७ बैशाख २०८१, शुक्रबार

चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित नेपाली महाकाव्यको इतिहास र विश्लेषण कृति सार्वजनिक

प्रकाशित मिति :  23 September, 2022 4:50 pm


सुरेस तिमल्सिना
काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा वि.स. २०२४ सालमा जन्मिएका चन्द्रप्रसाद न्यौपाने सन्तानका रूपमा नवौँ तथा छोराका हिसाबमा भने सातौँ छोरा हुन । उनले नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्य चन्द्रयुग लेखेका हुन् । चन्द्रयुगको ३२ हजार श्लोकको दोस्रो खण्ड पनि प्रकाशन भइसकेको छ ।

उनले अहिलेसम्म ७० हजार श्लोक लेखेर प्रकाशन गरिसकेका छन् । यो भनेको झण्डै ७० वटा किताब बराबर हो । उनका अनुसार ‘चन्द्रयुग’जतिको महाकाव्य हुन ३० वटा महाकाव्य जोड्नुपर्छ । न्यौपानेका एक दर्जन महाकाव्य प्रकाशन भइसकेका छन् । एक दर्जन प्रकाशनको चरणमा छन् । हालसम्म सबै गरेर न्यौपानेका ४० वटा पुस्तक प्रकाशन भइसकेका छन् । अरू थुप्रै प्रकाशनको चरणमा छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (पद्यकाव्य) विभागको संयोजनमा महाकाव्यकार एवं समीक्षक चन्द्रप्रसाद न्यौपानेले लेखेका नेपाली महाकाव्यको इतिहास र विश्लेषण नामक कृतिको प्रकाशन भएकोे छ । यस कृतिमा २३२ जना कविका प्रकाशित र केही अप्रकाशित समेत गरी ४३२ ओटा महाकाव्यात्मक कृतिको अध्ययन गरिएको छ । कृति प्रकाशन भए संगै उनी सामाजिक संजालमा लेख्छन :-

प्राक्कथन

कुन महाकाव्य कत्रो ? कुन महाकाव्यमा कसका र केका बारेमा लेखिएको छ ? युगको प्रतिनिधित्व गर्ने महाकाव्य छ कि छैन ? को ठुलो कवि र को सानो कवि महाकवि कसलाई भन्ने संस्कृत वा अन्य भाषाका तुलनामा नेपाली महाकाव्य किन स्तरीय छैनन् भन्नेजस्ता अनेक कुरा नेपाली महाकाव्यका अध्येताहरूबाट आइरहन्थे र ममा जिज्ञासा थियो, साँच्चै कस्ता छन् त नेपाली महाकाव्यहरू? यसपछि म पनि महाकाव्यलेखन क्षेत्रमा लागेको एउटा सामान्य कवि भएकाले मैले अरूद्वारा लेखिएका महाकाव्य खोजी खोजी पढ्न थालेँ जसले मलाई एउटा पूर्ण महाकाव्य लेख्न मद्दत गरोस् । चन्द्रयुग बृहत्तर महाकाव्यलाई पूर्णता दिनका लागि मैले यो मेहनत गर्नैपर्ने थियो ।

महाकाव्यसम्बन्धी जिज्ञासा बढ्दै गयो र सँगसँगै नेपाली महाकाव्यहरू पढ्दै गएँ । जान अनजान या मनोमानी तबरले लेखिएका र त्यति नपढिएका महाकाव्यहरूसँग म घुलमिल हुन थालेँ । आफैँसँग सङ्कलित दश, बिस हुँदै दुई सयजति महाकाव्य पढिसकेपछि बाँकी पुस्तक पाउने कहाँ ? देशका नाउँ चलेका पुस्तकालयहरूमा पलेटी कसेँ र महिनौँ बिताएँ । राष्ट्रका चर्चित पुस्तकालयहरूमा भोकतिर्खा खपेर धाउँदा पनि चाहिएको सामग्री नपाउँदा विस्मित् भएका क्षणहरूले अझै पनि बारबार सम्झाइरहन्छन् । विभिन्न कोणबाट महाकाव्यका सम्बन्धमा गरेका विद्यावारिधिसम्मका शोधपत्रहरू खोजी खोजी हेरेँ । सबै पढ्न नभ्याए पनि वैदिक कालदेखिका पाएसम्मका संस्कृतका उपनिषद्हरू, पुराणहरू, उपपुराणहरू, औपपुराणहरू, महाकाव्यलगायतका अनेक किसिमका काव्यहरू पनि सरसर्ती पल्टाएँ र श्लोकका छनक, बुनोट, विषयवस्तु, प्रस्तुतीकरणका तरिका बुझ्दै काव्यको स्तरसम्म बुझ्न थालेँ । यसरी झन्डै दुई सय शीर्षकका संस्कृत काव्य महाकाव्यहरूको रचना तरिका बुझेपछि म नेपाली महाकाव्यहरूको अध्ययनतर्फ अझै आकृष्ट भएँ ।

यस क्रममा २३२ कविका ४३२ महाकाव्यको लेखन तथा कालक्रमिक अध्ययनपश्चात् उल्लिखित सङ्ख्यामध्ये आधा महाकाव्यहरू पूर्वीय काव्यपरम्पराको सैद्धान्तिक मार्गलाई नछोडी हिँडेको पाइयो भने आधाले पूर्वीय सैद्धान्तिक मार्गलाई छोडेर आफूखुसी बाटो बदलेको भेटिन्छ । विषयवस्तुका दृष्टिकोणले ४३२ महाकाव्यमध्ये १०० ओटाभन्दा बढी अर्थात् एक चौथाइ महाकाव्य धार्मिक एवम् प्राचीन पौराणिक विषयवस्तुलाई नै लिएर देखापरेका छन् भने ७५-८० ओटा महाकाव्य ऐतिहासिक विषयवस्तुलाई लिएर लेखिएका छन् । बुद्धसम्बन्धी विषयमा लेखिएका ९ ओटा महाकाव्य भेटिएका छन् । बाँकी सङ्ख्याका महाकाव्यहरू राष्ट्र, राष्ट्रियता, वर्गद्वद्व, भूगोल, खगोल, स्वैरकल्पना, परराष्ट्र, वंशावली, आत्मगाथालगायत विविध सामाजिक विषयवस्तुलाई आधार बनाएर लेखिएका पाइन्छन् । प्रस्तुत ग्रन्थमा समेटिएका महाकाव्यहरू महाकाव्यको विधागत सिद्धान्तका आधारमा कस्ता कस्ता छन् र तिनमा समेटिएका विषयवस्तु र सन्देशका दृष्टिले के छन् भन्ने विषयमा नेपाली महाकाव्य र महाकाव्यकार लेखन तथा कालक्रमिक अध्ययनअगाडिका सूचनामूलक खण्डहरूमा विस्तृत रूपमा जानकारी दिइएको छ ।

यस क्रममा यसमा नेपाली महाकाव्यको इतिहास पृष्ठभूमिरप्राचीन काल, संस्कृत भाषा र अन्य भाषाका केही महाकाव्यका काव्यकाल, नेपाली कवितामा शास्त्रीय छन्दप्रयोगको इतिहास, नेपाली महाकाव्यलेखनका उपक्रम तथा कालविभाजन, महाकाव्यीय उपक्रम (पूर्णरअपूर्ण) र तिनका कालविभाजन, नेपाली महाकाव्यको लेखन तथा प्रकाशनको कालक्रमिक सूची, महाकाव्य सिद्धान्त, महाकाव्यसम्बन्धी केही संस्कृताचार्य, केही पाश्चात्य आचार्य, केही हिन्दी आचार्य र केही नेपाली आचार्यहरूका सैद्धान्तिक दृष्टिकोणको सामान्य जानकारी दिइएको छ । त्यस्तै विषय र पात्र छनौटका दृष्टिमा नेपाली महाकाव्य पौराणिकरधार्मिक विविध विषयक, बुद्ध विषयक, इतिहासरराजनीति विषयक, जीवित नायक विषयक, सामाजिक, समसामयिक विविध विषयक महाकाव्यहरू कुन कुन र के कति छन् भन्ने जानकारी पनि यसमा दिइएको छ ।

उल्लिखित सङ्ख्याका महाकाव्यको अध्ययनपछि यिनबाट के सन्देश पाइयो भनेर कसैले प्रश्न गर्यो। भने मैले भन्नुपर्ने हुन्छ स् सिङ्गो युगचित्रण भएको महाकाव्य पाउन हम्मे हम्मे छ । कतिपय महाकाव्यहरू पढ्दा त समय बर्बाद भइरहेको पनि अनुभूति हुन्छ । अरूले लेखेको देखेर, रहरले, चाँडै महाकाव्यकाररमहाकवि हुने इच्छाले जानी नजानी जबर्जस्ती लेखिएका महाकाव्यहरूका डङ्गुरले भाषा साहित्यको विकासमा के टेवा पुर्यााउला रु आफ्नो भविष्य हेर्न नजान्ने ज्योतिषीले दुनियाँको भविष्य हेरेजस्तो नेपाली महाकाव्यलेखनको अवस्था देखिन्छ । विज्ञहरूबाट जाँचबुझ गराई प्रकाशनमा ल्याउन सके महाकाव्य लेखनका सम्बन्धमा केही स्तरीकरण र परिपक्वता आउने थियो कि भन्ने मलाई लाग्दछ ।

नेपाली महाकाव्यलेखनको अवस्था हेर्दा चुनौती र सन्देश दुवै एकैसाथ आएका देखिन्छन् । लेख्य भाषामा एकरूपता नहुनु, यस सम्बन्धमा सम्बन्धित निकायहरू नै एकमत नहुनु, विश्वविद्यालय वा कुनै पनि शैक्षणिक निकायहरूबाट अध्ययन–अनुसन्धान गराउने र सम्बन्धित विषयमा दक्ष प्राविधिक उत्पादन गर्ने जस्ता विषयमा हेलचेक्य्राइँ हुनु (जस्तो नामअगाडि डा. लेखिएका कविहरूबाट नै महाकाव्य भनिएका काव्यहरू महाकाव्य कोटिका नदेखिनु) आदि चुनौतीका विषय हुन् र यस्तै अवस्थालाई सुधार गर्नुपर्ने सन्देश केही नेपाली महाकाव्यहरूले दिएका छन् ।

नेपाली महाकाव्यको इतिहास लेख्ने क्रममा के, कस्ता र कस(कसका महाकाव्य छानियो त रु जस्ता प्रश्नहरू पनि आउन सक्छन् । लेखक वा प्रकाशकले पुस्तकको आवरणपृष्ठ वा भित्री पृष्ठमा वा कवि आफैँले कविताको भाषामा महाकाव्य भन्ने शब्द लेखिएका र यो कृति लेख्दासम्म भेटिएका ४३२ ओटा काव्यरमहाकाव्यहरू यसमा छनौट भएका हुन् । वि.सं. १८२२ सालदेखि २०७८ साल आश्विन महिनासम्म प्रकाशित महाकाव्यहरूमध्ये ४३२ वटा महाकाव्यहरू मैले यस ग्रन्थमा लेखन प्रकाशनको कालक्रमका आधारमा समावेश गरेको छु । यसै कालमा लेखिएका र यस ग्रन्थमा समावेश हुन नसकेका अरू पनि महाकाव्य हुन सक्छन्, तिनलाई पछि खोजअनुसन्धान गरेर जानकारी दिने प्रतिबद्धता जाहेर गर्दछु ।

नेपाली महाकाव्यहरू विशेषतः ४ प्रकारका छन्दहरूमा सिर्जना भएका पाइन्छन् : (१) परम्परित शास्त्रीय वार्णिक छन्द, परम्परित शास्त्रीय मात्रिक छन्द, नेपाली वार्णिक छन्द र स्वमुक्त लय।

नेपाली महाकाव्यमा छन्दभेदमा: यमाताराजभानसलगाको सूत्रमा एक अक्षरदेखि २६ अक्षरसम्मका २६ प्रकारका छन्द भेदहरू र सोभन्दा माथि दण्डक भेदका छन्दप्रयोग पनि भेटिन्छन् । जस्तै: उक्ता, अत्युक्ता, मध्या, प्रतिष्ठा, सुप्रतिष्ठा, गायत्री, उष्णिक्, अनुष्टुप्, बृहती, पङ्क्ति, त्रिष्टुप्, जगती, अतिजगती, शक्वरी, अतिशक्वरी, अष्टि, अत्यष्टि, धृति, विधृति, कृति, प्रकृति, आकृति, विकृति, सङ्कृति, अतिकृति, उत्कृति तथा २७–३६ अक्षरसम्मका दण्डकका प्रकार नेपाली महाकाव्यमा प्रयुक्त छन् । समवृत्तबाटै बनेका मिश्रित अर्धसमवृत्त र विषमवृत्तका पनि प्रयोग पाइन्छन् । त्यस्तै अधिकांश महाकाव्यहरूमा ६-२२ अक्षरसम्मका नेपाली वार्णिक छन्दका प्रयोग र केही जापनिज हाइकु वर्गका छन्दहरू पनि प्रयोगमा देखिन्छन् तर ती हाइकु वर्गका हाइकु, सेन्यु, ताङ्का, चोका आदि छन्दहरूले नेपाली वार्णिक छन्दसँगै मेल खाएको पाइन्छ ।

