४ बैशाख २०८१, मंगलबार

पर्यावरण जोगाउँदै, आम्दानी बढाउँदै राेल्पाली महरा

प्रकाशित मिति :  17 March, 2020 7:28 am


राेल्पा, ४ चैत । 

विकास र आयआर्जनको नाममा प्रकृतिको विनास गर्नसमेत पछि नपर्ने मानसिकता विकसित भइरहको यथार्थताबीच केही युवाहरू भने पर्यावरण संरक्षणमा पनि उत्तिकै सक्रिय भएर लागिरहेका पाइन्छन् । आफ्नो आम्दानीसमेत बढाउदै पर्यावरणीय संरक्षणमा लागेका यस्तै उदाहरणीय युवा हुन्– रोल्पाका प्रेमबहादुर महरा ।

मंगलबार, चैत्र ४, २०७६ काे काराेबार दैनिकमा किरण आचार्यले समाचार लेखेका छन्,

आफ्नो नामका सार्थकता दिंदै उनी पर्यावरण जोगाउने पेशालाई प्रेम गरिरहेका भेटिन्छन् । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको वडा नं. २ मा पर्ने खुंग्रीका स्थायी बासिन्दा महराले अंगालेको पेशा हो मौरीपालन । विश्वमा मौरीको संख्या जोखिममा परिरहेको अवस्थामा उनको मौरी बढाउने अभियान भने सफल बन्दै गइरहेको छ । हिमालयन बि फर्म (साविक खुुंग्री गाविस वडा नं ३) का प्रोपाइटर महराले तयार गरेको ‘आमा घार’ नामको मौरीको घारप्रति मौरीपालकको आकर्षण बढ्दो छ । मौरीपालनसँगै आफ्नै मोडेकाले मौरी घार तयार गरी बिक्री गरिरहेका उनी आफ्नै गाउँमा रमाउने युवाहरूको उदाहरण बनेका छन् ।

जलवायु परिवर्तन र बढ्दो विषादीको प्रयोगले मौरीलाई विश्वमै खतरा छ । अमेरिकामा मात्र मौरीको संख्या ४० देखि ५० प्रतिशतले हराउँदै गइरहेको तथ्यांक छ । मौरी विज्ञ डा. रत्न थापा भन्छन्, “हामीले खाने हरेक तीन चम्चामा एक चम्चामा मौरीको परागसेचनको हिस्सा छ, मौरी बचाएनौं भने खाद्य संकट मात्र हैन वातावरण नै उथलपुथल हुन्छ ।” नेपालमा मौरी मासिँदा गुराँस र अन्य बनस्पती मासिने र वतस्पति मासिँदा भूक्षय र हिउँ पग्लँदै जाने भएकाले विश्वलाई बचाउन नेपालको मौरी बचाउनुपर्ने तर्क उनको छ । रोल्पाका मौरीपालक महरा भने मौरी पालनको यो गाम्भीर्यताको बारेमा थोरै मात्र जानकारी राख्छन् । तर, उनले गरेको कामले आफू सन्तुष्ट त छन् नै, पर्यावरण जोगाउने काममा पनि योगदान गरिरहेका छन् ।

खुंग्री क्षेत्र माहुरी पालनको सम्भावना बढी भएको क्षेत्र हो । चिउरीको ठूलो जंगल रहेकाले प्रांगारिक चिउरी महको सम्भावना यो क्षेत्रमा बढी छ भने तोरीको खेति पनि हुने भएकाले तोरीको मह पनि यहाँको सम्भावना हो । यसै पनि खुंग्री क्षेत्रमा मौरीको घार नभएका घर कमै हुन्थे पहिलेदेखि नै । उनको परिमारमा पनि परम्परागत घार थिए । “अंशवन्डामा मलाई ३ घार माहुरी परेको थियो, वावुले पनि माहुरी पालेका कारण र सानो छंदा माहुुरी पाल्न मन पर्ने कारणले पनि माहुरी पालनलाइ पेशाको रूपमा अंगाल्ने विचार गरेको हुँ,” उनले माहुरी पालनको कथा सुनाए । उनको काम देखेर जिल्लामा प्रंसशा हुन थाल्यो आर्थिक वर्ष २०७१÷०७२ को युवा लक्षित कार्यक्रम अनुसार साविक जिल्ला कृषि विकास कार्यालयवाट १८ वटा उन्नत जातका घार र एक सेट औजार अनुदानमा पाएका उनलाई काम गर्न थप उर्जा मिल्यो ।

अरु युवाजस्तै महरालाई पनि विदेश गएर पैसा कमाउने ‘भुत’ सवार नभएको भने हैन । २०४९ सालको दिएका महसार स्नातक सम्म अध्ययन गर्दा गर्दै गाउँमै किराना पसल शुरु गरे तर सोंचे जस्तो आम्दानी भएन । “रोजगारीको अरु सम्भावना नदेखेपछि उनी वैदेशिक रोजगारीमा जाने विचार गरेँ,” उनले भने । दश वर्षे सशस्त्र युद्ध चलिरहेको अवस्थामा उनी २०५८ माघमा कतार पुुगेर ३० महिना उतै विताए, फर्केर केही महिना घर बसेर फेरी साढे ५ वर्ष दुवईमा बिताएका थिए । दुबईबाट फर्केपछि भने उनले विदेश जाने सोच वनाएनन् । केही जग्गा र घडेरी गाउंमै किने र माहुरी पाल्ने विचार गरे ।

अहिले उनीसँग २३ वटा आधुनिक र ४५ वटा मुढे घारसहित ६८ वटा माहुरीका घार छन् । स्थानीय सेरेना जातको माहुरी छन् घारमा । “असोजदेखि मंसिरको सिजनमा ३ देखि ४ पटकसम्म मह निकाल्छु, एउटा उन्नत घारबाट एक पटकमा ४ केजी र मुढेघारबाट १ पटकमा ३ केजीसम्म मह निकाल्न मिल्छ,” उनले थपे । चैत वैशाखको सिजनमा भने १ पटकमात्रै मह निकाल्ने गरेको बताउँछन् । मह किन्न ग्राहकहरू घरमै आउछन्, प्रतिकेजी एक हजारमा बिक्री हुन्छ । घरमै आएर मह लैजानेहरूको भिड हुने कारणले उनले उपभोक्तालाइ मह पुु¥याउन नसकेको बताउँछन् । सय वटासम्म उन्नत घार वनाउने उनको लक्ष्य छ ।

महराले आफ्नै सीप प्रयोग गरेर लामो खालको उन्नत घार वनाएका छन् । यो घारमा माहुरीको रेखदेख गर्न र मह निकाल्न सजिलो हुने उनले वताए । उनले बनाएको घारको नाम आमा घार भन्ने गरेका छन् । यस घारमा रानी माहुुरी हेर्न र रानीविहीन भएका माहुरीलाई समेत मिसाउन सजिलो हुने वताए । बढ्दो सहरीकरण, तरकारीमा विषादीको प्रयोग तथा चिउरीका रुख तथा जंगल विनास तिव्र भएकोले माहुरीपालनमा चुनौति थपिएको उनले महशुस गरेका छन् । लगनशील भएर मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनको दावी छ । विदेश जान होइन स्वदेशमै बसेर इलम युवाहरूले गर्नुपर्ने उनको भनाइ छ ।

महराको काम देखेर उनका छिमेकी, आफन्त र साथीहरू पनि खुसी छन् । रोल्पाबाट बाहिर जिल्ला जाने बाटोमै मौरी पालन गरिरहेका महरालाई साथीहरू बाटो पर्दा पसेर उनको हौसला बढाउने गर्छन् । “प्रेमजी हाम्रो क्षेत्रका उदाहरणीय युवा हुन्, प्रेम हाम्रो साथी हुन् भन्न पाउँदा गर्व लाग्छ,” माध्यमिक तहका स्कुले साथीसमेत रहेका रोल्पा नगरपालिका भोालनाथ आचार्य भन्छन्, “जति पढेलेखे पनि आफ्नो गाउँठाउँ र समाजप्रति योगदान गर्न सकेनौं भने पढाइको सार्थकता रहँदैन, युवाहरूका लागि प्रेरणाका स्रोत बनेको पाउँदा खुशी लाग्छ ।” नेपाललाई आर्थिक हिसाबले आत्मनिर्भर बनाउन युवाहरू व्यवसायिक कृषिमा लाग्नुपर्ने तर्क राख्ने आचार्य सामाजिक अभियन्तासमेत हुन् । आचार्य जस्ता साथीहरू भेट्न आइरहँदा महरालाई थप काम गर्ने उर्जा प्राप्त हुने बताउछन् ।

तथ्यांकअनुसार विश्वभर २० हजार प्रजातीको मौरीले १ लाख ७० हजार प्रजातीको विरुवालाई परागसेचन गर्छन् । माहुरीहरू मर्दै गएमा यी प्रजातीका बिरुवा पनि हराउँदै जान्छन् । नेपालमा जम्मा करिब दुई लाख गोला माहुरी रहेको अनुमान छ । एउटा गोलामा ३० देखि ४० हजार माहुरी हुन्छन् । करिब एक लाख २० हजार सेरेना र ५० हजारको संख्यामा मेलिफेरा रहेको र भीर मौरीको संख्या १० देखि १२ हजारको संख्यामा रहेको तथ्यांक छ । नेपालमा लोकल जातका सेरेना माहुरी र विकासे जातका मेलिफेरा माहुरी घर पालुवा माहुरी हुन् भने भीर माहुरी र कठौरी जातका जंगली माहुरी जंगलमा पाइन्छन् । मौरीको संख्या घट्दै जाने हो भने हिमाली भेगका बोट विरुवाहरूको संख्या घट्ने र हिउँ पग्लदै जाने जोखिम भएकाले पनि नेपालमा मौरी प्रवद्र्धन गर्नु विश्वलाई नै जोगाउने काम भएकाले मौरी प्रवद्र्धनमा सरकारले ध्यान दिनुपर्ने विज्ञहरूको तर्क छ ।



प्रतिक्रिया दिनुहोस !