१३ बैशाख २०८१, बिहिबार

राष्ट्रिय जिन बैंकमा १० हजार ८४ किसिमका बीउ संग्रहित, मार्सी धानमात्र ११ किसिमको

प्रकाशित मिति :  1 October, 2022 3:35 pm


काठमाडौं । राष्ट्रिय जिन बैंकले नेपालभरि खेती हुने करिब २०० प्रजातिका ३० हजार स्थानीय जातमध्ये ३३५ प्रजातिका १० हजार ५४ किसिमको बीउ संग्रहित गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत खुमलटारमा राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रका रुपमा २०६७ सालमा स्थापना गरिएको राष्ट्रिय जिन बैंकले देशैभरिबाट ती बीउ संकलित गरि संरक्षित गरेको हो ।

जिन बैंकका अनुसार नेपालभरि खेती हुने २ हजार ४३७ किसिमको धान, १ हजार ७०४ किसिमको गहुँसहित अन्नबालीको मात्र ६ हजार १७१ किसिमको बीउ संकलित र संग्रहित गरिएको छ ।

नार्कका अनुसार  नेपालमा खानामा प्रयोग हुने ७९० प्रजातिहरू तथा खेती गरिने ५७७ प्रजातिहरू रहेका छन् । खेती गरिएका ५७७ प्रजाति मध्ये ४८४ रैथाने तथा ९३ आयातित प्रजातिहरू छन्। भनै करिब २२४ जङ्गली प्रजातिहरू विभिन्न खेती गरिएका प्रजातिका नजिकका नातेदारहरू पाइन्छन् । जङ्गली नातेदारहरू वनस्पति मध्ये नेपाल ११ जाति र २९ प्रजातिका खाद्य बालीहरू तथा ६ जाति र १२ प्रजातिका बागवानी बालीहरूको उत्पतिको प्राथमिक केन्द्र मानिन्छ ।

देशमा विभिन्न बालीका करिब ३० हजार स्थानीय जातहरू रहेको अनुमान छ । यद्यपि नेपालबाट मात्रै महत्वपूर्ण बालीहरूका करिब ५० प्रतिशत रैथाने जातहरू लोप भइसकेका छन् ।

रैथाने जातको बीउ संरक्षित् गर्न जिन बैंकले सामुदायिक स्तरमै पनि समुदायले व्यवस्थापन गर्ने गरी सामुदायिक जिन बैकमार्फत काम भइरहेको जानकारी दिएको छ ।

जिन बैंकमा अहिले धान, मकै, गहुँ, जौसहित अन्न बालीका ६ हजार१७१, लट्टे, मार्से, तीते फापर, मिठे फापरसहित ‘नक्कली अन्न बाली’का ८५३, कोदोका १ हजार १५५, मास लहरी, मास, बोडी, रहर, मसुरो, मस्याङसहित दलहन बालीका १ हजार ३२७, तोरी, आलस, सूर्यमुखीसहित तेलहन बालीका २४७, ३३५ किसिमका तरकारी बाली, ४७ किसिमका मसला बालीसहितका बीउ संग्रहित छ ।

१७५ किसिमका स्थानीय धान

जिन बैंकले स्थानीय स्तरबाट संकलित धानका जातहरूमध्ये नेपालभर खेती हुने १७५ किसिमका धानको समेत वर्गीकरण गरेको छ । संकलित धानका बीउको अध्ययनअनुसार जुम्लाको रातो मार्सीमात्र नभएर नेपालभर १० किसिमका मार्सी धान पाइएको छ । रातो मार्सी भनेर चिनिने चन्दननाथसमेत जोड्दा मार्सीमात्र ११ किसिमको खेती हुने गरेको देखिन्छ ।

जिन बैंकका अनुसार दोलखामा सपिगें मार्सी,  हिलो मार्सी, ललितपुरमा थानकोटे मार्सी, मकवानपुरमा छोटी मार्सी र ठूलो मार्सी, काठमाडौंमा हरियो मार्सी र काठे मार्सी, डडेलधुरामा तौली मार्सी, हुम्लामा कालो मार्से र सेतो मार्से धान पाइएको हो ।

नेपालमा खेती हुने केही अन्य स्थानीय धानका जातहरू

बोया धान, सेतो कार्तिके, रातो कार्तिके, बासमती, बर्माली, थापाचिनिया, दोलाखे मसिनो, बुद्धबीर, गाजली, छोटिया, दैलेखे, दर्लामी, गाजी, जोरे, धुमी, अगचा, घैया, गुंटे, भोटे तौली, दूधराज, गोल घैया, फ‌लामे, छोटे धान, चोबो, डान्सी, लहरी, नेपाली पुवा, अंगा, जर्नेली, बिगिन, सठिया, चिनियाँ, पोख्रेली मिसिनो, तोगवा, झुसे, जलबाडली, पेले, सालो, बैननम, रातो धान, बटेसुरा, मंसिरे, झोसे, कोगग्या, छोटे गुन्ते, तयासिवा, छटांगे, चिउडे, चटुरे, कटुरे, हँसराज, बोकटी, जवाले, श्यामजिरा, पहेँलो रजामति



प्रतिक्रिया दिनुहोस !