२५ बैशाख २०८१, मंगलबार

प्रदेश ५ अपडेटः सुस्ताबासीलाइ घरघरमा खाद्यान्न र तरकारी, लकडाउन व्यवस्थित बनाउँदै स्थानीय तह

प्रकाशित मिति :  11 April, 2020 5:29 pm


काठमाण्डाैं, २९ चैत । 

सुस्तावासीलाई घर घरमा खाद्यान्न र तरकारी

लकडाउनका अवस्थामा जनजीवन सहज बनाउन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले घर घरमा खाद्यान्न पु¥याएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले मुलुकभर लकडाउन गरेपछि उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्ने उद्देश्यले अत्यावश्यक वस्तु घरघरमै पुर्याइएको गाउँपालिकाले जनाएको छ ।

घरघरमा बिक्री गरिने खाद्यान्न तथा तरकारी बजार मूल्यमै उपलब्ध गराइएको जनाइएको छ ।

स्थानीय व्यवसायीसँग समन्वय गरी चामल, दाल, नुन, तेल, आलु, प्याज, तरकारीलगायत वस्तु नियमित रुपमा उपभोक्ताको घरमा पु¥याइएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले राससलाई जानकारी दिए ।

‘लकडाउनमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर स्थानीय व्यवसायीमार्फत प्रत्येक टोलटोलमा तीन वटा ट्र्याक्टरमार्फत खाद्यान्न र ठेलामार्फत ताजा तरकारी पाँचवटै वडाको टोलटोलमा पुगिरहेको छ’, उनले भने ।

लकडाउन व्यवस्थित बनाउँदै स्थानीय तह

रुपन्देहीका स्थानीय तहले लकडाउनलाई व्यवस्थित बनाएका छन् ।

कोभिड–१९को सङ्क्रमण हुन नदिन पूर्वीक्षेत्र देवदह नगरपालिका तथा ओमसतिया र रोहिणी गाउँपालिकाले स्थानीयवासीको सहकार्यमा लकडाउनलाई पूर्ण व्यवस्थित बनाएका हुन् ।

देवदहले आफू राहत वितरण गर्ने, क्वारेन्टाइन व्यवस्थित गर्ने तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने काममा सक्रिय रहेकोे जनाएको   छ ।

नागरिकको सुरक्षा र दैनिकीलाई व्यवस्थित बनाउन सुरक्षाकर्मी र कर्मचारीको सहयोगमा काम भइरहेको नगरपालिकाका जनप्रतिनिधि बताउँछन् ।

नगरपालिकाले आदर्श बहुमुखी क्याम्पसमा प्रविधिमैत्री क्वारेन्टाइन बनाएको छ । त्यसमा विदेशबाट आएका एक स्थानीयवासी बसेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

हालसम्म दुई हजार ७०२ गरीब तथा विपन्न वर्गका परिवारलाई राहत वितरण गरिसकिएको र थप दुई हजार ७५२ जनालाई राहत वितरण गर्ने प्रक्रिया अगाडि बढेको नगरपालिकाका प्रमख हीराबहादुर खत्रीले जानकारी दिए । नगरपालिकाले रु एक करोडको राहत कोष पनि स्थापना गरेको छ ।

ओमसतियाले राष्ट्रिय गहँुबाली अनुसन्धान केन्द्रभित्र रहेको सहकारी डिभिजनको भवनमा क्वारेन्टाइन बनाएको छ जसमा ६ जना विदेशबाट आएका स्थानीयवासी छन् ।

गाउँपालिकाका दुई हजार २०० घरधुरीमा रहेका गरीब र विपन्न परिवारमाझ राहत वितरण कार्यक्रम चलिरहेको गाउँपालिकाका अध्यक्ष हिरा केवटले जानकारी दिए । गाउँपालिकाले रु २५ लाखको राहत कोष पनि खडा गरेको छ ।

जिल्लाको पूर्वी दक्षिणक्षेत्रमा पर्ने रोहिणी गाउँपालिकाले भारतीय सीमा क्षेत्रमा कडाइ गरेको छ । गाउँपालिकाले श्रीराम नरेश आदर्श माध्यमिक विद्यालय धकधईमा क्वारेन्टाइन बनाएको छ जहाँ तीन जना बाहिरबाट आएका स्थानीयवासी छन् ।

गाउँपालिकाले एक हजार ५०० घरधुरीका गरीब विपन्न तथा असहायको परिवारलाई राहत वितरण गरेको गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए ।

गाउँपालिकाले रु ५१ लाखको राहतकोष स्थापना गरेको छ ।

बन्दरगाहा निर्माणमा ढिलाइ

लकडाउनकाे कारण बोलपत्र भएको बाँके जिल्लाको संयुक्त जाँचचौकी (सुख्खा बन्दरगाह) निर्माणको काम अभै शुरु भएको छैन ।

सम्झौताका लागि कागजी प्रक्रिया अघि बढिरहेकै अवस्थामा कोभिड-१९ को जोखिमपछि जारी लकडाउनले ठेकेदार कम्पनीसंँग सम्झौता रोकिएको आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालको भनाइ छ ।

बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको काम अब कहिलेदेखि शुरु हुन्छ भन्ने निक्र्याेल लकडाउनपछिको परिस्थितिले तय गर्ने इञ्जिनीयर भुसालले बताए ।

भारत र नेपालबीच भएको सम्झौताबमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरमा सुख्खा बन्दरगाह बन्न लागेको हो । बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमीन अधिग्रहण गरिसकेको छ ।

अधिग्रहण गरिएको कुल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायत संरचना निर्माण गर्ने र बाँकी २४ बिघा जग्गा बाटाका लागि छुट्याइएको इञ्जिनीयर भुसालले जानकारी दिए ।

नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !