१७ बैशाख २०८१, सोमबार

कोरोना भन्दा दलाल पूँजीवाद खतरानाक

प्रकाशित मिति :  2 May, 2020 5:34 pm


मलाई यो समय मानव जाती लगायत समग्र प्रकृति र प्राणी जगतको अस्तित्वको लागि कोरोनाभन्दा ठूलो दुश्मन पूँजीवाद हो भन्ने गहिरो अनुभूति भैरहेको छ ।

म हेरिरहेको छु , त्यसो त तपाईहरू पनि हेरिरहनु भएको छ कि, कोरोनाले हायलकायल भैरहेको समयमा पनि इरानमाथिको प्रतिवन्ध खारेज गर्न अमेरिकी साम्राज्यवादको दुष्ट आत्मा मानिरहेको छैन ।

इटली जीवन र मृत्युको दोसाँधमा छटपटाइरहदा सिङ्गै युरोप आँखा चिम्लेर बसेको छ। क्युवामाथिको अमानवीय प्रतिवन्ध यो समय पनि जारी छ।

विश्वव्यापी महामारी कोरोना विरुध्द लड्न एकजुट हुनुको बदला कोरोना विरुध्दको खोपको कपी राइटको चिन्ता सुरु भएको देखिएको छ ।

आपसी भाइचारा र सहकार्यको जरुरी हुने यो समयमा देशहरू आफ्ना सीमानाहरू बन्द गरेर अनि नागरिकहरूलाई घरघरमा थुनेर बसेका छन्।

लामो समयको बन्दाबन्दी लागू गर्दा आम सर्व साधारणले कसरी हात मुख जोर्छन भन्ने सामान्य ज्ञान प्राय शासकहरूका दिमागबाट बेपत्ता भएको छ ।  यही समयमा कालोबजारी, कृतिम अभाव र मूल्यवृध्दिको मार थपिएको छ।

अलपत्र परेका नागरिकहरू हजारौं किलोमिटरको यात्रा गरेर भोकै नाङ्गै घर फर्कन विवश छन् ।

बाटोमा पर्ने मान्छेहरू उनीहरूलाई गाऊको बाटो हिड्न नदिन लठ्ठी बोकेर बसेका छन अनि देशभित्र छिर्न नदिन आफ्नै देशको सरकार सीमानामा बन्दूक बोकेर बसेको छ। मान्छेहरू घरभित्र कैद छन् । कसैको घरमा लास पर्यो भने मलामी नपाउँने अवस्था छ।

निजी अस्पतालहरूले ज्वरो आएका विरामीलाई पनि अस्पतालको गेटैबाट फिर्ता गरेका र अरु कैयन सरकारी अस्पतालले पनि बिरामी भर्ना गर्न नमानेका खबरहरू आइरहेका छन्।

चिकित्सकहरूका लागि अत्यावस्यक सूरक्षा कवच तथा कोरोना जाँज गर्ने किटको अभाव देखिएको छ र र देशका स्वास्थ्य मन्त्री – ‘यो पिपिई भन्ने नाम भर्खर सुन्दै छु ‘ भनेर गैह्र जिम्मेवार तथा नालायक चरित्र प्रदर्शन गर्दैछन्।

देश यत्रो ठूलो स्वास्थ्य संकटको सामना गरिरहेको समयमा त्यो खाले स्वास्थ्य मन्त्रीको स्तरले यो संकटको सामना कसरी होला भनेर नागरिकहरू चिन्तित छन्।

दैनिक अठार घण्टा खट्नु पर्ने समयमा प्रधान मन्त्री आराम गर्नै पर्ने अवस्थामा छन्। उनलाई प्रधान मन्त्रीको पद बोकेरै मर्न मन छ। विश्वव्यापी हाहाकारको यो समयमा चीन र क्युवाले आफूलाई फरक तरिकाले प्रस्तुत गरेका छन्।

कोरोना शंकटबाट भर्खरै राहत पाएको चीन आफ्नो विशाल फौज र औषधि बोकेर इटली पुगेको छ भने नाकाबन्दीले आक्रान्त क्युवा पनि आफ्नो शक्तिशाली टीम सहित इटली पुगेर विश्व बन्धुत्वको परिचय दिईरहेको छ।

