१७ बैशाख २०८१, सोमबार

नेपालमा प्लान्ट खोल्ने हिरोको योजना करकै कारण रोकियो

प्रकाशित मिति :  23 February, 2020 10:58 am


काठमाडौं, ११ फागुन ।

दुईपाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरू तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ।

नेपाल आफूहरूका लागि निकै महत्वपूर्ण र पुरानो बजार भए पनि नेपालीका लागि नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना भने सरकारी नीतिका कारण पूरा हुन नसकेको कम्पनीका उच्च अधिकारीहरूले बताए । हिरोले अझै पनि नेपालमा सम्भाव्यता अध्ययन गरिरहेको र सरकारी सहयोग पाएमा लगानी गर्न इच्छुक रहेको जनाएको छ ।

राजस्थान राज्यको जयपुरमा रहेको हिरोको ग्लोबल सेन्टर अफ इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी)मा आयोजित एक कार्यक्रममा कम्पनीका ग्लोबल चेयरमेन डा. पवन मुञ्जालले नेपालको बजारलाई आफूहरूले सुरुदेखि नै विशेष महत्व दिएको बताए । उनले भने, “हामीले सन् २०११ मा हिरोका उत्पादन नेपालसहित जम्मा चार देशमा मात्र निर्यात गथ्र्यौं, नेपाल हाम्रो पुरानो बजार हो र नेपालमा हाम्रा उत्पादन पनि निकै लोकप्रिय छन् ।” हिरोले जापानी कम्पनी होण्डासँगको साझेदारी अन्त्य गरेसँगै आक्रामक रूपमा बजार विस्तार गरिरहेको छ र हाल एसिया, अफ्रिका, दक्षिण तथा मध्य अमेरिका गरी कुल ४० मुलुकमा आफ्ना उत्पादन निर्यात गरिरहेको छ ।

हिरोले बढ्दो बजारसँगै बंगलादेश र कोलम्बियामा प्लान्ट स्थापना गरिसकेको छ । तर, नेपालमा आफ्ना उत्पादन लोकप्रिय हुँदाहुँदै पनि प्लान्ट स्थापना गर्न नसकिएको कम्पनीका ग्लोबल बिजनेस हेड रजत भार्गव बताउँछन् । “नेपाल हाम्रा लागि निकै महत्वपूर्ण बजार हो, त्यहाँ दुई पाङ्ग्रे सवारीको माग पनि उच्च छ तर हामीले त्यहिँ प्लान्ट खोलेर अघि बढ्न भने सकेका छैनौं,” भार्गव भन्छन्, “किनकी त्यहाँ यस्ता उद्योगलाई कुनै सहुलियत छैन र ड्युटी निकै उच्च रहेको हामीले पाएका छौं ।” नेपालमा खासगरी दुईपाङ्ग्रे सवारी प्रयोग गर्ने महिलाको संख्या निरन्तर वृद्धि भइरहेकाले अझै पनि ठूलो बजार आफूहरूले देखेको र चाँडै नै यस विषयमा पनि अध्ययन गर्ने उनको भनाइ छ । नेपाल सरकारले अन्य मुलुकमा जस्तै सुविधा उपलब्ध गराए आफूहरू लगानीका लागि तयार रहेको भार्गवले बताए । पछिल्लो समयमा बंगलादेशमा पनि करसम्बन्धी नीतिगत परिवर्तनकै कारण प्लान्ट विस्तार गर्न नसकिएको स्मरण गर्दै भार्गवले नीतिगत सहुलियतसँगै स्थिरता कुनै पनि उद्योगका लागि अनिवार्य शर्त भएको बताए ।
हिरोले वार्षिक ८० लाख मोटरसाइकल उत्पादन गर्दै आएको छ । जसमध्ये बंगलादेशको प्लान्टबाट १ लाखभन्दा बढी उत्पादन हुन्छन् भने कोलम्बियाको प्लान्टबाट आन्तरिक खपतका लागि २७ हजार र निर्यातका लागि ३ हजार गरी ३० हजार दुईपाङ्ग्रे सवारी उत्पादन गर्दै आइरहेको छ । हिरो मोटोकर्पका ग्लोबल सीईओ तथा एमडीको समेत जिम्मेवारी आफैं सम्हालिरहेका मुञ्जालका अनुसार अटोमोबाइल क्षेत्रमा हाल देखिएको मन्दीको अवस्थामा पनि हिरोको बजार भने उत्साहजनक छ । “अटोमोबाइल क्षेत्र मन्दीको अवस्थामा गइरहँदा पनि हामीले गत आर्थिक वर्षको पाँच महिनामा प्रिमियम सेगमेन्टका तीन मोटरसाइकल लञ्च ग-यौं,” उनले भने, “यसले हाम्रो पोर्टफोलियोसँगै हाम्रो बजार विविधीकरणसमेत प्रतिविम्बित गर्दछ ।”
नेपालमा हाल एसेम्बल उद्योगले स्पेयर्स पाट्र्स आयात गर्दा अन्तशुल्कमा २५ प्रतिशत छुटबाहेक वैदेशिक लगानीका यस्ता उद्योगलाई अन्य सुविधा छैन । नेपाली अटो व्यवसायीहरूका अनुसार सवारी उत्पादनका लागि ल्याइने पार्टपुर्जामा लाग्दै आएको अन्तःशुल्क नै लगानीको मुख्य अवरोधक हो । स्पेयर पार्ट्र्सकै रूपमा एसेम्बलिङ प्लान्टका लागि ल्याइने कच्चापदार्थमा पनि अन्तःशुल्क लगाइँदा यो क्षेत्रमा वैदेशिक लगानी भित्रिन सकेको छैन । हाल बजाज मोटरसाइकलको स्थानीय विक्रेता गोल्छा समूहको हुलास अटोक्राफ्टमार्फत परासीमा बजाजका मोटरसाइकल उत्पादन गरिरहेको छ । यस्तै, टीभीएस मोटरसाइकलको अधिकृत विक्रेता शंकर समूहले पनि सिमरामा फ्याक्ट्री स्थापना गरी उत्पादनको अन्तिम तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !