मोदी गाउँपालिकाले तयार गर्यो आफ्नै लोगो
पर्वत। मोदी गाउँपालिकाले आफ्नै लोगो तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार गरिएको छ । झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै पहिचानलाई अटाइएको छ ।
लोगोमा नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका बाला, गाउँपालिकाका विभिन्न जङ्गलमा पाइने आठ वटा गुँरास, प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे जस्तो देखिने पहाड र विभिन्न जडीबुटी पाइने जङ्गलसमेत लोगोमा रहेको छ ।

त्यसैगरी गाउँपालिकाभित्र पाइने विभिन्न पक्षीको तस्वीर पनि लोगोमा रहेको छ भने गाउँपालिकाभित्र रहेका घरवास, झरनासमेत राखिएको छ । मोदी गाउँपालिकामा साना ठूला गरी ५० भन्दा बढी झरना छन् ।
त्यसैगरी लोगोको मध्य भागमा केरा र सुन्तलाका बोट राखिएको छ भने मोदी गाउँपालिकाको बीचमा बगिरहेको नदीको रूपमा रहेको मोदीखोलाको तस्वीर पनि अटाइएको छ । मोदी खोलामा आधा दर्जनको हाराहारीमा विद्युत् उत्पादनगृह सञ्चालन भइरहेका छन् । रासस