वि.सं. २०५२ सालअघि प्रकाशित नेपाली महाकाव्यहरूमा प्रयुक्त विभिन्न छन्दभेदका केही सूत्रहरूमा संस्कृत नामकरण भएका केही शास्त्रीय छन्दहरूमा: अनुष्टुप्, अपरान्तिका, अभिनवतामरसा, इन्दिरा, इन्द्रवंशा, इन्द्रवज्रा, उपजाति (इन्द्र र उपेन्द्रवज्रा), उपजाति (वंशस्थ र इन्द्रवज्रा), उपेन्द्रवज्रा, कुसुमविचित्रा, गीति, चन्द्रवर्त्म, चम्पकमाला, तूणक, तोटक, दोधक, द्रुतविलम्बित, द्रुता, नभस्वरूपिणी, पङ्क्ति, पञ्चचामर, पुष्पिताग्रा, पृथ्वी, प्रभावती, प्रभावली, प्रमाणिका, प्रमिताक्षरा, प्रमुदितवदना, प्रहर्षिणी, भुजङ्गप्रयात, भुजङ्गसङ्गता, मञ्जुभाषिणी, मणिमाला, मदलेखा, मन्दाक्रान्ता, माणवक, माणवक्रीडित, मालती, मालाभारिणी, मालिनी, रथोद्धता, ललिता, वंशस्थ, वसन्ततिलका, विद्युन्माला, विद्युन्लेखा, वियोगिनी, वैतालीय, वैश्वदेवी, शशिवदना, शार्दूलविक्रीडित, शालिनी, शिखरिणी, संयुता, समानिका, स्रग्धरा, स्रग्विणी, स्वागता, हंसी, हरिणी, हरिणीप्लुता, हलमुखी आदि गरेर करिब ७ दर्जनजति छन्दको प्रयोग भएको पाइन्छ । वि.सं. २०५२ सालपूर्व प्रकाशित नेपालीका विभिन्न काव्यहरूमा र संस्कृत काव्यहरूमा प्रयोग भएका छन्दहरूकै प्रयोग देखिन्छ । वेददेखि पुराणकाल, लौकिक काल हुँदै आधुनिक कालसम्म लेखिएका संस्कृत काव्यहरूमा १८०-२०० सङ्ख्यामा भन्दा बढी छन्दप्रयोग भेटिन्न । वि।सं। २०५३ सालमा प्रकाशित सोल्मू महाकाव्यदेखि संस्कृत नामकरण बाहेकका र पिङ्गलसूत्रमै नेपाली नामकरण गरिएका छन्दहरूको पनि नयाँ प्रयोग भेटिन्छ जुन छन्दसूत्रको प्रयोग २०५२ सालअघिका संस्कृत र नेपाली काव्यहरूमा भेटिँदैन । त्यस्तै मात्रिक छन्दहरूमा आर्या, उद्गीति, उपगीति, चौपाई, दोहा, विश्वालोक आदिको प्रयोग देखिन्छ । त्यस्तै नेपाली लेकलयका झ्याउरे, सवाई आदिको प्रयोग भेटिन्छ । चन्द्रयुग बृहत्तर महाकाव्यमा सबैभन्दा बढी छन्दप्रयोग देखिन्छ जसमा संस्कृतका ३६ ओटा छन्द भेदअन्तर्गतका ६ हजारभन्दा बढी सङ्ख्यामा छन्दहरूको प्रयोग छ ।

महाकाव्यहरूको अध्ययन गर्दै जाँदा कुन महाकाव्यमा कुन कुन छन्दका कति कति श्लोक छन् भन्ने तथ्याङ्कलाई पनि मैले उतारेँ । श्लोक गणना गर्ने क्रममा कतै छन्दका नामबाट गरिएका छन् भने कतै छन्दका भेदका नाउँबाट गरिएका छन् । प्रस्तुत ग्रन्थमा समावेश ४३२ महाकाव्यमध्ये मैले श्लोक गणना गरेका ३६२ महाकाव्यहरूमा संस्कृत र नेपाली वार्णिक र मात्रिक छन्दसमेतका ७,८०,६५६ श्लोकमा ३,४७,०१,५४६ अक्षर रहेका छन् । यसमा स्वमुक्त लयका कविताको श्लोकरअक्षर गणना गरिएको छैन । यसबारे विस्तृत जानकारी पछि दिइएको छ ।

श्लोक गणना गर्दा कुनै कुनै कविले ३ पाउदेखि १०–१२ पाउसम्मलाई १ श्लोक भनेर जनाएका छन्, त्यस्ता विवादित ठाउँमा एकरूपतामा ल्याउन प्रचलित तरिकाबाटै ४ पाउको १ श्लोकका दरले गणना गरिएको हुँदा कविले भनेका श्लोकसङ्ख्यामा र यस ग्रन्थमा रहेका सम्बन्धित महाकाव्यहरूका श्लोकसङ्ख्या गणनामा अन्तर हुन सक्दछ । जस्तो स् नेपाली शाकुन्तलमा कविले भनेका १९३६ श्लोक छन् भने चतुष्पदको १ श्लोकका दरले २३२३ श्लोक हुन आउँछन् तर उल्लिखित दुवै अङ्कका अक्षरसङ्ख्यामा भने बराबर सङ्ख्या देखिन आउँछ ।

यस ग्रन्थमा हरेक महाकाव्यकारको सङक्षिप्त परिचय, महाकाव्यको विषयवस्तु, छन्दगत श्लोकसङ्ख्या, निष्कर्षजस्ता विषयमा विवेचनात्मक चर्चा-परिचर्चा गरिएको छ ।

प्रस्तुत पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागको परियोजनामा आधारित छ । एक वर्ष अघि नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्यरकाव्य) विभागका विभागीय प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलसँग उहाँकै कार्यकक्षमा मैले भेट गरेँ। मैले वि।सं। १८२२ सालभन्दा अघिदेखि शास्त्रीय छन्दमा नेपाली कविता लेखनका क्षेत्रमा भेटिएका रमेश मल्लदेखि २०७८ साल आश्विनसम्म (२५६ वर्ष) का दुई हजारभन्दा बढी कविका शास्त्रीय छन्दमा नेपाली कविताको इतिहास शीर्षकको एउटा अनुसन्धानात्मक कृति तयार पार्दै छु । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस्ता अनुसन्धानात्मक कृतिहरू प्रकाशन गर्दै आएकाले यो कृति पनि प्रकाशित गरिदिन्छ कि १’ मेरो जिज्ञासा भुइँमा खस्न नपाउँदै पौडेलज्यूले जवाफ दिनुभयो: चन्द्रजी, तपाईंले तयार गर्नुभएको अनुसन्धानात्मक लेखनमध्येबाट नेपाली महाकाव्यसम्बन्धी मात्रै एउटा खोजमूलक कृति बन्दछस तपाईं नेपाली महाकाव्यको इतिहास र विश्लेषण सम्बन्धी अनुसन्धान–प्रस्ताव पेस गर्नुहोस्स त्यसलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले अगाडि बढाउने छ ।

मैले त्यसै गरेँ र रमेश मल्ल ९१७६२–१८३०० को मदन दीपिका महाकाव्य ९१८२२–२०७३० देखि २०७८ साल आश्विनसम्म भेटिएका २३२ कविका ४३२ महाकाव्यको असरल्ल टिपोटका टाइप सेटिङ मिलाएर एकमुष्ठ इतिवृत्तान्त नेपाल प्रज्ञा–प्रतिष्ठानमा बुझाएँ । विज्ञ मूल्याङ्कनकर्ताबाट कृति प्रकाशनयोग्य ठहरिएपछि भाषासम्पादनका लागि मेरा समकालीन कवि एवम् समालोचक मित्र प्रा.डा. रामप्रसाद ज्ञवालीले मद्दत गर्नुभयो । यसका लागि सर्वप्रथम म प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल र प्रा.डा. रामप्रसाद ज्ञवालीप्रति हार्दिक आभार व्यक्त गर्दछु । यस क्रममा नेपाल प्रज्ञा(प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा।जगत्प्रसाद उपाध्याय तथा प्राज्ञ डा. देवी नेपालको स्नेह पनि उत्तिकै स्मरणयोग्य छ । अन्त्यमा, आज कुन महाकाव्य पढ्दै हुनुहुन्छ बा १ भनेर जिज्ञासा लिइरहने मधुसप्रति खुसी व्यक्त गर्दछु ।



प्रतिक्रिया दिनुहोस !