रोल्पाको सनुछहरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन तयार गर्ने
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस कोभिड-१९ महामारी नियन्त्रण गर्नको लागि विभिन्न जिम्मेवारी बाँडफाँट सहित विभिन्न निर्णय गरेको छ।
कोरोना भाइरस कोभिड-१९ लाई नियन्त्रण गर्नको लागि राजनैतिक दलले आवश्यक सहयोग सहजीकरण समन्वयकारी भूमिका निर्वाह गर्ने,आइएनएफ रोल्पा शाखाले आवश्यक सामाग्रीहरु उपलब्धताको लागि सहयोग गर्ने र नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङले महामारी रोकथाम तथा नियन्त्रणको लागी आवश्यक स्वयंसेवक परिचालन गर्ने तय भएको छ ।
त्यस्तै सुरक्षा निकायले महामारी रोकथाम तथा नियन्त्रणको लागि सुरक्षा सम्बन्धि सम्पूर्ण कार्यको लागि सहजीकरण गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अन्तर्गत रहेका वडाहरुमा कोभिड सम्बन्धि लक्षण देखिएका मानिसहरुलाई परिक्षण गर्नको लागि तत्काल एक सय थान एन्टिजेन खरिद गर्नको लागि सिफारिस गर्ने,गाउँपालिकाको केन्द्र पोबाङमा रहेको ५ शैयाको अस्थायी कोभिड अस्पतालमा ५ थान अक्सिजन सिलिन्डर सहित खरिद गर्न सिफारिस गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिहरुको विवरण सबै वडाले गाउँपालिकाको विपद शाखामा जानकारी गराउने र निर्माण कार्य सम्बन्धि कार्यको हकमा निर्माण कार्यमा संलग्न कामदारहरुको विवरणहरु विपद शाखामा अद्यावधिक गर्ने गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।








