सुधार, वैदेशिक लगानी, जनशक्ति विकास, चालु परियोजनाको कार्यप्रगति लगायतका विषयमा गहन अन्तरक्रिया र पृष्ठपोषणमार्फत कार्यान्वयन योजना तयार गरिएको छ ।

कार्यक्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले हरेक राजनैतिक परिवर्तनपश्चात् जनताको विकास र समृद्धिप्रतिको तीव्र अपेक्षा रहने हुँदा जनअपेक्षा सम्बोधन हुने गरी मन्त्रालय र अन्तर्गतका नीति, कार्यक्रम तय हुनुपर्ने र कार्यसम्पादनलाई नतिजामुखी बनाउनेतर्फ उन्मुख रहन निर्देशन दिनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रको प्रमुख आधार तथा ग्रामीण जनताको आवतजावतको संवैधानिक हकको सुनिश्चितताका लागि नागरिक उड्डयन क्षेत्रको विकास गरिनुपर्ने बताउनुभयो ।

पर्यटन क्षेत्रका नवीन आयामलाई अवलम्बन गर्दै यस क्षेत्रको लाभ जनस्तरसम्म लैजाने गरी पर्यटन क्षेत्रको दिगो विकास गर्नुपर्ने तथा ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी पन्धौँ योजनाको लक्ष्य हासिल गर्दै समृद्ध नेपाल र सुखी नेपाली अभियानमा यस क्षेत्रको भूमिका उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपालमा प्रचुर सम्भावना रहेको पर्यटनको लाभ जनस्तरसम्म लैजान तीन तहका सरकार तथा निजी क्षेत्र समेतको साझेदारीमा नतिजामुखी ढङ्गले कार्यसम्पादन गर्नेतर्फ सबै निकायका कार्यक्रम केन्द्रित रहनुपर्ने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !