१२ श्रावण २०८१, शनिबार

वीरगञ्जका मेयर सिंहद्वारा अनुगमन, वीरगञ्जको विकासका लागि साथ दिन आग्रह

प्रकाशित मिति :  16 December, 2022 11:29 am



वीरगञ्ज । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको छ ।

महानगरका मेयर राजेशमान सिंहसहितको टोलीले आज बिहान उक्त सडक खण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो ।

सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन लगाइएको हो ।

आज हटाउन चेतावनी दिएर आइएको र भोलीदेखि हटाएको नभेटिए महानगर आफैले हटाउने छ ।

सहायक बाइपाससँगै बाइपास सडक खण्डमा अहिले ठूला सवारी साधन बस, ट्रक जस्ता सवारी जथाभावी पार्किङ गर्ने गरेको भेटिने गरेको छ ।

यस्तै मेयर सिंहसहितको टोलीले वडा नम्वर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभावी फोहोर नफाल्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार संचालन गर्न सचेत गराइएको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

टोलीले वडा नम्वर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ । भेटका क्रममा मेयर सिंहले वीरगञ्जको विकासका लागि आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !