१८ माघ २०७९, बुधबार

दाङको राप्ती गाउँपालिकाद्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल प्रदान

प्रकाशित मिति :  26 January, 2021 2:40 pm


दाङ । दाङको राप्ती गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल प्रदान गरेको छ । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको सहयोगको उच्च मुल्याङकन गर्दै सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल प्रदान गरेको हो ।

सिसहनियाँ स्वास्थ्य चौकी तथा लालमटिया स्वास्थ्य चौकी मातहत काम गर्दै आएका ६४ जना स्वयंसेविकाहरुलाई साईकल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

समुदायस्तरमा समुदायकै महिलाहरुको सहभागितामा स्वास्थ्य सम्बन्धि परामर्श, सेवा र सल्लाह वृद्धि गर्ने उद्धेश्यका साथ स्वास्थ्य स्वयंसेविकाहरुलाई आवागमनमा सहजताका लागि साईकल प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए ।

स्वास्थ्य स्वयंसेवी भावनाले प्रेरीत र समुदायमा निःशुल्क रुपमा स्वास्थ्य सम्बन्धि परामर्श, सेवा तथा सहयोगको लागि जानकारी प्रदान गर्नको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुले खेल्दै आएको भूमिकाप्रति राप्ती गाउँपालिका सदैव कृतज्ञ रहेको साईकल वितरण कार्यक्रममा प्रमुख अतिथि रहनु भएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

अध्यक्ष सुवेदीले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका वर्ग र समुदायमा सेवा विस्तार गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य संस्थाबाट प्राप्त गरेको ज्ञान र सिपबाट आफ्नो गाउँघरमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसित समन्वय गरी समुदायस्तरमा प्रचार प्रसार, सेवाबारे परामर्श तथा जानकारी, प्रेषण तथा सेवाहरु समेत प्रदान गर्ने गरेकोमा धन्यवाद समेत दिए ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले आ आफ्नो क्षेत्रमा परिवार नियोजन स्थायी र अस्थायी परिवार नियोजन सेवाबारे परामर्श र सेवाको लागि प्रेषण, पिल्स तथा कन्डम वितरण गर्ने, मातृ स्वास्थ्य प्रवर्धन अन्तरगत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भवती जाँचको लागि प्रोत्साह, गर्भवती महिलालाई आईरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहन तथा आमा सुरक्षा कार्यक्रमबारे जानकारी लगायतका काम गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !