नेपालमा विद्यार्थी राजनीतिको परिदृश्य
नेपालमा विद्यार्थी राजनीति इतिहासकै एउटा प्रभावशाली आन्दोलन हो, जसले केवल विश्वविद्यालयको पर्खालभित्र सीमित रहेर होइन, सम्पूर्ण मुलुकको राजनीतिक दिशा परिवर्तन गर्नसक्ने शक्ति बोकेको थियो तर आज यो आन्दोलन दोधारको अवस्थामा पुगेको छ, जहाँ एकातर्फ ऐतिहासिक गौरवको स्मरण छ, अर्कोतर्फ पतनशील वर्तमानको पीडा ।
प्रारम्भमा, विद्यार्थी राजनीति राजनीतिक चेतनाको एउटा विशुद्ध रूप थियो, जसले राणा शासनविरुद्धको विद्रोहमा समेत भूमिका खेलेको थियो । २००७ सालको क्रान्तिमा विद्यार्थीहरू अग्रपंक्तिमा थिए । त्यसपछि पञ्चायती व्यवस्था विरुद्धको लामो संघर्षमा विद्यार्थी संगठनहरूले ज्यानको बाजी लगाएर परिवर्तनको पक्षमा उभिन थाले । २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को जनआन्दोलनमा समेत विद्यार्थीहरूको भूमिकालाई बेवास्ता गर्न सकिन्न ।
यस आन्दोलनबाट उत्पन्न संगठनहरू जस्तै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), केवल संगठन नभएर चेतनाको केन्द्र थिए । यिनले विचार, नीति, आन्दोलन, नेतृत्व र बलिदान सबैकुरा समेट्थे । विश्वविद्यालयहरू विचारको प्रयोगशाला थिए, जहाँबाट राष्ट्रिय बहसहरू सुरु हुन्थे तर समयसँगै यी संगठनहरूको कार्यशैली परिवर्तन हुन थाल्यो । राजनीतिक दलको नियन्त्रण, गुटबन्दी, सत्ताको रस्साकस्सी र सैद्धान्तिक शून्यता यिनीहरूको विशेषता बन्न थाले ।
आज विद्यार्थी संगठनहरू आफ्नो स्वतन्त्र चरित्र गुमाएर मातृ दलको उपशाखा मात्र बनेका छन् । विश्वविद्यालयमा संगठनहरू शैक्षिक सुधारको पक्षमा भन्दा पनि क्याम्पस प्रशासनको हस्तक्षेपमा केन्द्रित छन् । आन्तरिक स्रोतको बाँडफाँड, भवन निर्माणको ठेक्का, प्रशासनिक नियुक्ति र कर्मचारी सरुवाजस्ता विषयहरूमा विद्यार्थी नेताहरूको संलग्नता देखिँदा संगठन राजनीतिकभन्दा व्यापारिक स्वार्थको संरचना बन्न थालेको छ ।
कक्षा कोठा र पुस्तकालय केन्द्रविन्दु हुनुपर्ने शिक्षालयहरू हुलदंगा र गालीगलौजको थलो बन्न थालेका छन् । राजनीतिक प्रशिक्षण र वैचारिक बहसको साटो व्यक्तिगत आक्रोश, दलगत प्रतिशोध, र जथाभावी चर्तिकला हाबी छ । नेतृत्वको परिपक्वता, भाषिक संयमता, वैचारिक स्पस्टता र सामाजिक जवाफदेहिता हराउँदै गएको छ तर यही अवस्थाबीच केही सकारात्मक संकेतहरू पनि देखा परेका छन् ।
विगत केही वर्षयता स्वतन्त्र उम्मेदवारहरूको उदय, वैकल्पिक अभियानहरूको थालनी र विद्यार्थी राजनीतिमा शुद्धताको माग उल्लेखनीय छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका धेरै क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी उम्मेदवारहरूले चुनाव लड्ने आँट गरेका छन् । आदित्य पौडेल जस्ता युवाहरूको अभियानले परम्परागत संगठनहरूलाई नै प्रश्नको कठघरामा उभ्याएको छ।
यी स्वतन्त्र अभियानहरूले केवल चुनाव जित्ने ध्येय राख्दैनन्, उनीहरू नेतृत्वको वैकल्पिक मोडेल प्रस्तुत गर्न चाहन्छन् । शैक्षिक गुणस्तर सुधार, प्रशासनिक पारदर्शिता र विश्वविद्यालय स्वायत्तता जस्ता मुद्दाहरू उठाएर उनीहरूले विद्यार्थी राजनीतिलाई पुनः विचारको आधारमा पुनर्स्थापित गर्ने प्रयास गरेका छन् । यसले देखाउँछ कि दलहरूको नियन्त्रणमा रहनु विद्यार्थी संगठनको नियति होइन ।
यद्यपि विद्यार्थी राजनीति केवल चुनावी प्रतिस्पर्धा वा गुटगत विजयको विषय होइन । यो देशको लोकतान्त्रिक अभ्यासको आधार हो। यही आन्दोलनले विगतमा क्रान्ति र परिवर्तनको बीउ रोपेको थियो । आजको समस्याको जरो गहिरो छ-राजनीतिक दलको अन्धअनुकरण, नेतृत्वमा नातावाद र संरक्षणवाद, संगठनमा वैचारिक दिशाविहीनता, र विद्यार्थीको वास्तविक मुद्दाप्रति बेवास्ता।
समाजका उत्पीडित वर्ग, मधेसी, जनजाति, दलित, थारू, महिला विद्यार्थीहरूको संगठनमा सहभागिता त देखिन्छ तर नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व अझै अत्यन्त न्यून छ । समावेशी संरचनाको अभाव, वैकल्पिक विचारप्रति असहिष्णुता र आलोचना सहन नसक्ने प्रवृत्तिले विद्यार्थी राजनीतिलाई नै अलोकप्रिय बनाएको छ ।
डिजिटल युगमा संगठनहरू सामाजिक सञ्जालमा सक्रिय छन्। फेसबुक, युट्युब, टिकटक, ट्वीटरजस्ता माध्यममा विचार राख्ने प्रवृत्ति बढेको छ तर यी माध्यममा पनि व्यवहारगत अपरिपक्वता, गाली–गलौजको राजनीति र जनप्रतिक्रियाको सस्तो सस्तो शिकार बनाउने प्रवृत्तिले विद्यार्थी आन्दोलनको गरिमा घटाएको छ तर यो नै एउटा सम्भावना पनि हो । डिजिटल प्लेटफर्मले अब भूगोलको सीमाभन्दा पर पनि विद्यार्थी आन्दोलनको संवाद र संगठित स्वर सिर्जना गर्न थालेको छ ।
विद्यार्थी राजनीतिमा सुधार ल्याउन आवश्यक छ-संगठनहरूको वैचारिक पुनर्संरचना, शैक्षिक मुद्दालाई प्राथमिकता, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति, र नेतृत्व विकासमा लोकतान्त्रिक प्रक्रिया । हिंसा होइन, संवाद। गुट होइन, नीति। झगडा होइन, विचार। पदको लिप्सा होइन, सेवाको भावना ।
राजनीतिक पार्टीहरूको अधीनमा विद्यार्थी संगठन रहँदा तिनले कहिल्यै शैक्षिक सुधारको स्वतन्त्र आन्दोलन गर्न सक्दैनन् । जबसम्म संगठनहरू दलको अंगको रूपमा सीमित रहन्छन्, तबसम्म तिनीहरूले विश्वविद्यालयलाई राजनीतिक अखाडा मात्र बनाउँछन् । यस्तो अवस्थामा स्वतन्त्र आन्दोलन, शैक्षिक अधिकारका मुद्दा र वैकल्पिक नेतृत्व विकासको सम्भावना गुम्न सक्छ।
विद्यार्थी राजनीतिलाई सुधार गर्न “राजनीतिविरोध” होइन, “राजनीतिक मूल्यहरूको पुनराविष्कार” चाहिन्छ । राजनीति प्रतिगमनको साधन होइन, परिवर्तनको माध्यम हुनुपर्छ भन्ने मूल्य पुनः स्थापित हुन जरुरी छ ।
नेपाली विद्यार्थी राजनीतिले फेरि एकपटक नयाँ युगको संवाहक बन्ने अवसर गुमाउनु हुँदैन। यसको गौरवशाली इतिहास छ, वर्तमानमा केही विचलनहरू छन् तर भविष्य उज्यालो बनाउन सकिन्छ, यदि नेतृत्व, दृष्टिकोण र विचारमा पुनर्संरचना गरियो भने। आजको आवश्यकता चिल्ला भाषण होइन, व्यवहारिक वैकल्पिक अभ्यास हो । विद्यार्थी राजनीतिले फेरि एकपटक देशको लोकतान्त्रिक अभ्यासको मेरुदण्ड बन्न सक्ने सम्भावना अझै बाँकी छ ।








