१९ आश्विन २०८१, शनिबार

घट्यो रेमिट्यान्स: अझै घट्ने प्रक्षेपन

प्रकाशित मिति :  19 March, 2020 9:08 am


काठमाडाैं, ६ चैत । 

कोरोना (कोभिड–१९) भाइरस फैलनुपूर्व नै विश्व अर्थतन्त्रमा देखिएको मन्दीले नेपाल आउने रेमिट्यान्समा प्रभाव देखिएको छ । गत माघसम्म रेमिट्यान्स भित्रने वृद्धिदर घटेको छ । ०७५ माघको तुलनामा यस वर्षको माघसम्म ०.५ प्रतिशत कम रेमिट्यान्स भित्रिएको छ । यो महिना मात्रै होइन, गएका ७ महिनामध्ये ४ वटामा रेमिट्यान्स आयात गत वर्षको तुलनामा घटेको थियो ।

माघपछिका महिनामा कोभिड–१९ ले रेमिट्यान्स झन् घट्ने निश्चितप्रायः रहेको सरकारी अधिकारीहरूको अनुमान छ । कोरोनाको असर देखिनुअघि नै रेमिट्यान्स आप्रवाह निरन्तर घटिरहेको छ । कान्तिपुर दैनिकमा यज्ञ बन्जाडे लेख्छन्,

दुई महिनायता कोभिङ–१९ ले विश्व अर्थतन्त्र प्रभावित छ । यसले नेपाल भित्रिने रेमिट्यान्स पनि घट्ने प्रक्षेपणहरू गरिएका छन् । पछिल्ला साता चीन, कतार, भारतलगायत विभिन्न राष्ट्रबाट ठूलो संख्यामा नेपाली घर फर्किएका छन् । विदेशमा रहेकाले पनि सजिलै रेमिट्यान्स पठाउन सक्ने अवस्था छैन । ‘आउँदा महिनामा रेमिट्यान्स दबाबमा रहने देखिन्छ,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख एवं प्रवक्ता गुणाकर भट्टले भने,‘रेमिट्यान्स घट्नेमा दुई मत छैन ।’ गत माघसम्म रेमिट्यान्समार्फत मुलुकमा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ०.५ प्रतिशत घटेको हो । गत आवको ७ महिनामा रेमिट्यान्स आप्रवाह साढे २८ प्रतिशत बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ०.२ प्रतिशतले कमी आएको छ,’ सात महिनाको मासिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशत बढेको थियो ।’

गत वर्ष रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च हुनु (बेस इफेक्ट), रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउनु, विदेशी मुद्रा सटहीमा भएको कडाइलगायत कारण यो वर्षरेमिट्यान्स घट्न थालेको अर्थविद्हरू बताउँछन् । केही वर्षयता रेमिट्यान्स वृद्धिदर निरन्तर घट्दै आएको थियो ।

वृद्धिदर घट्दो क्रममा रहे पनि लगातार ऋणात्मक नै भएको थिएन । यसअघि आव ०७४/७५ कात्तिकमा रेमिट्यान्स वृद्धिदर १.४ प्रतिशत ऋणात्मक थियो । गत वर्ष भने सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर ३७ प्रतिशतसम्म पुगेको थियो । चौथो/पाँचौं महिनादेखि रेमिट्यान्स वृद्धिदर ओरालो लाग्न थाल्यो । आर्थिक वर्षको अन्त्य (असार) सम्म आइपुग्दा रेमिट्यान्स वृद्धिदर साढे १६ प्रतिशत थियो । चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स वृद्धिदर एक्कासि घटेर २ प्रतिशतमा सीमित भयो । त्यसपछि ऋणात्मक हुन थाल्यो । भदौ, असोज र कात्तिकमा रेमिट्यान्स निरन्तर ऋणात्मक रह्यो । मंसिर र पुसमा क्रमशः ०.१ र ०.९ प्रतिशतले सकारात्मक रह्यो । माघमा पुनः ०.५ प्रतिशतले ऋणात्मक छ ।

