३ असार २०८१, आइतबार

पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक

प्रकाशित मिति :  23 May, 2024 8:52 am


काठमाडौँ। विज्ञहरुले कार्बन उत्र्सनलाई घटाउँदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढ्न नदिन सबैकै प्रयास आवश्यक रहेको बताएका छन् ।

बुधवारदेखि काठमाडौंमा शुरु भएको हिमाल, जनता र जलवायु सम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै विज्ञहरुले कार्बन उत्र्सजनलाई घटाउदै पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सिमित राख्नुपर्नेमा जोड दिएका हुन् ।

दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा पृथ्वीको तापक्रमलाई १.५ डिग्रीमा सिमित गरिनुपर्ने प्रयासहरुको सम्बन्धमा छलफल भएको थियो ।

पृथ्वीको तापक्रमलाई १.५ डिग्रीभन्दा बढ्न नदिन विभिन्न राष्ट्रकोबीच सहजताको वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रीत भएको जलवायु विज्ञ मञ्जित ढकालले बताए।

न्युज एजेन्सी नेपालसँग कुरागर्दै जलवायुविज्ञ ढकालले जलवायु परिवर्तनको मुद्दा पर्वतीय देशहरुको मुद्दा मात्रै नभई अन्य देशको पनि मुद्दा भएकाले यो विषयलाई विश्वव्यापीकरण गर्न पनि छलफलले सहयोग पु¥याएको बताए।

विभिन्न मुलुकहरुबीचमा आपसी सहकार्यबाट मात्रै कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ भन्ने सन्देश छलफलले दिएको भनाइ उनको छ ।

छलफलमा जलवायु परिवर्तनको असर पर्वतीय मुलुकमा मात्रै असर नपरि हिउँ पग्लिएर सुमुन्द्रमा पुग्दा तल्लो तटिय भू–भागमा रहेका देशहरुमा पनि असर पर्ने भन्दै यो विषयलाई त्यस्ता देशहरुले पनि अपनत्व लिनुपर्नेमा जोड दिइएको छ ।

पहिलो दिनको अन्तिम सत्रमा जलवायु परिवर्तनका कारण आएका संकटहरुको सम्बन्धमा छलफल भएको थियो । छलफलमा विज्ञ तथा सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण गहिरो संकट आएको भन्दै त्यसको समाधानका सम्बन्धमा ध्यान दिनुपर्ने बताएका थिए ।

सो छलफलका सम्बन्धमा जानकारी दिँदै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हिमाली राष्ट्रहरुले जलवायु परिवर्तनका कारण व्यहोरेको नोक्शानीका लागि आउने सहयोग रकम छिटोभन्दा छिटो पाउनुपर्नेमा सबैले जोड दिइएको बताए।

पोखरेलले भने, “बाढी, पहिरोबाट कति क्षति भए भन्ने कुराको डेटा सिस्टम दर्ज गरेर राख्ने खालको बनिसकेको छ । अन्तर्राष्ट्रिय जगतमा जुन विधि स्थापना हुन्छ, कसरी राख्ने भन्ने । क्षति नोक्शाानी जलवायु परिवर्तनका कारणले हो भनेर स्पष्ट किटानीसाथ राख्नुप¥यो । अन्तर्राष्ट्रिय मञ्चहरुमा डेटाहरु पनि लिएर जानुपर्ने ।”

जलवायुजन्य क्षति तथा नोक्शानीलाई स्पष्टताका साथ अन्तर्राष्ट्रिय मञ्चहरुमा राख्नुपर्नेमा सबैको जोड रहेको छ। सम्मेलन आजसम्म चल्नेछ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !