१८ मंसिर २०७९, आइतबार

भारतले कहिलेसम्म हेपिरहन्छ नेपाललाई ?

प्रकाशित मिति :  10 May, 2020 1:03 pm


नेपालको २५० वर्षदेखिको इतिहासलाई हेर्ने हो भने भारतीय भूमिमा सक्रिय साम्राज्यवादले नेपालविरुद्ध निरन्तररुपमा भीषण युद्ध जारी राखेको छ ।

नेपाललाई स्वाधीन राष्ट्रको रुपमा कायम गरिराख्नको लागि भारतीय साम्राज्यवादविरुद्ध सन् १८१६ अगाडि जवाफी सैन्य युद्धसमेत गरी सुगौली सन्धीमार्फत युद्धविराम भएको थियो । आजका दिनसम्मपनि भारतको साम्राज्यवादी सरकार, कर्मचारीतन्त्र र सैन्यबलले नेपाललाई हेप्ने, भाषण र औपचारिक कुरा एउटा गर्ने तर व्यवहार ठीक उल्टो गरिरहेको छ ।

यो विषयमा नेपालका सबै भुक्तभोगी छन, तैपनि कार्यकारी भूमिकामा रहेकाहरु बोल्दैनन् किनकी यिनिहरु स्टकहोम सिन्ड्रोमबाट पीडित छन । नेपालको हालको बचेखुचेको स्वाधीनताको मुख्य कारण र स्रोत भनेकै यो देशमा सत्ताधारी दलालमात्र नभई देशभक्त जनाधारको सक्रिय उपस्थिति हो । यो पृष्ठभूमिकै परिणामस्वरुप लिपुलेकमा भारतले गरेको अतिक्रमणको विषयमा जवाफ खोजौं – भारतले कहिलेसम्म नेपाललाई हेपिरहन्छ त ?

दुई शताब्दीदेखि आजसम्म नेपालको राजनीतिको मूल चरित्र जनविरोधी रह्यो । त्यसले जनतालाई केन्द्रमा नराखी आफ्नो सत्ता र शक्तिलाई प्राथमिकतामा राख्यो । जनतासमक्ष जतिसुकै बहिस्कृत भएपनि दक्षिण–पश्चिममा पदासीन बादशाहलाई रिजाउन सकेमा सत्ताच्युत हुन नपर्ने राजनीतिक संरचना खडा गरिएको छ । सार्वभौमिकताको स्रोत श्रमजीवी जनता होइन, विदेशी प्रभुप्रतिको लम्पसारवादी परिमाणलाई    मानिन्छ ।

यसको पछिल्लो संस्करणको रुपमा ल्याइएको २०७२ सालको संविधानले छानिएका एक हजार नेपाली दलालमार्फत राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय राजनीति र जनतालाई नियन्त्रण गर्न सकिने पद्दतिलाई संस्थागत गरेको छ । राजनीतिक, प्रशासनिक, सैन्य र आर्थिक ठेकेदारमार्फत देशलाई पराधिन बनाइएको छ । त्यसैले, देश र जनताविरुद्ध घात गर्ने गुटगत समूह नै सत्तासीन हुने ७० वर्षदेखिको दलाल संसदीय राजनीतिक व्यवस्था कायम रहेसम्म भारतले नेपाललाई हेपिरहन्छ ।

भारतपरस्त आर्थिक नीति र कार्यक्रमको निर्माण गर्ने प्रचलन एकसय वर्ष अघिदेखि कायम छ र त्यो थप बलियो बनाईदैछ । देश र जनताको आर्थिक सक्षमता नै राष्ट्रिय स्वाधिनताको एक प्रमुख आधार हो । भारतले नेपाललाई शोषण गर्ने र नेपालमा रहेका दलालले तीन करोड जनतालाई शोषण गर्ने त प्रणालीगत संस्कृतिजस्तै भएको छ ।

नेपालले भारतबाट प्राप्त गर्ने विप्रेषणभन्दा भारतले नेपालबाट लैजाने विप्रेषण तीन गुणा बढी भई झण्डै ४०० अरब रुपैयाँ हुँदापनि श्यामशरणहरु धम्कीपूर्ण लेखमार्फत भारतमा ६० देखि ८० लाख नेपाली रहेको भनी ब्ल्याकमेलिङ्ग गरिरहन्छन । खाद्यान्न, इन्धनलगायत ६५ प्रतिशत व्यापार निर्भरता भारतमाथि छ भने अधिकांश होलसेल व्यापार, उद्योग र सेवा क्षेत्रमा भारतीय व्यवसायीको पकड बढ्दै गएको छ ।

विद्यमान लकडाउनमा पनि नेपाली किसानको उत्पादन बारीमा नै कुहिँदापनि भारतबाट ट्रकमा तरकारी र अन्य खाद्यान्न आउनुले नेपाली जनताको दैनिक आर्थिक जीवनमा कसरी भारतको हस्तक्षेपपूर्ण बाहुल्यतामार्फत साम्राज्यवादको सेवा गरेर नेपाली आर्थिक उत्पादक शक्तिमाथि निरुत्साहनपूर्ण घात गरिएको छ भन्ने प्रमाणित हुन्छ ।

यस्तो परपोषक दलाल पुँजीवादी आर्थिक प्रणाली नेपालमा कायम रहेसम्म भारतले नेपाललाई केही वर्षको अन्तरालमा नाकाबन्दी गरिरहन्छ, दुःख दिइरहन्छ, हेपिरहन्छ । सामाजिक–सांस्कृतिक क्षेत्रमा भारतको सेवाविना नेपाल टिक्नै सक्दैन भन्ने परजीवी स्कूल अफ थट प्रचारप्रसार गरिएको छ ।

भाषा र धर्मको नाममा नेपाललाई कमजोर बनाउन एजेन्टहरु खटाइरहुन्जेल, सांसदको टिकट लिन, सिडिओ खटाउन, आफ्नो स्थानीय तहको पुँजीगत खर्च २० प्रतिशतपनि नगरी विद्यालय र स्वास्थ्य संस्थाको छानो छाउने जस्तापाता लिन राजदुतावासमा लाइन लाग्ने मानसिकता रहेसम्म, समानान्तर सरकारकै झल्को दिनेगरी राजदुतावासले नेपालका वडावडामा रहेका सानासाना परियोजनामा १–२ करोड बजेटरी प्रणाली बाहिर नै खर्च गर्न दिने प्रणाली रहेसम्म, राजदुतावासबाट खान्गी लिइरहने नेतृत्व रहेसम्म, माननीय सांसदलाई भारतीय राजदुतावासले रात्रीभोजको लागि निम्ता गरेर फोटोशेसन गराइरहँदासम्म भारतले नेपाललाई हेपिरहन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा भारतकै लाइनमा हामी हिड्छौं भनी बकपत्र गर्ने क्रान्तिकारी प्रधानमन्त्रीहरु रहेसम्म, सामाजिक सञ्जालमा चर्को विरोध भएपछि रुन्चे तरिकाले अतिक्रमणकारीलाई पीडित राष्ट्रले उल्टै वार्ताबाट समस्या समाधान गरौं भनी वक्तव्य निकाल्ने परराष्ट्र मन्त्रालय भएसम्म, ७१ स्थानमा देशको सीमाना मिचिँदा र दशगजामा अन्तर्राष्ट्रिय नियम विपरित बाँध बाँध्दा आवाज नउठाउने प्रशासन रहेसम्म, हतियारधारी विदेशी सेनाले नेपालको सीमानाभन्दा ५० किमिभित्र प्रवेश गर्दा पनि कारवाही नगर्ने सुरक्षा संयन्त्र रहेसम्म, स्वीट्जरल्याण्डमा भएको अन्तर्राष्ट्रिय संगठनको कार्यक्रममा सारा संसारका प्रतिनिधिको अगाडि नेपाललाई धम्क्याउँदा पनि चुँ गर्न नसक्ने प्रतिनिधिमण्डल रहेसम्म र प्रधानमन्त्री भएको एक हप्तामा नै भारत भ्रमणको लागि बोलाइदिनुहोस न भनी राजदुतलाई पाइजामा र चप्पल लगाएरै भेट्न आउन अनुमति दिने प्रधानमन्त्री भएसम्म भारतले नेपाललाई हेपिरहन्छ ।

चारवटै सुरक्षा निकायका प्रमुखको नियुक्तिमा भारतको सिफारिस र अनुमोदन खोजेसम्म, देशभित्रका दललाई जोड्न र फोर्न, एउटा दलले अर्को दलविरुद्ध विदेशी भूमिमा गएर कुरा लगाएसम्म, चुनावमा कस्लाई जिताउने र हराउने सल्लाह राजदुतावासमा बसेर गरेसम्म, पञ्चशीलका प्रचलनको विपरित आफूविरुद्ध काम गर्दा सबै कूटनीतिक पहल नगरेसम्म र त्यस्तो पहलबाट समस्या समाधान नभएको अवस्थामा जनसमर्थनसहित बल प्रयोग गर्ने हिम्मत नभएसम्म भारतले नेपाललाई हेपिरहन्छ ।

राष्ट्रिय मुक्ति, स्वाधिनता र भौगालिक सीमानाको रक्षाको लागि १८ देखि २१ वर्ष उमेरका नेपाली नागरिकले तीन महिने अनिवार्य सैन्य तालिम लिएर सम्पूर्ण राष्ट्रलाई विचार र विवेकसहित वैज्ञानिक समाजवादी सत्ता अन्तर्गत सैन्यकृत नगरेसम्म, विज्ञान, प्रविधियुक्त सामरिक सुरक्षा रणनीति र कार्यक्रम नबनाएसम्म हामी हेपिइरहनेछौं । अनि कोठाभित्र बसेर नेपालीलाई हैप्नी ? भनेर आफैसंग रिसाएर ब्लडप्रेसरमात्र बढाइरहेसम्म भारतले नेपाललाई विगत दुई सय वर्षदेखि जसरी हेपिरहेको छ त्यसैगरी पुस्तौंपुस्तासम्म हेपिरहनेछ ।

अतः साम्राज्यवादीहरु संख्या र स्वरुपमा ठूलाजस्ता देखिएपनि सुन्निएका कागजी बाघमात्र हुन भन्ने तथ्य त साबुन पानीले पराजित गर्ने कोरोनाले यिनिहरुको लूटको साम्राज्यमा कसरी धावा बोलेको छ भन्ने तथ्याङ्कले नै देखाउँछ । यो सत्ता आफूभित्रको अविश्वासपूर्ण स्वार्थी मल्लयुद्धले मक्किएर जीर्ण भइसकेकाले वास्तवमा धेरै कमजोर र विघटनउन्मुख छ । त्यसैले, देशभित्रको सामाजिक दलाल पुँजीवादको नेतृत्वमा रहेको दलाल संसदीय व्यवस्था एवं त्यसलाई घोडा बनाएर नेपाल र नेपाली जनताविरुद्ध चौतर्फी युद्ध थोपरिरहेको साम्राज्यवादलाई परास्त गर्नु नै नेपाली जनताको लागि वस्तुगतरुपमा उपलब्ध ऐतिहासिक अवसर तथा हेपाईको सर्वकालीन अन्त्यको उपाय हो ।



प्रतिक्रिया दिनुहोस !