राजनीतिक हिसावले हाल जे जस्तो भए पनि चीनले समाजवादी चरित्रको पहलकदमी लिएर कोरोनाको ढाड भाँचेर इटली पुगेको छ भने क्युवाले त यस अघि नै चिकित्सा सहायतामा आफूलाई विश्वको उत्कृष्ट देश सावित गरिसकेको छ।

यी दुई देशमा रहल पहल रहेको समाजवादी पूर्वाधारले नै आफ्नो देशको शंकट हल गर्न र अरु देशको शंकटमा साथ दिन मद्दत गरेको हो भन्ने प्रष्ट भैसकेको छ ।

विद्यमान अवस्थाले फेरि विश्वलाई के भनिरहेको छ भने:

  • अकुत नाफाको लागि मान्छे र प्रकृतिलाई शोषण र दोहन गर्ने पूँजीवाद मानव द्वेशी तथा प्रकृति द्वेशी छ।
  •  पूँजीवादको नेतृत्वमा यस खाले चूनौतीको सामना गर्न एकदमै गाह्रो छ ।
  •  यस खाले शंकटले अन्ततस् र मूलतस् गरीवहरूलाई अभाव भोकमरी थप ऋण तथा रोगको दोहोरो तेहेरो चपेटामा पार्छ ।
  • पूँजीवाद आत्माहीन ब्यवस्था हो र त्यसले आफू जस्तै ब्यवस्था भएका देशको दुखमा पनि साथ दिदैन।
  • पूँजीवादले हरेक कुरामा नाफा मात्र सोच्छ। परोपकार, सहकार्य भातृत्व जस्ता कुरा जन्मने ग्रन्थीहरू ऊ सँग हुदैन।
  • यस्तो भयावह अवस्थामा पनि नाकाबन्दी लगायत अमानवीय अत्याचार नहटाएर पूजीवादी देशहरूले उनीहरू मानवताका भयानक दुश्मन हुन भनेर प्रमाणित गरेका छन।
  • कुनै एउटा देशले मात्रै हल गर्न नसक्ने यस खाले विपत्तिको सामना गर्न समाजवाद नै एउटा मात्र विकल्प हो।

हामी सवै चिन्तामा छौं । हामी मध्य श्रमजीवीहरू बढी चिन्तामा छौं। धनीहरूलाई व्यावसायिक घाटा तथा कोरोनाको चिन्ता छ भने गरीवहरूलाई भोकले मरिन्छ कि भन्ने पुरानै चिन्ताले अझ बढी सताएको छ। रोग र विपत्तिले धनी गरीव भन्दैन भन्ने कुरा सत्य होइन।

अहिलेको कोरोना महामारी होस या विगतको भूकम्पको कहर होस सवै भन्दा बढी दुख गरीवहरूले नै पाएका थिए। कच्ची घर बढी गरीवकै थिए।

त्रिपालमुनी भोकै र लामो समय बस्नु परेको गरीवले नै थियो र ऐले पनि गरीवहरेका भान्सामा चामल दाल नून तेल र तरकारी सकिदैछ। मध्यम तथा उच्च बर्गले त एक दुई महिनाको तयारी गरेर लकडाउनको गीत गाएर अरुलाई उपदेश दिएर बसेको छ।

तर भरे भोलिबाट भोकै पर्ने परिवारलाई सरकारले के सोचेको छ ? सायद केही सोचेको छैन। लक डाउनको समय सीमा महिनौं बढ्न सक्छ।

अवस्था अहिले भन्दा बिकराल बन्न सक्छ।त्यस्तो भयो भने पनि नागरिकहरू भोकै नहोउन भन्ने सरकारसँग के रणनीति छ र ? यस्तो लाग्छ – पूँजीवादसँग यस्ता प्रश्न सोध्नु भनेको आफूलाई जंगलको राजा हुँ भन्ने सिंहसँग ‘खडेरी लागेर घाँसको अभावमा मिर्गहरू खान नपाएर मर्ने भए भने तिनलाई बचाउने तपाईसँग के तयारी छ ?’ भनेर सोध्नु जस्तै हुने छ।

सुरक्षित बसौं तर मानवजातिको साझा सुरक्षाको चिन्ता गर्न नछोडौं ।



प्रतिक्रिया दिनुहोस !