१३ बैशाख २०८१, बिहिबार
कोकाकोला कर छली प्रकरण

कोकाकोलाका ट्रेड युनियनले भने- “कर छली प्रकरणले शिर निहुरिने बनायो”

प्रबन्ध निर्देशक पाण्डेय 'सम्पर्कविहीन'
प्रकाशित मिति :  23 December, 2021 1:35 pm


काठमाडौं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपाल लिमिटेडकी सञ्चालक समितिकी अध्यक्षसहित १५ जनाका नाममा राजस्व छलीमा हाजिर हुन आउने सात दिने सूचना जारी गरेपछि कम्पनीका ट्रेड युनियनहरूले मुख खोलेका छन् ।

बोटलर्स नेपालको भरतपुरस्थित मुख्य फ्याक्ट्रीमा रहेका तीन वटै श्रमिक ट्रेड युनियनहरूले कम्पनीको मानव संशाधन प्रमुखलाई लेखेको सामूहिक ध्यानाकर्षण पत्रमा भनिएको छ- “कम्पनीको सेयर होल्डर र पूर्वडाइरेक्टरहरूको नामममा अदालतमा उपस्थित हुन आह्वान गरिएको समाचारप्रति हामी गम्भीर छौं । यदि कम्पनी यो जटिल परिस्थितिमा  पुगिसकेको अवस्था हो भने कम्पनीको यो समस्या तत्काल समाधान गरेर अगाडि बढ्नु पर्छ । यस घटनाले सरकारले जुनसुकै कदमहरू चाल्नसक्ने आशंकाले हामी तीन वटै क्रियाशील युनियनहरू चिन्तित छौं ।”

बोटलर्स नेपाल तराई लिमिटेड, भरतपुरमा कार्यरत अखिल नेपाल औद्योगिक मजदूर संघ, नेपाल कारखाना श्रमिक संघ र समग्र उद्योग ट्रेड युनियन नेपालको दुई दिनसम्म बसेको संयुक्त बैठकपछि कम्पनीका प्रबन्ध निदेशक, मानव संशाधन प्रमुख र कानुनी प्रबन्धकसमेतलाई बोधार्थ दिँदै सो ध्यानाकर्षण पत्र लेखेका हुन् ।

“झन्डै ४० वर्षको गौरवमय ईतिहास बोकेको संस्था आज आएर कर छलीजस्तो गम्भीर आर्थिक अपराधमा मुछिएर राज्यको जिम्मेवार निकायबाट कारबाहीको क्रममा पर्नुले हामी सबै श्रमिक मजुदरको शिर निहुरिने अवस्था आएको छ,” बिहीबार कम्पनीको सूचना पाटीमा समेत टाँसिएको सो ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ- “यो अवस्था सिर्जना गर्ने करोडौं रुपैयाँ तलबभत्ता र अन्य सुविधाहरू लिई कम्पनीलाई यस्तो परिस्थितिमा पुर्‍याउने जिम्मेबार निकायका जोसुकै व्यक्ति भए तापनि कडा कारबाहीको दायरामा आउनु पर्छ भन्ने कुरामा हामी तीन वटै ट्रेड युनियन प्रतिनिधिहरू अडान राख्दछौं।”

बोटलर्स नेपाल तराई लिमिटेडका ट्रेड युनियनले टाँसेको ध्यानाकर्षण पत्र ।

राजस्व अनुसन्धान विभागले गत शुक्रबार कम्पनी सञ्चालक समितिकी अध्यक्ष शुक्ला वासनसहित वर्तमान तीन र विगतका ११ जना पूर्वसञ्चालकलाई सात दिनभित्र राजस्व छली अनुसन्धानमा हाजिर हुन सूचना जारी गरिलगत्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेय ‘सम्पर्कविहीन’ भएको पनि ट्रेड युनियनहरूले उल्लेख गरेका छन् ।

“यस्तो जटिल परिस्थितिको सामाना गर्ने समयमा कम्पनीको म्यानेजिङ डाइरेक्टर (एम.डी.) नै नेपाल बाहिर जानुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” ध्यानाकर्षण पत्रमा भनिएको छ ।

ट्रेड युनियनका एक पदाधिकारीले प्रबन्ध निर्देशक पाण्डेय राजस्व छली प्रकरणमा राजस्व अनुसन्धान विभागबाट पक्राउ पर्ने डरले नेपाल बाहिर गएको हुनसक्ने बताए । उनका अनुसार राजस्व अनुसन्धान विभागले छापा मारेदेखि नै अनुसन्धान प्रक्रियामा असहयोग गर्दै आएका कम्पनीका वित्त निर्देशक अशोक मण्डल पनि केही दिनयता सम्पर्कविहीन भएका छन् ।

“कम्पनीले चाल्ने प्रत्येक गतिविधि राज्यको नीति, नियम र कानुनसम्मत हुनुपर्छ,” ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ- “यस कम्पनीका लागि सदैव नेपालको कानुन तथा नियममा रही कम्पनी हितका पक्षमा डटेर खडा रहन तत्पर छौं भन्ने कुरा पनि यसै विज्ञप्तिमार्फत् प्रष्ट पार्न चाहन्छौं ।”

बालाजु र भरतपुरका युनियन दुईतिर

यसअघि बोटलर्स नेपालको व्यवस्थापनले बालाजुस्थित कारखानामा क्रियाशील तीन ट्रेड युनियनका पदाधिकारीलाई राजस्व अनुसन्धान विभागले कर छली अनुसन्धान थालेपछि त्यसबारेमा प्रकासित समाचारको खण्डन गराउन सामूहिक विज्ञप्ति जारी गर्न लगाएको थियो भने श्रमिक हितमा, श्रम मुद्दामा मात्र बस्नु र छलफल हुनुपर्ने सामूहिक सौदाबाजीको बैठकमा मिडिया र पत्रकारको नाम नै तोकेर खण्डन लेख्न लगाइएको थियो ।

सञ्चालक समिति सम्पकविहीन, तर साधारण सभा

राजस्व अनुसन्धान विभागले सात दिने सूचना राखेर बोटलर्स नेपाल सञ्चालक समितिकी अध्यक्ष शुक्ला वासन, सञ्चालकहरू गुन्जन धवन, मल्भिन टानन चुन पिन, मोहमद अमिन गोमिनसहित १५ जनालाई विभागमा बयानका लागि हाजिर हुन भनेको छ । सञ्चालक समिति अध्यक्ष वासन विभागले पटक-पटक बयानका लागि बोलाउँदा उपस्थित नभइ सम्पर्कविहीन भए पनि बोटलर्सले यही पुस २८ गते साधारण सभा बोलाएको छ ।

एनएन सिंहको पनि अवधि सकियो

नेपालमा कोकाकोलाको सुरूबाटै वितरक रहँदै आएका नर्मदेश्वर नारायण (एनएन) सिंहको पनि सञ्चालक समितिमा पदावधि पूरा भएको छ । सिंहको पदावधि पूरा भएपछि बोटलर्स नेपालले सर्वसाधारणका तर्फबाट नयाँ सञ्चालक नियुक्त गर्ने प्रक्रिया थालेको छ ।

राजस्व अनुसन्धान विभागले राजस्व छली प्रकरणमा अनुसन्धान अगाडि बढाएपछि पूर्वसचिव त्रिलोचन उप्रेतीले कम्पनीको सञ्चालक समितिबाट राजीनामा दिइसकेका छन् ।

बोटलर्समा सर्वसाधारणको १.८४ प्रतिशत सेयर छ । बोटलर्स नेपालको ७६.१७ प्रतिशत सेयर सन् २००४ र २०१४ मा दुई पटक नेपाललाई थाहै नदिइ नेपाल बाहिरै किनबेच गरिएको प्रकरणमा अहिले राजस्व अनुसन्धान विभागले छानिबन अन्तिम चरणमा पुर्‍याइ अदालतमा मुद्दा दायर गर्नुपूर्व सात दिने सूचना प्रकासित गरेको हो ।

बोटलर्स नेपालको स्वामित्व किनबेचका विषयमा टक्सार आर्थिक म्यागजिनले किनबेचका प्रमाणहरूसहित साउन, भदौ र मंसिर अंकमा विस्तृत समाचार प्रकाशित गरेको छ । यो स्वामित्व किनबेचमा करिब ५ अर्ब रुपैयाँ राजस्व छलिएको राजस्व अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ ।


यो पनि पढ्नु होस्
कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी

बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो, अदालतमा मुद्दा लैजान रहस्यमय ढिलाइ

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै





प्रतिक्रिया दिनुहोस !