विगतका वर्षमा अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ठूलो थियो । त्यति बेला कुल आयात रकमभन्दा धेरै रेमिट्यान्स आउँथ्यो । आयातबाट बाहिरिने पैसा रेमिट्यान्सले पूर्ति गर्थ्यो । यसकारण रेमिट्यान्सको प्रवाह बलियो थियो । एक–दुई वर्षयता परिस्थिति बदलिएको छ । रेमिट्यान्स घट्दो र आयातबढ्दो छ । अहिले रेमिट्यान्सबाट आएको पैसाले मात्र आयात थेग्न नसक्ने अवस्था छ ।

६.८७ प्रतिशत मूल्य वृद्धि

चालु आर्थिक वर्षको ६ महिनामा बजार भाउ (मूल्य वृद्धिदर) ६.८७ प्रतिशत बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २.५२ प्रतिशत विन्दुले बढी हो । अघिल्लो वर्षको सोही महिनामा मूल्य वृद्धिदर ४.३५ प्रतिशत थियो । गत माघसम्मको वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ६.८७ प्रतिशत हो । राष्ट्र बैंकले चालु आवमा मूल्य वृद्धिदर ६ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य तय गरेको छ । तर गत साउनदेखि नै मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा बढी छ । खासगरी भारतमा भएको मूल्य वृद्धिको असर नेपालमा पनि परेको राष्ट्र बैंकको ठहर छ ।

गएको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ९.७९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.६५ प्रतिशत छ । सो अवधिमा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । ‘शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ,’ राष्ट्र बैंकको सात महिनाको प्रतिवेदनमा भनिएको छ ।

माघसम्म काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर ७.५८ प्रतिशत छ । यस्तो दर तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत छ । ०७५ माघमा काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर ५.१९ प्रतिशत, तराइको ३.४४ प्रतिशत, पहाडको ४.९१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत थियो । गत माघमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ७.१३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.१८ प्रतिशत थियो । ‘गएको ६ महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्य वृद्धि क्रमशः ७.५१ प्रतिशत, ७.७० प्रतिशत र २.९४ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गत माघमा निर्माण सामग्रीको थोक मूल्य ३.८९ प्रतिशत घटेको छ ।’

गत माघमा नेपालको मूल्य वृद्धिदर भारतको भन्दा बढी हो । भारतमा यस्तो (फेब्रुअरी महिनाको) मूल्य वृद्धिदर ६.५८ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मूल्य वृद्धिदर क्रमशः ४.३५ प्रतिशत र २.५७ प्रतिशत थियो ।

शोधनान्तर २१ अर्ब ६१ करोड बचतमा

गएको सात महिनामा मुलुकको भुक्तानी सन्तुलन २१ अर्ब ६१ करोड बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड रुपैयाँले घाटामा थियो ।

चालु वर्षको सुरुदेखि नै शोधनान्तर बचतमा रहँदै आएको छ । यस अवधिमा आयात घटेको, निर्यात बढेको, पर्यटन आय बढेको (कोभिड–१९ का कारण अहिले घट्दो छ), पर्यटन खर्च घटेको, बिजुलीको आयात घटेको लगायत कारण शोधनान्तर बचतमा रहेको प्रवक्ता भट्टले बताए । ‘सात महिनासम्मको तथ्यांक हेर्दा समष्टिगत आर्थिक स्थायित्व कायम छ । बाह्य क्षेत्र सन्तुलित छ । शोधनान्तर बचत घटे पनि विदेशी विनिमय सञ्चिति पर्याप्त छ,’ उनले भने ।

पछिल्ला महिनामा कर्जा–निक्षेपबीचको असन्तुलन (वित्तीय असन्तुलन) घटेको उनले दाबी गरे । ‘ब्याजदर स्थायित्व कायम भएको छ,’ उनले भने । गत माघसम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो साढे ५ प्रतिशत बढी हो । ०७६ असारसम्म यस्तो सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो ।



प्रतिक्रिया दिनुहोस !