८ माघ २०७७, बिहीबार

युवावर्गलाई कसरी स्वदेशभित्रै बचाउने ?

प्रकाशित मिति :  २५ पुष २०७७, शनिबार ११:३९


उठान :

युवावर्ग भविष्यका कर्णधार हुन् भन्ने कुरामा कसैको पनि दुई मत छैन । कर्णधार भन्नाले माझीलाई बुझिन्छ । जसरी एउटा माझीले डुङ्गाका माध्यमले वारि किनारका यात्रीलाई पारि किनारसम्म पुर्‍याउँछ र यात्रीलाई नदीमा डुब्न नदिई पार लगाउँछ त्यसरी नै आजका युवावर्गले पनि भोलिको देशको बागडोर सम्हाल्नेछन् र देशलाई डुब्न वा अधोगतितिर लाग्न नदिई सदैव उन्नतिको मार्गततर्फ अग्रसर गराउनेछन् भन्ने मनसायले हाम्रा पूर्वजहरूले आजको युवावर्गलाई भोलिका कर्णधार मानेका    हुन् ।

वर्तमान नेपालको परिवेशमा अधिकांश युवाहरू पढाइ र रोजगारका सिलसिलामा विदेशिने क्रम दिनहुँ बढ्दै गएको छ भने देशमा दक्ष जनशक्तिको पनि क्रमशः अभाव हुन थालेको छ । यस अवस्थामा युवावर्गलाई कसरी स्वदेशभित्रै बचाउन सकिएला ? भन्ने विषयमा सरकारी र गैरसरकारी निकायमात्र होइन अभिभावक र स्वयं युवावर्गले पनि गम्भीर भएर सोचविचार गर्नु आवश्यक छ ।

स्वदेशोपयोगी शिक्षामा जोड :

यदि युवावर्गलाई स्वदेशभित्रै बचाउने हो भने सर्वप्रथम स्वदेशोपयोगी शिक्षामा जोड दिनुपर्छ । हाम्रो वर्तमान शिक्षा प्रणाली र पाठ्यक्रम स्वदेशोपयोगी र जनोपयोगी छैन । हामी सबैजसो अभिभावकले बालबच्चाको तोतेबोली फुट्न नपाउँदै उनीहरूलाई अङ्ग्रेजी माध्यमका स्कुलहरूमा भर्ना गर्न लालायित हुन्छौँ र आफ्ना बालबच्चाहरू अङ्ग्रेजीमा फरर बोल्न र लेख्न सकून् भन्ने चाहना राख्छौँ तर आफ्नै मातृभाषा नेपाली बोल्न र लेख्नका लागि हामी अभिभावकले प्रेरित गर्दैनौँ ।

सबैजसो विकसित र विकासोन्मुख देशहरूले आफ्नै राष्ट्रभाषालाई मुख्य प्राथमिकतामा राखेर अङ्ग्रेजीजस्ता अन्तरराष्ट्रिय भाषालाई दोस्रो दर्जामा राखेका हुन्छन् तर हामीले अङ्ग्रेजीलाई पहिलो दर्जामा र नेपालीलाई सौतेनी आमाजस्तै दोस्रो दर्जामा राख्ने धृष्टता गरिरहेका छौँ । जसका कारण हाम्रा बालबच्चाहरू न अङ्ग्रेजीमा दक्ष हुन सकेका छन् न त नेपालीमा नै दक्ष हुन सकेका छन् ।

नेपालभित्रै बाँच्न चाहने नेपालीहरू अङ्ग्रेजी नजाने पनि बाँच्न सक्छन् तर नेपालीमा दक्ष नभए प्रत्येक पाइलापाइलामा समस्या पर्छ भन्ने सन्देश हामी अभिभावकले आफ्ना सन्ततिलाई दिन सकेका छैनौँ । जबसम्म नेपालमा नेपाली भाषाले पहिलो दर्जाको सम्मान नपाई दोस्रो दर्जाको अपमान सहिरहन्छ तबसम्म हाम्रा सन्ततिहरू पनि नेपाल र नेपाली भाषालाई बेवास्ता गरेर विदेशको मोहमा फसिरहनेछन् ।

तसर्थ कृषि, पर्यटन, ग्रामीण विकास, आयुर्वेद, जलस्रोतजस्ता स्वदेशोपयोगी र जनोपयोगी विषयलाई बढ्ता प्रश्रय दिने गरी शैक्षिक नीतिको अवलम्बन र पाठ्यक्रमको व्यवस्था गर्नुपर्छ । जसका कारण हाम्रा सन्ततिले नेपाल र नेपाली भाषाप्रति सम्मानभाव देखाउन सक्नेछन् ।

प्राविधिक शिक्षामा लगानी :

अप्राविधिक शिक्षाका कारण हाम्रा शिक्षण संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखानाजस्ता भएका छन् । अप्राविधिक विषय लिएर स्नातकोत्तर गरिसकेको जनशक्ति जोगीले भिक्षा माग्दै घरघरमा पुगेझैँ ‘मलाई जागिर दिनुहोस्’ भनेर रोजगार प्रदायक विभिन्न संस्थाहरूको ढोका ढकढक्याउनुपर्ने बाध्यता छ ।

प्राविधिक शिक्षामा लगानी गर्ने विषयमा सरकारी र गैरसरकारी शिक्षण संस्थाहरू अग्रसर भइदिएको भए नेपालभित्रै हाम्रा युवाहरू बेरोजगार हुनुपर्ने र रोजगारकै लागि भनेर विदेशिनुपर्ने थिएन । प्राविधिक शिक्षामा प्रारम्भमा बढ्ता लगानी गर्नुपरे पनि त्यसबाट छिटै प्रतिफल प्राप्त गर्न सकिन्छ भने अप्राविधिक शिक्षामा प्रारम्भमा धेरै लगानी गर्न नपरे पनि पढाइकै नाममा शिक्षण संस्थामा वर्षौंसम्म धाइरहनुपर्ने र पढाइ सिध्याएपछि पनि रोजगार नपाएर भौंतारिइरहनुपर्ने अवस्था आउँछ ।

फलस्वरूप अप्राविधिक शिक्षा लिँदै गरेका वा लिइसकेका युवाहरू पढेपछि देशमा कामै नपाइने ठानेर विदेश जाने रहर गर्छन् । प्राविधिक शिक्षामा लगानी गर्न सकिएका खण्डमा आफूले आर्जन गरेको सीपका माध्यमले कुनै न कुनै स्वरोजगारमा संलग्न हुन सक्छन् र अरूलाई पनि क्रमशः रोजगार दिन सक्षम हुन्छन् ।

साथै प्राविधिक शिक्षा आर्जन गर्ने युवाहरूमा विदेश नै जानुपर्छ भन्ने सोच पनि आउँदैन र यदि कथंकथाचित् त्यस्तो अवस्था आइहालेर विदेश गइहाले पनि उनीहरूले राम्रो काम र रामै्र दाम कमाउन सक्छन् भने त्यस्ता व्यक्तिहरू सधैँ विदेशमै नरमाएर नेपाल फर्किने सम्भावना पनि बढ्ता हुन्छ ।

पैसामुखी सोचमा परिवर्तन :

जीवनका लागि पैसाको आवश्यकता पर्छ तर पैसाका लागि जीवन समर्पण गर्नु राम्रो होइन । यही कुरा हामीले आफ्ना बालबच्चाहरूलाई सानैदेखि बुझाउने प्रयत्न गरेनौँ र हामी पनि पैसा नै सर्वस्व हो भनेर पैसाकै मात्र पछि लागिरह्यौँ । हाम्रै सिको गरेर हाम्रा बालबच्चाहरूमा पनि पैसामुखी सोचको विकास हुँदै गयो ।

फलस्वरूप आफ्ना सहपाठी साथीहरू पढाइको बहानामा विदेश गएर डलर कमाउन थालेपछि उनीहरूमा पनि ‘विदेश जाऔँ जाऔँ र पैसा कमाऔँ कमाऔँ’ भन्ने लाग्यो । कक्षा ११ मा पढ्दासम्म स्वदेशभित्रै बस्न रुचाउने हाम्रा सन्ततिहरू कक्षा १२ मा पढ्न थालेपछि मानसिक रूपमा एउटा खुट्टा विदेशतिर जान उचालिसक्छन् भने कक्षा १२ को वार्षिक परीक्षा दिएलगत्तै उनीहरू विदेश जाने पूर्वतयारी कक्षा लिन अग्रसर हुन्छन् ।

स्वदेशोपयोगी शिक्षाको अभाव र प्राविधिक शिक्षा आर्जन गर्न नसकेर अपाङ्गजस्तै बनेका हाम्रा सन्ततिहरूले विदेशमा गएर साङ्ग बन्ने सोच बनाउन थाल्छन् । कतिपय अभिभावकलाई त आफ्ना सन्तानलाई विदेश पठाउने रहर होला तर धेरैजसो अभिभावकले आफ्नै देशमा पढून् र आफ्नै देशभित्र सन्तानले आफ्नो भविष्य देखून् भन्ने चाहना राखेका हुन्छन् तर ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’ भनेझैँ सन्तानहरू विदेश नगई नछाड्ने भनेर एकोहोरिन थालेपछि अभिभावकहरू सन्तानलाई विदेश पठाउन बाध्य हुन्छन् ।

अपरिपक्व अवस्थामा साधारण शिक्षा हासिल गरेर विदेश गएका युवाहरूले अत्यन्त न्यून आम्दानी हुने जस्तो आइपर्‍यो त्यस्तै काम गर्न अग्रसर भइदिँदा घरजग्गा धितो राखेर सन्तान विदेश पठाउने अभिभावकहरूलाई कसरी बैंकको मासिक ब्याज र किस्ता बुझाउने भन्ने चिन्ताले पिरोल्न थाल्दछ ।

उता जुन विषय पढ्छु भनेर विदेश गएका हुन्छन् ती युवाहरू सम्बद्ध विषय नपढेर केही महिनापछि विषय परिवर्तन गरी सस्तो शुल्कमा अर्को विषय पढ्न बाध्य हुन्छन् । जतिसुकै धनी अभिभावकले पनि आफ्ना सन्तानलाई विदेशमा सधैँ मासिक खर्च पठाइरहन सक्तैनन् भने मासिक रूपमा न्यून आय भएका अभिभावकले सन्तानलाई सदैव मासिक खर्च पठाउन सक्ने कुरै भएन । आफै कमाउँदै पढ्नुपर्दा विदेशिएका युवाहरूलाई कम्ती गाह्रो हुँदैन ।

त्यस्ता युवाहरूमध्ये कतिपय युवाहरू त ‘विदेश आउन गल्ती गरिएछ’ भनेर पछुताउन पनि पुग्छन् भने विदेशिएका धेरैजसो युवाहरू जसोतसो दुःख गरेर जीवन गुजारिहन चाहन्छन् । पढ्न गएका युवाहरू आर्थिक समस्यामा पर्न थालेपछि उनीहरूका लागि पढाइभन्दा पनि आर्थिक उपार्जन गर्नु नै पहिलो प्राथमिकतामा पर्छ भने बचेको समय उनीहरूले पढाइका लागि दिने गर्छन् । जसका कारण उनीहरूको पढाइ गौण वा कमजोर हुन्छ ।

नेपालमा हप्तामा छ दिन पढ्दा त गुणस्तरीय शिक्षा आर्जन गर्न नसकिरहेका हाम्रा सन्ततिहरू विदेशमा हप्तामा एकदुई दिन पढ्दा बढ्ता दक्ष होलान् भनेर हामीले कल्पना पनि गर्न सक्तैनौँ । स्वदेशमा हामी अभिभावकले भनेको घरायसी सामान्य काम गर्न अस्वीकार गर्ने हाम्रा सन्ततिहरू विदेशमा जस्तोसुकै काम गर्न पनि अग्रसर हुन्छन् ।

विदेशमा पुगेर हाम्रा सन्ततिहरू जुन काम गर्न सहर्ष अग्रसर हुन्छन् त्यस्तै काम नेपालमा पनि गर्न अग्रसर भइदिने हो भने युवाहरूले नेपालमा रहेर पनि राम्रै आम्दानी गर्न सक्छन् । जबसम्म पैसामुखी सोचमा परिवर्तन हुन सक्तैन तबसम्म मान्छे सबैभन्दा दुःखी हुन्छ र उसले आफ्नो जन्मभूमि अनि आफ्ना आमाबुवालाई स्वर्गभन्दा पनि महान् देख्ने गरी आफ्नो जीवनलाई उज्ज्वल बनाउन पनि सक्तैन ।

स्वदेशभित्रै सम्भावनाको खोजी :

वर्तमानमा नेपालबाट जति युवाहरू विदेशिने गरेका छन् स्वदेशभित्रका सबै सम्भावनाहरू खोज्दा हैरान भएर उनीहरू विदेशिएका भने पक्कै होइनन् । १२ कक्षा उत्तीर्ण गरेपछि जति आर्थिक लगानी गरेर वर्तमानमा हाम्रा सन्ततिहरू विदेशिने गरेका छन् स्वदेशभित्रै कुनै व्यवसायमा त्यत्ति लगानी गर्ने हो भने हाम्रा सन्ततिहरूको भविष्य स्वदेशभित्रै सोचेजस्तै उज्ज्वल हुनेछ ।

काठमाडौँ विश्वविद्यालयमात्र होइन नेपालका सरकारी विश्वविद्यालयहरू पनि गुणस्तरीय शिक्षाकै लागि विदेश जानैपर्ने बाध्यतालाई अन्त्य गर्न सक्षम देखिन्छन् । विदेशमा काम नगरी एकोहोरो पढाइलाई मात्र अगाडि बढाउन सम्भव छैन तर नेपालमा काम नगरीकन एकोहोरो पढाइलाई अगाडि बढाउन हाम्रा

अभिभावकहरूले आफ्ना सन्ततिका लागि पर्याप्त लगानी गर्न सक्छन् । विदेशमा जस्तै नेपालमा पनि कमाउँदै पढ्दै गर्ने हो भने पनि त्यस्ता पर्याप्त सम्भावनाहरू भेटिन्छन् र भनेजस्तो रोजगार नमिले पनि आफैले ससानो व्यापार–व्यवसाय गर्दै कक्षा १२ पछिको पढाइलाई निरन्तरता दिन असम्भव देखिँदैन ।

स्वदेशभित्रै दक्ष जनशक्तिको आवश्यकता :

दक्ष जनशक्तिको आवश्यकता जुनसुकै देशलाई हुन्छ । अमेरिकाजस्ता विकसित देशले आकर्षक छात्रवृत्ति दिएर राम्रा राम्रा विदेशी विद्यार्थीहरूलाई पढ्नका लागि प्रोत्साहन गर्छ र पढाइ सिध्याएपछि त्यस्तो दक्ष जनशक्ति अमेरिकामै खपत हुने गरेको छ ।

कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक गर्नका लागि मात्रै होइन स्नातकोत्तर र विद्यावारिधि गर्ने निहुँमा विदेशिएको दक्ष जनशक्ति पनि फर्केर नेपाल नआउने प्रवृत्तिले गर्दा नेपालमा दिन प्रतिदिन दक्ष जनशक्तिको अभाव बढ्दै गएको छ ।

न्यून लगानी गरेर सरकारी शिक्षण संस्थामा पढेका विद्यार्थीहरूभन्दा अधिकतम लगानी गरेर निजी शिक्षण संस्थामा अध्ययन गरेका युवाहरू देश छाड्न बढ्ता उत्सुक देखिएको पाइन्छ तर शिक्षा मन्त्रालयले पढाइका लागि विदेशिने विद्यार्थीका लागि कुनै योग्यता, दक्षता र नेपाल फर्कनैपर्ने प्रावधानसहितको सीमा निर्धारण नगरी ‘नो अब्जेक्सन लेटर’ दिने गरेका कारण पनि दिन प्रतिदिन दक्ष जनशक्ति विदेशिने क्रम बढेको हो ।

स्वदेशभित्र दक्ष जनशक्तिको सदैव आवश्यकता परिरहन्छ भन्ने कुरालाई हृदयङ्गम गरी दक्ष जनशक्तिको बहिर्गमन प्रक्रियालाई नियन्त्रण गर्नका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकार तथा सम्बद्ध अभिभावकहरूको समेत बेलैमा गम्भीर ध्यान जानु आवश्यक छ ।

वैदेशिक भ्रमणबाट स्वदेश–विकासको चिन्तन :

हाम्रा पूर्वजहरूले ‘चार विद्या चौध चतुर्‍याइँ’ भनेर हामीलाई थोरै पढेलेखे पनि व्यवहारमा धेरै चलाख हुनुपर्छ भनेर दीक्षित गरेका थिए तर हामीले चतुर्‍याइँलाई मात्र बढ्ता महत्त्व दियौँ र पढाइलाई गौण ठान्ने भूल गरिरह्यौँ । हाम्रा सन्ततिहरूले पनि हाम्रै देखासिकी गरे । हाम्रो उपनिषद्ले हामीलाई ‘चरैवेति चरैवेति’ अर्थात् हिँडिराख, हिँडिराख भनेर निरन्तर गतिशील भइरहन प्रेरित गरिरहेको छ तर हामी हिँडि त राख्यौँ तर हिँडेर सिक्ने काम चाहिँ कम गर्‍यौँ ।

नहिँड्ने वा जहाँको तहीँ बसिरहनेहरू बसिरहे र उनीहरूले नयाँ केही सिक्न पाएनन्; नयाँ क्षितिज उघार्न पाएनन् । त्यसैले पोखरीझैँ जमिरहने होइन नदीझैँ निरन्तर बगिरहन सक्नुपर्छ भनेर हामीले आफ्ना सन्ततिलाई सिक्नका लागि घर छाड्न र स्वदेशसमेत छाड्न प्रेरित गरिहेका छौँ ।

यसरी प्रेरित गर्दा हामीले गल्ती चाहिँ गरेका छैनौँ तर विदेशमा देखेसिकेको ज्ञान नेपालमा ल्याएर नेपाल सजाउन हामीले उनीहरूलाई प्रशिक्षित गर्न सकेनौँ । विदेशबाट निकै उत्साह र उमङ्गका साथ नेपाल सजाउने सपना बोकेर नेपाल फर्किन खोज्ने केही व्यक्ति नभएका पनि होइनन् तर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरूले त्यस्तो सपना भुलेर कहिल्यै नेपाल नछाडेका छिमेकीजस्ता हुन थाल्छन् ।

जसका कारण नेपालको वास्तविक विकास हुनै सकेको छैन । तसर्थ वैदेशिक भ्रमण वा लामो बसाइ र सिकाइपछि स्वदेश फर्किएका हरेक नेपालीले स्वदेश–विकासको चिन्तन गरिरहने वातावरण हामीले क्रमशः विकसित गर्दै जानु आवश्यक छ ।

बैठान :

‘देश खाएर शेष भएका सन्तान परिपक्व हुन्छन्’ भन्ने हाम्रा पुर्खाहरूको भनाइलाई हामीले गुरुमन्त्र त ठान्न सक्छौँ तर विभिन्न देशहरूको भ्रमण गरेर विदेशमै रमाउने सन्तानलाई हामीले परिपक्व ठान्न भने सक्तैनौँ । विदेशमा रहेबसेका अधिकांश युवाहरू नेपालमा आउन र नेपाललाई सजाउन पनि चाहन्छन् तर नेपालको अस्थिर राजनीति र राजनेताको अदूरदर्शीपनाले गर्दा उनीहरूलाई ‘यता आऊ’ भनेर आश्वस्त बनाउने वातावरण हामीले निर्माण गर्नै सकेका छैनौँ ।

तसर्थ विदेशिएको युवावर्गलाई कसरी स्वदेश फिर्ता ल्याउने र विदेशिने मोहमा फसेका युवालाई कसरी स्वदेशभित्रै बचाउने भन्ने बारेमा सरकारी र गैरसरकारी निकायहरू योजनाबद्ध रूपमा नै अग्रसर हुनु अपरिहार्य छ ।

लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् ।



प्रतिक्रिया दिनुहोस !